काठमाडौं– नेकपा एमालेले राजनीतिक स्थिरता खलबल्याउने प्रयासहरु कमजोर हुँदै गएको निचोड निकालेको छ ।

आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले मुलुक मुलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको र स्थीरतालाई खलबल्याउने प्रयासहरु कमजोर हुँदै गएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले आगामी निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पहिलो शक्ति निर्माण गर्न पार्टीका सम्पूर्ण ऊर्जा र सामर्थ्यलाई एकतावद्ध गर्दै अघि बढ्ने निर्णय गरेको बताए ।
यस्तै, बैठकले सरकारको नीति तथा कार्यक्रम बिगतको भन्दा चुस्त, व्यवस्थित र दिशानिर्देशको हिसाबले सही रहेको निष्कर्ष निकालेको छ । नीति कार्यक्रम जस्तै आगामी बजेट ठोस र परिणाममुखी हुनुपर्ने सुझाव पदाधिकारी सदस्यहरुले दिएको ज्ञवालीले जानकारी दिए ।

त्यस्तै, बजेटले उत्पादन र उत्पादकत्वमा फोकस गर्नुपर्ने, योजनाको प्राथमिकीकरण, कृषि क्षेत्रको आत्मनिर्भर लगाएतमा ध्यान दिनुपर्ने सुझाव आएको उनले बताए ।
त्यस्तै, स्रोतको अधिकतम ध्यानमा राखेर बजेट ल्याउन पनि सुझाव दिइएको ज्ञवालीले उल्लेख गरे । बैठकले सरकारले शिक्षक र चिकित्सकहरुसंग गरेको सहमतिको स्वागत गर्दै सरकारलाई धन्यवाद दिने निर्णय गरिएको ज्ञवालीले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ