२०८२ बैशाख २० शनिबार
२०८२ बैशाख २० शनिबार

नेपाल प्रहरीलाई ह्याकर ‘काजु’को च्यालेन्ज, थप ८ जीबी डेटा लिक

 

काठमाडौं । नेपाल प्रहरीलाई चुनौती दिँदै ‘काजु’ (KAZU) नामक ह्याकरको समूहले दाबी गर्दै थप ८ जीबी डेटा लिक गरेको छ । बिहीबार राति डार्क वेब मार्केटप्लेस डार्क फोरममा पोस्ट गर्दै ह्याकरको उक्त समूहले नेपाल प्रहरीको आधिकारिक वेबसाइटबाट पाएको दाबी गर्दै थप आठ जीबी डेटा सार्वजनिक गरेको हो ।

“आज, म नेपाल प्रहरीको केन्द्रीय वेबसाइटबाट ह्याक गरिएको ८ जीबीको संवेदनशील डेटा सार्वजनिक गर्दैछु,” पोस्टमा भनिएको छ, “किन? किनभने, उनीहरूले जिम्मेवारी लिनुको सट्टा उक्त सुरक्षा कमजोरी भएको कुरालाई अस्वीकार गर्ने र दोष चाहिँ एउटा असम्बन्धित साइबर क्याफेलाई लगाउने काम गरे ।”

नेपाल प्रहरीले नागरिकको डेटाको सुरक्षा गर्न नसकेको र आफ्नो कमजोरी स्वीकार्नुभन्दा त्यसलाई ढाक्ने काम गरेको भन्दै आफूले डेटा लिक गरेको ह्याकरको दाबी छ । “मैले सार्वजनिक गरेका डेटा जति अस्वीकार गर्दै जान्छौ, म त्यति नै निःशुल्क सार्वजनिक गर्दै जान्छु ।”

आफूसँग भएका अरू डेटा सार्वजनिक होस् भन्ने चाहनु हुन्छ कि हुँदैन भन्दै ह्याकरको उक्त समूहले प्रश्न पनि गरेको छ । यसअघि २२ अप्रिलमा उक्त समूहले नेपाल प्रहरीको आधिकारिक साइटबाट लिइएको २० लाख बढी नागरिकको डेटा आफूसँग भएको दाबी गर्दै पोस्ट राखेको थियो । केही नमूना डेटा सार्वजनिक गर्दै उक्त समूहले सात हजार डलरमा डेटा बिक्री गर्ने जनाएको थियो । त्यसका लागि सम्पर्क गर्न भन्दै सिग्नल, क्यूटोक्स आईडी समेत उपलब्ध गराइएको थियो । 

नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश कुमार आचार्यले त्यसबेला सार्वजनिक भएको डेटा र प्रहरीसँग भएको डेटा दाँजेर प्रमाणिकरण गर्ने काम भइरहेको जानकारी दिएका थिए । त्यसको केही दिनपछि सार्वजनिक भएका डेटा प्रहरीको आधिकारिक साइटभन्दा पनि अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्रको फारम भरिदिने साइबरबाट चोरिएको हुनसक्ने उनले बताएका थिए । आफ्नै आधिकारिक साइटबाट लिक भएको डेटालाई साइबरतर्फ तेर्साएको भन्दै उक्त समूहले प्रतिसोध साँध्न थप आठ जीबी डेटा सार्वजनिक गरेको दाबी गरेको हो । 

ह्याकरले सार्वजनिक गरेको आठ जीबी डेटामा ८० हजार बढी फाइल छन् । ती फाइलमा व्यक्तिको पासपोर्ट साइज फोटो, नागरिकताको फोटो, पासपोर्टको फोटो, विवाह दर्ताको फोटो र बसाइँसराइको फोटो देख्न सकिन्छ । 

नेपाल प्रहरीका प्रवक्ता डीआईजी आचार्यले लिक भएको भनिएको डेटा प्रहरीको साइटबाट नगएको जिकिर गरे । “हामीले त्यो हेरिरहेका छौं । त्यो डेटा हाम्रोबाट गएको होइन,” उनले भने, “हाम्रोबाट गएको हो भने इन्भेस्टिगेट गर्छौं ।”

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १८:३४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट