काठमाडौं– झापाको सहकारीमा दुई करोड बढी रकम ठगी प्रकरणमा दुई वर्षदेखि फरार रहेका तत्कालीन अध्यक्ष पक्राउ परेका छन् ।

बिर्तामोडमा रहेको पताल गङ्गा बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन अध्यक्ष रेवती खनाल गत बिहीबार पक्राउ परेका हुन् । उक्त सहकारी ठगीमा उनी मात्र नभएर परिवार नै संलग्न रहेको आरोप छ । उनीसहित पाँच जना मिलेर सहकारीको दुई करोड ६ लाख ८ हजार ३८३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
सहकारी ठगीको मुद्दा परेसँगै दुई वर्षदेखि फरार रहेका खनाल गत बिहीबार कैलालीको धनगढीबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीबाट पक्राउ परेका उनलाई शुक्रबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा उपस्थित गराइएको छ ।
पताल गङ्गा बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन उपाध्यक्ष टंकप्रसाद भेटवालले २०७८ कात्तिक १६ गते २ करोड ६ लाख ८ हजार ३८३ रुपैयाँ बिगो कायम गरी खनालविरुद्ध जाहेरी दिएका थिए । उनका विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालयमा २०७१ कात्तिक ४ गते मिसिल पेस भएको थियो ।

अदालतबाट भने २०७९ मङ्सिर १४ गते म्याद जारी भएको थियो । अदालतबाट म्याद जारी भएपछि अध्यक्ष खनालकी बहिनी ३६ वर्षीया गोमा खनाल (भण्डारी) २०७९ कात्तिक २५ गते पक्राउ परेकी थिइन् । अनुसन्धानपश्चात् अदालतको आदेशले १ लाख ५० हजार रुपैयाँ धरौटी राखेर उनी तारेखमा छुटेकी थिइन् ।
त्यस्तै खनालका मामा ससुरा बिर्तामोड घर भई हाल भद्रपुर नगरपालिका वडा नं ८ बस्ने ५१ वर्षीय अनन्त जीवन लुइँटेल पनि अदालतमा आफैँ उपस्थित भई ७५ हजार रुपैयाँ धरौटी राखेर छुटेका छन् । तर खनालकी श्रीमती ४४ वर्षीया कमलादेवी भट्टराई (खनाल) र खनालका भाइ ३६ वर्षीय सिताराम खनाल हालसम्म फरार छन् ।
पक्राउ परेका खनाललाई भने आइतबार जिल्ला अदालत झापामा बुझाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ