काठमाडौँ – नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा शिविरमा ८०० भन्दाबढीले प्रत्यक्ष लाभ लिएका छन् । दूतावासले यही वैशाख १७ गतेदेखि १८ गतेसम्म उक्त शिविर सञ्चालन गरेको थियो ।

सो शिविरमध्ये शुक्रबार युएइमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीको निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो । उक्त शिविरमा तीन सय बढीले सेवा लिएका थिए ।
नेपाली सेवाग्राहीलाई अहिल्या हस्पिटल अबुधावीका डा. याशिर श्रेष्ठसहितको स्वास्थ्यकर्मीको टोलीले निःशुल्करुपमा आँखा, मधुमेह, ब्लड प्रेसरको परीक्षण गरेको थियो ।
स्वास्थ्य परीक्षणसँगै डा. श्रेष्ठले शारिरीक तथा मानसिक समस्या र समाधानका विषयमा जानकारी गराउँदै उपस्थित नेपाली नागरिकसँग अन्तरक्रियासमेत गरेको नेपाली दूतावासले जनाएको छ ।

उक्त कार्यक्रममा दूतावासले श्रमसँग सम्बन्धित विविध विषयमा सचेतनामूलक जानकारीसमेत उपलब्ध गराएको थियो । सो अवसरमा कन्सुलर प्रमाणीकरणलगायत अन्य सेवा नियमितरुपमा सञ्चालन गरिएको थियो ।
राजदूतावासले सेवा प्रवाहसँगै यूएइमा कार्यरत नेपालीलाई शारिरीक तथा मानसिक स्वास्थ्य र श्रमसम्बन्धी विषयमा आवश्यकता अनुसार समय समयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । राहदानी नवीकरण सम्बन्धी विशेष काउन्टर सञ्चालन गरी सेवा उपलब्ध गराउने कार्यमा गैरआवासीय नेपाली सङ्घ, युएइ तथ नेपाली समाज, युएइले स्वयंसेवक उपलब्ध गराइ सहयोग गरेको थियो ।
राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाई प्रभावकारी सेवा प्रदान गर्न दूतावास सधैँ क्रियाशील र कटिबद्ध रहेको दूतावासले जनाएको छ । दूतावासले यसअघि पनि आवश्यकताअनुसार विभिन्न समयमा विशेष काउन्टर सञ्चालन गरेर यस किसिमका शिविर सञ्चालन गर्दै आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ