काठमाडौं- सरकारी तथा निजी अस्पतालको बक्यौता स्वास्थ्य बिमा बाफतको रकम भुक्तानी गर्न सरकारले ३ अर्ब निकासा गरेको जनाएको छ। अर्थ मन्त्रालयले गत शुक्रबार स्वास्थ्य बीमा बोर्डलाई उक्त रकम पठाएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ।
सरकारले यो आर्थिक वर्षका लागि छुट्याएको साढे ७ अर्ब नपुगेपछि थप बजेट निकासा गरेको हो। उक्त रकम प्राप्तिपछि बोर्डले बक्यौता भुक्तानी दिन थाल्नेछ। विशेषगरी निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई ४८ हजार ७ सय ३७ रुपैयाँ दिने सहमतिको सेरोफेरोमा रहेर उक्त रकम निकासा गरिएको हो।
धेरै समयदेखि बक्यौता बीमाको रकम प्राप्त गरेपछि आवासीय चिकित्सकलाई तोकिएको ४८ हजार रुपैयाँ समयमै दिने अपेक्षा सरकारको छ। झन्डै एक महिनादेखि चलेको आन्दोलनलाई सरकारले अहिले साम्य पारेको छ। निजी मेडिकल कलेज उक्त रकम दिन तयार भएका छन्।
आन्दोलनरत पक्षका तर्फबाट नेपाल चिकित्सक संघले स्वास्थ्य मन्त्रालयसँग यसको कार्यान्वयनका लागि ४ बुँदे सहमति समेत गरेको छ।
सामाग्री श्रोत :
swasthyakhabar

