२०८२ बैशाख २० शनिबार
२०८२ बैशाख २० शनिबार

युरोपेली प्रयोगकर्ताको डेटा चीन पठाएको आरोपमा टिकटकलाई ८१ अर्ब ५८ करोड जरिवाना

काठमाडौं । शर्ट भिडिओ शेयरिङ एप टिकटकलाई युरोपेली प्रयोगकर्ताको डेटा गैरकानूनी रूपमा चीन पठाएको आरोपमा ५३० मिलियन युरो (करिब ८१ अर्ब ५८ करोड रुपैयाँ) जरिवाना तिर्न आदेश दिएको छ । युरोपेली संघको जेनेरल डेटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर) उल्लङ्घन भएको ठहर गर्दै आयरल्याण्डको डेटा संरक्षण आयोग (डीपीसी) ले टिकटकलाई शुक्रबार यति ठूलो जरिवाना सुनाएको हो ।

डीपीसीले चार वर्ष लामो अनुसन्धानपछि टिकटकले युरोपेली संघको ‘जेनेरल डेटा प्रोटेक्सन रेगुलेसन’ उल्लङ्घन गरेको ठहर गरेको छ । आयोगका अनुसार टिकटकले चीनमा पठाइएको प्रयोगकर्ताको डेटा ईयूको मापदण्डअनुरूप सुरक्षित राख्ने ग्यारेन्टी दिन सकेन । चीनको आतङ्कवाद विरुद्धको कानुन र जासुसी नियन्त्रणसम्बन्धी कानुनको उल्लेख गर्दै आयोगले यी कानुनका आधारमा चिनियाँ अधिकारीले युरोपेली प्रयोगकर्ताको डेटामा पहुँच पाउन सक्ने जोखिम रहेको बताएको छ ।

जरिवानाको साथै डीपीसीले टिकटकलाई आगामी ६ महिनाभित्र आफ्नो डेटा प्रशोधन प्रक्रियालाई जीडीपीआर कानुन अनुरूप बनाउन कडा निर्देशन पनि दिएको छ । कुल जरिवाना रकममध्ये ४८५ मिलियन युरो डेटा चीन पठाए बापत र बाँकी ४५ मिलियन युरो डेटा स्थानान्तरणबारे आफ्नो गोपनीयता नीतिमा पर्याप्त स्पष्टता नदेखाए बापत लगाइएको हो ।

सेप्टेम्बर २०२१ देखि थालिएको आयोगको अनुसन्धानले टिकटक आफ्ना प्रयोगकर्तासँग उनीहरूको डेटा कहाँ र कसरी प्रशोधन भइरहेको छ भन्नेबारे पारदर्शी नभएको पनि पत्ता लगाएको छ । कम्पनीले सिङ्गापुर र संयुक्त राज्य अमेरिकामा भण्डारण गरिएको डेटामा समेत चीनमा रहेका कर्मचारीले पहुँच गर्न सक्ने तथ्य लुकाएको आरोप लगाइएको छ । तत्कालीन गोपनीयता नीतिमा चीन वा अन्य तेस्रो देशलाई प्रयोगकर्ता डेटाको सम्भावित गन्तव्यका रूपमा स्पष्ट नखुलाउँदा कम्पनीले ईयूको नियम उल्लंघन गरेको आयोगको निष्कर्ष छ ।

छानबिनका क्रममा टिकटकले सुरुमा प्रयोगकर्ताको डेटा चिनमै स्टोर गरेको नभई त्यहाँबाट रिमोट्ली एक्सेस लिएको दाबी गरेको थियो । तर, गत महिना कम्पनीले ‘सीमित’ युरोपेली डेटा चीनमा भण्डारण भएको स्वीकार्दै त्यसलाई हटाइ सकिएको जानकारी गराएको थियो । डीपीसीका उप-आयुक्त ग्राहम डोयलले यस अतिरिक्त उल्लङ्घनका लागि ‘थप नियामक कारबाही’ हुन सक्ने चेतावनी दिएका छन् ।

टिकटकले यस निर्णयविरुद्ध पुनरावेदन गर्न सक्नेछ । यो जरिवाना जीडीपीआर अन्तर्गत हालसम्मकै तेस्रो ठूलो हो । यसअघि मेटा (फेसबुकको मातृ कम्पनी) र अमेजनलाई मात्र योभन्दा बढी जरिवाना गरिएको थियो । आयरल्याण्डमा आफ्नो युरोपेली मुख्यालय राखेको टिकटकलाई २०२३ मा पनि बालबालिकाको डेटा प्रशोधनसम्बन्धी जीडीपीआर उल्लङ्घनमा ३६७ मिलियन डलर जरिवाना लगाइएको थियो ।

टिकटक अमेरिकामा पनि डेटा सुरक्षा र चिनियाँ सरकारसँगको सम्भावित सम्बन्धको चिन्ताका कारण प्रतिबन्धको दबाब झेलिरहेको छ । साथै आफ्नो अमेरिकी व्यवसाय बिक्री गर्नुपर्ने अवस्थामा छ । यस्तो बेला टिकटकमाथि जीडीपीआर उलङ्घनको कारबाही हुनुले कम्पनीलाई पर्न सक्ने असरबारे चर्चा हुन थालेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १९:३७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट