काठमाडौं- नेपालमा अवैध अभ्यास गरिरहेका भारतीय चिकित्सक डा पंकज कुमार बर्मनको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय चितवनले उनी कार्यरत मेडिकल कलेज अस्पताललाई पत्राचार गरेको छ।
पछिल्लो समय चितवन मेडिकल कलेजमा कार्यरत उनका विषयमा विवरण उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले पत्राचार गरेका हुन्।
उक्त पत्राचारमा उनि कार्यरत भए/नभएको जानकारीका साथै पछिल्लो ६ महिनाको हाजिर प्रमाणित मगाइएको छ। साथै उनले परीक्षण गरेको विरामीको संख्या र नामनामेसी समेत उपलब्ध गराउन भनिएको छ।
नेपाल मेडिकल काउन्सिलमा लाइसेन्स नविकरण नगरी उनी अभ्यास गरिरहेको यसअघि स्वास्थ्यखबरले समाचार छापेको थियो। काउन्सिलको छानविनमा समेत उनले बिरामी जाँचेर औषधि प्रस्क्राइब गरेको भेटिएको विदेशी चिकित्सक दर्ता सम्बन्धी हेर्ने काउन्सिलको कमिटी (एफएनडी)का अध्यक्ष डा अनिल कार्कीले जानकारी दिएका छन्।
स्वास्थ्य खबरमा प्रकाशित समाचारका आधारमा छानविन गर्दा अवैध अभ्यास गरिरहेधको भेटिएपछि काउन्सिलले कारबाहीको निर्णय गरेको थियो।
उक्त कमटीको निर्णय अनुसार काउन्सिलका रजिष्ट्रार डा सतिश देवले गृह प्रशासनलाई कारबाहीका लागि पत्राचार गरेका थिए। सोही पत्रकार आधारमा जिल्ला प्रशासन कार्यालय चितवनले कलेजबाट कागजात झिकाएको हो।
नेपाल मेडिकल काउन्सिल ऐन २०२० (संशोधन २०७४) अनुसार लाइसेन्स बिना चिकित्सा सम्बन्धी कामकारबाही गर्न पाइँदैन। दफा २६ मा दर्ता किताबमा नाम दर्ता नभएका व्यक्तिहरूले चिकित्सा सम्बन्धी व्यवसाय गर्न मनाही गरिएको छ। उपदफा १ मा भनिएको छ, ‘दर्तावाला चिकित्सकहरू बाहेक अरू व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले आधुनिक चिकित्साको व्यवसाय गर्न पाउने छैन।’ कसैले उक्त दफा बमोजिम कसूर गरेमा निजलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
डा बर्मन भारतीय नागरिक भएकाले हरेक वर्ष दर्ताका लागि नेपाल मेडिकल काउन्सिलमा निवेदन दिनुपर्छ। काउन्सिललाई मनासिव लागेमा नवीकरण गर्ने प्रावधान छ।
डा बर्मनको लाइसेन्स (दर्ता) २०२४ अक्टोबर २ मै सकिएको देखिन्छ। मेडिकल अन्कोलोजिस्टका रुपमा दर्ता भएका उनको लाइसेन्स ‘रिन्यु’ भएको छैन। रजिष्ट्रार देवका अनुसार उनको अन्तिम दर्ता चितवन मेडिकल कलेजबाट देखिन्छ। त्यो अक्टोबर २ मा सकिएको छ।
डा बर्मनले नेपालमा २०१७ देखि काम गर्दै आएको देखिएको छ। डा बर्मन ‘क्यान्सरको नक्कली औषधि’ सिफारिस प्रकरणमा समेत मुछिएका छन्। क्यान्सरको नक्कली औषधि बनाएर बिक्री गरेको आरोपमा पक्राउ परेको भारतीय गिरोहसँग सम्बन्ध रहेको विषयलाई लिएर नेपाल मेडिकल काउन्सिल र जिल्ला अदालत ललितपुरमा मुद्दा परेको छ। उनको मुद्दा भने नेपाल मेडिसिटी अस्पतालमा कार्यरत रहँदाको हो।
सम्बन्धित समाचार
क्यान्सरका भारतीय डाक्टर पंकज बर्मनको अवैध अभ्यास पुष्टि, मेडिकल काउन्सिलले गृहप्रशासनलाई लेख्यो कारबाहीका लागि पत्र
‘अवैध अभ्यास’मा डा पंकज: क्यान्सरको ‘नक्कली औषधि’ सिफारिस प्रकरणमा मुछिए
सामाग्री श्रोत :
swasthyakhabar

