पोखरा – वडाध्यक्षले प्रशासन शाखा प्रमुखमाथि हातपात गरेपछि पोखरा महानगरपालिकाका कर्मचारीले सेवा ठप्प पारेका छन्।

वडाध्यक्ष पराजुलीले मङ्गलवार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन महाशाखा प्रमुख ईश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका हुन्।
मङ्गलवार अध्यक्ष देवकृष्ण पराजुलीले हातपात गरेको भन्दै व्यवसायी लेखनाथ सुवेदीले प्रहरीमा उजुरी दिएका छन्।
महानगरपालिकाका कर्मचारीलाई तालिममा पठाउँदा सल्लाह नगरेको भन्दै आफूमाथि हातपात गरेको प्रशासन शाखा प्रमुख पोख्रेलले बताए।

प्रशासकीय अधिकृतको कार्यकक्षमा पुग्दा साथ वडाध्यक्षले अपशब्द बोल्दै हातपात गरेको उनको आरोप छ। वडाध्यक्षले उक्त समयमा मादक पदार्थसमेत सेवन गरेको पोख्रेलको दाबी छ।
महानगरका विभिन्न कर्मचारी सङ्घ सङ्गठनले विज्ञप्ति निकालेर घटनाको सत्य तथ्य छानबिन सहित दोषीलाई कारबाहीको माग गरिएको छ।
स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष अमिर भण्डारी, स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष रेशम जिसी, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष नेत्रप्रसाद तिमिल्सिना र एकीकृत सरकारी कर्मचारी सङ्गठनका अध्यक्ष डिल्लीराम गिरीले उपमेयर मन्जुदेवी गुरुङलाई ध्यानाकर्षण पत्र लेखेर दोषीमाथि कारबाहीको माग गरेका हुन्।
‘घटनामा संलग्न व्यक्ति उपर २४ घण्टाभित्र कानुन बमोजिम कारबाही गर्न ध्यानाकर्षण गर्दछौँ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘अन्यथा वैशाख २४ देखि महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प पारी आन्दोलनका कार्यक्रम अगाडि बढाइने जानकारी गराइन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ