काठमाडौँ । अग्ला हिमालका आधार शिविर क्षेत्रहरूमा विदेशी स्याटलाइट इन्टरनेट प्रयोग बढेको भन्दै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै प्राधिकरणले अनधिकृत रूपमा विदेशी दूरसञ्चार सेवा प्रदायक कम्पनीको इन्टरनेट सेवा प्रयोग गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको हो ।
“नेपालका केही स्थानहरू (अग्ला हिमालहरूको आधार शिविर (Base Camps) क्षेत्रहरूमा समेत) हिमाल आरोहण सञ्चालन गर्ने कम्पनीहरूले अनधिकृत रूपमा विदेशी दूरसञ्चार सेवा प्रदायक कम्पनीको स्याटलाइट (भू-उपग्रह) इन्टरनेट सेवा उपलब्ध गराउने गरेको र प्रयोग गर्ने/गराउने गरेको भन्ने बुझिन आएको तथा उक्त कार्य दूरसञ्चार ऐन, २०५३ को दफा २१ को प्रावधान विपरीत भएकोले यस्तो कार्य नगर्न/नगराउन सम्बन्धित सबैमा जानकारी गराइन्छ,” प्राधिकरणले भनेको छ ।
नेपाल सरकारको अनुमति नलिई वा प्राधिकरणबाट अनुमतिपत्र प्राप्त नगरी दूरसञ्चार (इन्टरनेट) सेवा उपलब्ध गराएको वा प्रयोग गरिएको पाइएमा दूरसञ्चार ऐन, २०५३ तथा प्रचलित कानुन अनुसार कारबाही हुने प्राधिकरणले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ १८:३०
सामाग्री श्रोत :
टेक पाना