२०८२ बैशाख २३ मंगलवार
२०८२ बैशाख २३ मंगलवार

नेपालमा थुप्रै वीरेन्द्रबहादुर बस्नेतको खाँचो छ

नेपाल कृषि प्रधान देश हो। जहाँका प्रत्येक क्षेत्र पहाड मधेश सबैतिर बिभिन्न किसिमका खाद्यान्न लगायत फलफूल, जडिबुटीलगायत सबै किसिमको उत्पादन हुन्छ।

यही कृषि उत्पादनलाई मात्र प्राथमिकतामा राखेर सरकारले बजेट वितरण र कृषकलाई मद्दत पुर्‍याउन आवश्यक प्रविधि, मल, बिउ तथा अनुदान मात्र प्रदान गर्ने हो भने हामी कृषिमा आत्मनिर्भर भएर खरबौंको आयत गरिने कृषि उत्पादनमा खर्चिनु पर्ने रकम बचत हुने थियो।

सरकार कृषिमा उत्पादन बढाउने गफ गर्छ तर उसले पुजीपतिको हितमा मात्र कार्य गरेको देखिन्छ। पञ्चायती व्यवस्थामा गरिएको जति मात्र कृषिमा गणतन्त्रबादी सरकारले ध्यान दिएको भए हाम्रा युवाहरु आज खाडीमा गएर आफ्ना पसिना र ज्यानसमेत त्याग्नु पर्ने थिएन।

त्यतिखेर बनाइएका सिचाईं आयोजना अरु थप गरिएन। अहिले सुरु गरिएका सिचाईं आयोजना बर्षौंसम्म पूरा हुँदैनन्। कृषिमा आधारित उद्योग सबै बन्द गराइए। सरकारी चिनी मिलहरु सबै निजीकरणको नाममा कमिसनको लागि व्यापारीलाई दिइयो। त्यही भएर कृषकले उखुको भुक्तान समयमा पाउँदैनन्।

कृषकले धान चामलको मूल्य समयमा पाउँदैनन्। जब सबै धान ठूला मिलवाला ब्यापारीको हातमा पुग्छ त्यसपछि मात्र धानको मूल्य बढाइन्छ। त्यस्तै गरेर मकै गहुँ, तोरी, भटमास, मास, तथा अन्य खाद्यान्नको पनि त्यही अबस्था छ। पञ्चायती व्यवस्थामा खाद्य संस्थानले धान चामलको एउटा न्युनोतम मूल्य राखेर किसानबाट खरिद गर्थ्याे।

यसले गर्दा अरु ठूला मारवाडी ब्यापारीले पनि कमसेकम मूल्य कायम गर्न बाध्य हुन्थे। अहिलेको सरकार नै ब्यापारीसँग मिलेर उनीहरुलाई आफूखुसी छोडेको छ। त्यही भएर किसानलाई शोषण गरिरहेका छन्। जसको कारण किसानको आफ्नो लगानीसम्म उठाउन सक्तैनन्। त्यही भएर किसानका छोराछोरी खाडी मुलुक जान बाध्य भएका छन्।

अहिले केही वर्षदेखि बुद्ध एयरलाइनका मालिक वीरेन्द्रबहादुर बस्नेत आफैं किसान बनेर किसानलाई साथमा लिएर उनीहरुको जीवननस्तर उठाउन तल्लीन छन्। मोरङको बेलबारीको डाँगीहाटमा उनले आफ्ना बुवाको पालादेखि गरिँदै आएको कृषि पेशालाई आधुनिकीकरण गरी कृषकलाई पनि साथ दिँदै आएका छन्।

उनै वीरेन्द्रबहादुर बस्नेतले संचालन गरेको ५० करोड भन्दा बढी लगानी गरिएको आरजु राइस मिलले किसानको धान मकै तोरी उचित मूल्यमा समयमै खरिद गरिदिन्छ। जुनकुरा त्यस क्षेत्रका ठूला मिलले किसानका उत्पादनको मिनिमम मूल्य राखेर समयमा खरिन गरिदिने कुरामा सहमत नभएपछि उनले आफैं मिल खोलेर किसानका उत्पादन खरिद गर्न थालेका हुन्।

अहिले ३००० बिघाका १५०० किसान उनीसँग जोडिएका छन्। जसले मिलको नाफाबाट आउने बोनस पनि पाउँछन्। किसानको लागि कुन धानको बिउ उचित र समयमा उत्पादन हुने हुन्छ त्यो बिउ बिदेशबाट पैठारी गरेर आरजु राइस मिलतर्फबाट किसानलाई बितरण गर्छन्। जसले गर्दा किसानले वर्षको ३ बाली धान, तोरी मकै लागाएर फेरि धान लगाउन सक्छन्।

उनले खेत जोत्ने र दाउनी गर्ने आधुनिक मेसिन रेटोभेटर र हारभेस्टर ल्याए। उनको आफ्नो ८० बिघामा मात्र मेसिनको उपयोग गर्दैनन्, किसानले पनि त्यसको उपयोग गर्न थालेपछि यसबाट समयको बचत हुने भयो भने मजदुर पनि कम चाहिने भयो।

वीरेन्द्रबहादुर बस्नेतको पुर्खौली पेसा खेतीपातीमा बहुउद्देश्य खेती माछापालन पनि पुरानो व्यावसाय थियो। उनले बिद्यार्थीकालदेखि नै माछापालनको तालिम लिइसकेका थिए। उनी आफू बुद्ध एयरलाइन चलाउन सफल भएको यही कृषिको सफल ब्यबस्थापनले नै हो भन्छन्।

एउटा सफल व्यवस्थापक जहाँ गएपनि सफल हुन्छ। त्यसका लागि मिहेनत, इमान्दारिता तथा क्षमता हुनैपर्छ। यसको अलावा वीरेन्द्रबहादुरले आफूले देखेका किसानका समस्यालाई समाधान गर्न परोपकारी भावना लिए। यसबाट कृषक भएर पनि पैसा कमाउन सकिन्छ।

यसबाट आफ्नो र देशको हित गर्न सकिन्छ भनेर राम्रो उदाहरण बनेका छन् सफल व्यावसायी वीरेन्द्रबहादुर बस्नेत। यस्ता मानिसको कदर सरकारले कहिल्यै गर्न सक्तैन। किनकि सरकार अरु राम्रा मानिस आएमा आफ्नो भाउ घट्छ भन्ने सोचाइ लिन्छ र उसँग टकराव गर्न थाल्छ। अब यसलाई सरकारले सच्याओस्।

होइन भने सरकारले वीरेन्द्रबहादुरसँग सिकेर किसानको उत्पादित सामानको समयमै उचित मूल्य राखोस र बिक्री भएको सामानको समयमै मूल्य भुक्तान गरोस्। किसानसँग ठूला उद्योगपतिले सहकार्य गरुन्। नाफाबाट केही अंश किसानलाई पनि लाभांश दिउन्।

पहिला सरकारी संस्थान तथा उद्योग हुँदा त्यसबाट प्रतिस्पर्धा गरी व्यापारीले जथाभावी किसानलाई शोषण गर्न पाउँदैन थिए। अहिले किसान, उखुका ब्यापारी कसैले पनि समयमा उत्पादनको मूल्य नपाउनु भनेको सरकारले पुँजीपति ब्यापारीलाई मात्र च्याप्नु हो भने किसानलाई पूरा बेवास्ता गर्नु हो। किसान संगठित हुँदैनन्।

त्यही भएर उनीहरुको बास्तविक समस्यालाई सरकारमा बसेका उच्चपदधिकारी तथा कर्मचारीले उनीहरुलाई सधैँ शोषणमात्र गर्छन्। अर्कोतर्फ संघ र संगठनको नाममा रहेका कर्मचारी, शिक्षक सरकारी तलब खाएर पनि सरकार कै बिरुद्ध नारा जुलुस हड्ताल गर्छन्। अनि सरकारलाई बाध्य पारेर आफ्ना सुबिधा बढाउन तल्लीन हुन्छन्। तर सरकारले उनीहरुलाई कानुन बमोजिम कारवाही गर्न सक्तैन।

सरकारले जनताको आवाजलाई पूरा बेवास्ता गरी भ्रष्टहरुलाई कारवाही गर्न नसक्दा र अनावश्यक रुपमा साना दलसँग र व्यक्तिगत टकराव गर्दा सरकारको छवि अत्यन्त गिरेको मात्र होइन सरकार अत्यन्त बदनाम पनि भएको छ।

सरकार यस बदनामी हटाउनु भन्दा ससाना कुरामा पनि गालिगलौज गर्ने आफ्ना बिरोधीलाई ससाना बिषयमा पनि कानुनको दुरुपयोग गरी ठूला ठूला मुद्दामा फसाउन कार्य गर्दैछ। यसले गर्दा जनतामा बदलाको भावना जाग्दैछ। यसको परिणाम अवश्य पनि सुखद् हुनेछैन।

सरकार अझै पनि वीरेन्द्रबहादुर बस्नेत जस्ता मानिसको कदर गरी यसतर्फ सरकारको नीति बनोस्। बजेट भाषणमा किसानको हितमा ठोस निर्णय गरोस्। जसमा मल कारखाना, कोल्ड स्टोरेज तथा सिचाईंका आयोजनाहरु अगाडि बढुन्। किसानले पाउने अनुदान प्रत्यक्ष्य किसानले पाउन्।

बिदेशबाट आउने खाद्यान्न लगायत कृषि उत्पादनको आयतमा कडा गरियोस्। यति गर्नु भनेको कृषि उत्पादनमा देश आत्मनिर्भर हुनेतर्फ लाग्नु हो। खाद्यान्नमा आत्मनिर्भर भएमात्र पनि खरबौंको आयत गर्नुपर्ने खाद्यान्नको आयत रोकिन्छ।

जसबाट हाम्रो बजेट घाटा ह्वात्तै घट्नेछ। सरकारको ध्यान जनताको चाहना बुझी संबिधानमा आबश्यक संशोधन र किसान, बिद्यार्थी तथा युवाको हितमा निर्णय गरेर जनताको मन जित्ने प्रयास गरियोस्।


सामाग्री श्रोत :

नेपालमा थुप्रै वीरेन्द्रबहादुर बस्नेतको खाँचो छ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट