काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले सरकारको स्टार्टअप कर्जा कार्यक्रममा सूचना प्रविधि (आईटी) कम्पनीलाई प्राथमिकता नदिएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै डा. वाग्लेले ६६१ ओटा परियोजना कर्जाका लागि छनोट हुँदा आईटी क्षेत्रका स्टार्टअपको संख्या १७ मात्रै रहेको उल्लेख गरे ।

“…अर्को गुगल, मेटा, च्याटजीपीटी नेपालमा जन्माउन लागेको जस्तो देखाइयो । तर छनोट हुनेमा ३४० वटा जति त माछा, दूध, बाख्रा, कुखुरा छ । मैले यसलाई होच्याउन खोजेको होइन । तर यो लघु उद्यमसँग सम्बन्धित छ । टेक स्टार्टअप भन्दा हाम्रो अपेक्षा अर्कै हुन्छ,” उनले भने ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आइतबार स्टार्टअप कर्जाका लागि छनोट भएका उद्यमीहरूको नाम सार्वजनिक गरेको थियो । अनलाइन र भौतिक रूपमा गरी पाँच हजार १५८ युवाले स्टार्टअप कर्जाका लागि प्रस्ताव दर्ता गराएकामा १,३१४ जनाले परियोजनाको प्रस्तुतीकरण गरेका थिए । यसबाट मूल्याङ्कन गरी प्रतिष्ठानले ६६१ परियोजनालाई कर्जाका लागि छनोट गरेको हो ।
वाग्लेले अन्य व्यवसायहरूमा पनि कर्जा वितरण भएको जानकारी दिँदै भने, “टेलरिङमा ३३ वटा, मसला, दालमोठ, कागज प्लेट उत्पादन जस्ता व्यवसायमा ६५ ओटा छनोट भएका छन् । आईटीसँग सम्बन्धित चाहिँ ६६१ मा १७ ओटा रहेछ ।”

उनले बैतडीबाट निर्वाचित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीकै प्रभावमा सुदूरपश्चिमका धेरै परियोजना छनोट भएको दाबी गरे । “सुदूरपश्चिमबाट १०२ ओटा छनोट भएका छन्, जसमध्ये बैतडीमा मात्रै २६/२७ ओटा परेका छन् । मन्त्रीज्यूको अर्को निर्वाचनको तयारीजस्तो देखिन्छ,” डा. वाग्लेले आरोप लगाए ।
त्यस्तै, उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकासका लागि सरकारले नीति तथा कार्यक्रममा पर्याप्त प्राथमिकता नदिएको टिप्पणी गरे । “एआईको विषयमा नीति तथा कार्यक्रममा दुई-चार लाइन खर्चिएको छ । तर, सञ्चार मन्त्रालय आफैँ जम्मा सात अर्ब जाबोको बजेट छ । त्यहाँभित्र उपसचिवले हेर्न मिल्ने गरी एआई डिभिजन राख्ने रे,” उनले भने ।
नेपाललाई वर्तमान अवस्थामा सात अर्ब रुपैयाँ एआईको विकासको लागि मात्रै लगानी गर्नुपर्ने र सो लगानीबाट ७० अर्ब बराबरको निजी क्षेत्रको लगानी आकर्षित गर्न सकिने उनको भनाइ थियो ।
पछिल्लो अध्यावधिक: बैशाख २३, २०८२ १७:१०
सामाग्री श्रोत :
टेक पाना