काठमाडौँ । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद बिनोद चौधरीले माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सलाई भेटेका छन् । सिङ्गापुरमा आयोजित फिलान्थ्रपी एसिया अलायन्स-२०२५ (पीएए-२०२५) को अवसरमा मङ्गलबार चौधरीले गेट्सलाई भेटेका हुन् ।

भेटमा नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतीहरूमा केन्द्रित रहेर छलफल भएको चौधरी ग्रुपले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । सो अवसरमा चौधरीले नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रसँग सम्बन्धित प्रमुख चुनौतीहरूबारे जानकारी गराएका थिए ।
०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म र बालपोषणका क्षेत्रमा ‘बलियो नेपाल’ अभियानमार्फत गरिएको सहकार्यका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनप्रति चौधरीले आभार प्रकट गरे । साथै, फाउन्डेसनसँगको दीर्घकालीन सहकार्यलाई अझ सशक्त बनाउने विषयमा समेत छलफल भएको बताइएको छ ।
छलफलमा गेट्स फाउन्डेसनले विश्वका अन्य मुलुकमा सफलतापूर्वक सञ्चालन गरेका स्वास्थ्य तथा रोजगारीसम्बन्धी कार्यक्रमहरूलाई नेपालमा पनि सन्दर्भअनुसार सञ्चालन गर्ने सम्भावनाबारे विचारविमर्श भएको विज्ञप्तिमा उल्लेख छ ।

०७२ को भूकम्पपछिको उद्धार तथा पुनःस्थापनामा चौधरी फाउन्डेसनले तीन हजार अस्थायी आवास निर्माण गर्नुका साथै विद्यालय पुनर्निर्माण, खाद्यान्न र पिउने पानी वितरण लगायत सहयोग पुर्याएको थियो । कोभिड महामारीको बेला वीर अस्पतालमा आईसीयू कक्ष तथा अक्सिजन प्लान्ट स्थापना गर्नुका साथै सातै प्रदेशमा स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।
बिल गेट्सले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनमार्फत विकासशील देशहरूमा स्वास्थ्य, शिक्षा र प्रविधि क्षेत्रमा योगदान पुर्याउँदै आएका छन् । उनी पीएए-२०२५ सम्मेलनका प्रमुख वक्तामध्ये एक थिए ।
उक्त सम्मेलनमा सिङ्गापुरका राष्ट्रपति, डब्लूएचओका महानिर्देशक, इन्डोनेसिया सरकारका मन्त्री, यूएनडीपीका अधिकारीलगायतको सहभागिता रहेको थियो । नेपालबाट बिनोद चौधरीले सम्मेलनमा सहभागिता जनाएका थिए ।
पछिल्लो अध्यावधिक: बैशाख २३, २०८२ १५:३६
सामाग्री श्रोत :
टेक पाना