काठमाडौँ । निकट भविष्यमा तपाईँले आफ्नो एन्ड्रोइड स्मार्टफोनलाई सजिलै डेस्कटप कम्प्युटरको रूपमा प्रयोग गर्न सक्नुहुनेछ । यसका लागि गुगलले एन्ड्रोइड १६ को बेटा संस्करणमा ‘एन्ड्रोइड डेस्कटप मोड’ सुविधा समावेश गरेको छ ।

यो नयाँ फिचरले भविष्यमा प्रयोगकर्ताहरूलाई आफ्नो स्मार्टफोन सजिलै मनिटरमा जोडेर ल्यापटप वा डेस्कटप कम्प्युटर जस्तै प्रयोग गर्न सक्ने सुविधा प्रदान गर्ने बताइएको छ ।
एन्ड्रोइड विशेषज्ञ मिशाल रहमानले एन्ड्रोइड अथोरिटीमा लेख लेख्दै आफूले यो मोड डेभलपर अप्सनमार्फत एन्ड्रोइड १६ को बेटा चलिरहेको पिक्सेल ८ प्रो फोनमा इनेबल भएको जानकारी दिएका छन् । फोनलाई यूएसबी-सी पोर्ट प्रयोग गरेर मनिटरमा कनेक्ट गरेपछि त्यसमा कम्प्युटरजस्तो इन्टरफेस देखिएको उनले उल्लेख गरेका छन् ।
डेस्कटप मोडमा स्टाटस बार माथिल्लो भागमा देखिन्छ भने तल्लो भागमा एप टास्कबार, स्टार्ट मेनुजस्तो एप ड्रअर र नेभिगेसन बटनहरू उपलब्ध हुन्छन् । साथै, एपहरूलाई विन्डो मोडमा राखेर मिलाउने, साइडमा सार्ने जस्ता कार्य गर्न सकिन्छ ।

यसअघि यो मोड सीमित प्रयोगमा मात्रै सीमित थियो, तर हालको संस्करणमा थप सुधार गरिएको छ । प्रयोगकर्ताले स्क्रिन व्यवस्थापनसमेत गर्न सक्ने भएकाले यो फिचर डेस्कटपको जस्तो अनुभव दिने अपेक्षा गरिएको छ ।
यो सुविधा एन्ड्रोइड १६ सँगै सार्वजनिक हुन पनि सक्ने वा पछि आउने अपडेट वा एन्ड्रोइड १७ मा उपलब्ध हुने चर्चा छ ।
पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ १२:४५
सामाग्री श्रोत :
टेक पाना