काठमाडौँ । विश्वप्रसिद्ध लगानीकर्ता एवम् बर्कशायर ह्याथवेका अध्यक्ष वारेन बफेटले एप्पलका सीईओ टिम कुकको खुलेर प्रशंसा गरेका छन् । शनिबार बर्कशायर ह्याथवेको वार्षिक सम्मेलनमा आफ्नो मन्तव्य दिँदै बफेटले प्रविधि क्षेत्रका दिग्गज व्यक्ति कुकको खुलेर प्रशंसा गरेका हुन् ।

बर्कशायरले गत वर्ष एप्पलमा रहेको आफ्नो लगानीको करिब दुई तिहाइ हिस्सा बिक्री गरेको थियो । त्यसको केही महिनामै कम्पनीका संस्थापक बफेटले टिम कुकलाई ‘अद्वितीय नेतृत्व क्षमता’ भएका व्यक्तिको संज्ञा दिएका हुन् ।
बफेटले सन् २०१६ देखि २०१८ को बीचमा एप्पलमा करिब ३५ अर्ब डलर लगानी गरेका थिए । बिजनेस इन्साइडरका अनुसार २०२३ को अन्त्यसम्ममा उक्त लगानी बढेर १७३ अर्ब डलर पुगेको थियो । यही तथ्यलाई इङ्गित गर्दै ठट्यौली पारामा बेफेटले भने, “टिम कुकले बर्कशायरका लागि मैलेभन्दा धेरै कमाइदिएका छन् ।” उनको यो भनाइपछि सभाहलमा हाँसो गुञ्जिएको थियो ।
गत वर्षको डिसेम्बर अन्त्यसम्ममा कम्पनीसँग ३० करोड शेयर मात्र बाँकी थियो । उक्त शेयरको मूल्य शुक्रबारको प्रति शेयर २०५ डलर मूल्य अनुसार करिब ६२ अर्ब डलर हुन आउँछ ।

एप्पलका सह-संस्थापक स्टिभ जब्ससँग बफेटले कुकको तुलना गरेका थिए । “मैले स्टिभ जब्सलाई छोटो समयका लागि चिनेको थिएँ,” बफेटले भने, “आईफोनका निर्माताले अवश्य पनि यस्ता कामहरू गरे, जुन अरू कसैले गर्न सक्दैनथ्यो ।”
उनले थपे, “स्टिभ बाहेक अरू कसैले एप्पल बनाउन सक्दैनथ्यो । तर टिमबाहेक अरू कसैले यसलाई आजको अवस्थामा विकसित गर्न पनि सक्दैनथ्यो ।” सन् २०११ मा कुकले एप्पलको नेतृत्व सम्हालेदेखि कम्पनीको शेयर मूल्य १५ डलरभन्दा कमबाट बढेर २०५ डलर पुगेको छ । यो भनेको लगभग १४ गुणाको वृद्धि हो । यसले एप्पलको बजार पूँजीकरण ३० खर्ब डलरभन्दा माथि पुर्याएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २१, २०८२ १७:२०
सामाग्री श्रोत :
टेक पाना