नेपालका धेरै राजनीति दल र तिनका नेताहरुले, अनेक व्यक्ति र आवरणहरुले नेपाल एकीकरणलाई अस्वीकार गर्न यसलाई अपमान गर्न र होच्याउन अनेक शब्दहरुको खर्च गरिरहेका छन्।

नेपाल एकीकरणलाई होच्याउन र अपमान गर्न पृथ्वीनारायणलाई होच्याउन, पृथ्वीनारयण शाहप्रति नकारात्मक भावना बढाएर घृणा बढाउनु उनीहरुको प्राथमिक कार्य देखिन्छ।
पृथ्वीनारायणले एकीकरण गरेका होइनन् नेपाल एकीकरण भएको नै छैन, नेपाल राष्ट्र बनेको नै छैन, पृथ्वीनारायणले भौगोलिक एकीकरण मात्रै गरेका हुन्, भूगोल मात्रै जोडेका हुन् जनताको भावना जोडेका होइनन् गोरखा राज्यको बिस्तार मात्र गरेका हुन्, जनजातिको राज्य खोसेका हुन्, हत्या हिंसा गर्ने हत्यारा हुन्
आदि इत्यादि अनेक शब्दावाली प्रयोग गरेर पृथ्वीनारायण शाह र नेपाल एकीकरणलाई होच्याउन अपमान गर्न घृणामा बदल्न भरमग्दुर कोशिस गरेका छन्। यस्ता खाले चिन्तन र अभिव्यक्तिहरुले नेपाली एकता र बलियो नेपाल बिरोधी बाह्य रणनीति स्वार्थको सेवा मात्र गर्छ भन्ने सबैले बुझ्नु पर्दछ। तर तथ्यहरुले यी सबैलाई अस्वीकार गर्छ, खण्डन गर्छ र नेपाली जनता सामु वास्तविकता पस्कन्छ।

यिनीहरुत यसरी प्रस्तुत हुन्छन् कि पृथ्वीनारायण शाहभन्दा अगाडि संसारमा कहीँ पनि राजतन्त्र नै थिएन। राजतन्त्रको स्थापना पनि पृथ्वीनारायण शाहले नै गरेको हो।
मानौं पृथ्वीनारायण भन्दा अगाडिका राजाहरुले अरु कसैको राज्य विस्थापन गरेर अर्को राज्य वा राजवंश स्थापना गर्दा बल प्रयोग गरेकै थिएनन्, हतियार चलाएकै थिएनन्, भाषण गरेर चौतारिमा सल्लाह गरेर राज्य स्थापना गरेका वा जोडेका हुन्।
पृथ्वीनारायण भन्दा अगााडि युद्ध भएको नै थिएन। मानिसहरुको जिउबाट रगत बगेकै थिएन पानी मात्रै बग्थ्यो कोहीको ज्यान गएकै थिएन कोही अंगभंग भएकै थिएनन्, हिंसा पृथ्वीनारायणको पालादेखि मात्रै सुरु भएको हो।
पृथ्वीनारायण शाहभन्दा अगाडि नेपालमा शाहवंश नै थिएन शाहवंशका कुनै राजा वा राजतन्त्र नै थिएन भने झैं प्रचार गर्छन्। तथ्यले यिनीहरुका यस्ता अर्थ दिने भनाइलाई मिथ्या साबित गर्दछ।
संसारमा राज्यहरुको, राजतन्त्रहरुको स्थापना, गठन र विगठन, एकीकरण वा खण्डीकरण बल प्रयोग वा युद्ध बिना भएकै छैन। सबै किसिमका विधि प्रयोग भएका छन्। मात्र पृथ्वीनारायण शाह अपवाद हुन सक्तैनथे।
संयुक्त राष्ट्रसंघले राष्ट्रको मान्यता दिएका लगभग दुई सय राष्ट्र मध्ये एउटा राष्ट्रको नाम दिनुहोस् जो रगतले सिन्चित नभएको होस्? संम्भव छ? छैन। मुलुक एकीकरणको विधि पृथ्वीनारायण शाहले पनि त्यही प्रयोग गरे जो समकालिन विश्वमा स्थापित मान्यता थियो।
तुलनात्मक रुपमा नेपाल एकीकरणमा कम हिंसा भएको छ। पृथ्वीनारायणको नीति नै त्यस्तो थियो। नाकाबन्दी लगाउने, थकाउने, गलाउने, मनोवैज्ञानिक रुपमा नै पराजित गरेर एकीकरणको आवश्यकता बोध गराउने र थोरै बल प्रयोग र कम क्षतिले काम फत्ते गर्ने। यी सबै काम जनताको सहभागिता र सहयोगमा नै भएका छन्।
नेपाल एकीकरण गर्दा प्रयोग भएका विधि राज्यको विकासक्रम सबै प्रचलित विश्वमा स्थापित र वैधानिक विधि अनुकुल देखिएका र राष्ट्रहुने सबै आधारको परीक्षामा सफल भएकोले नै नेपाल संयुक्त राष्ट्रसंघको सदस्य हुन सकेको हो।
विश्वसंस्थाले राष्ट्रको रुपमा नेपाललाई मान्यता दिएको पनि यति धेरै वर्ष बितिसकेको छ र पनि केही मान्छेहरु नेपाल राष्ट्र नै भएको छैन भनेर कुप्रचार गरिरहेका छन्। नेपाल अनेक राज्यहरुको बिलयपछि एक राष्ट्र बनेको हो। नेपाल राष्ट्र बनाउने अभियानको नेतृत्व
पृथ्वीनारायण शाहले गरेको हुनाले नै उनी राष्ट्रनिर्माताको रुपमा नेपालमा सम्मानित हुन सकेका हुन्।
केही मान्छेहरु, केही नेताहरु, केही राजनीति दलहरु के भन्छन् भने पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेकै होइनन्, गोरखा राज्यको विस्तार मात्रै गरेका हुन्। खोइ त्यो विस्तारित गोरखा राज्य? प्रारम्भमा पृथ्वीनारायण शाहमा पनि गोरखाको सिमाना सारेर गोरखा राज्यको विस्तार गर्ने योजना नै थियो।
तर जब उनी बनारसमा बिबाह गरे र हतियार किन्न पनि बनारस गए अंग्रेज र मुगलको चपेटामा परेको पूर्वीय वैदिक हिन्दु तथा रैथाने सनातनी सभ्यता बचाउन पनि गोरखाको सिमाना बढाएर होइन गोरखा राज्यको विस्तारले होइन विशाल नेपालको पुर्नएकीकरण नै नेपालको अनिवार्य राष्ट्रिय आवश्यकता हो भन्ने उनले वोध गरे।
उनको यो नेपाली राष्ट्रियताको चेतलाई कान्तिपुरका राजा जयप्रकाश मल्लको अंग्रेज बोलाउने अदूरदर्शी सोचले झनै उचाइमा पु¥याइदियो। र नै उनले अंग्रेज फौजलाई नेपालमा पाइला टेक्नै नदिएर खेद्न बहादुर गोरखाली योद्धाहरुलाई सिन्धुलीमा परिचालित गराए। सिन्धुलीको पौवा गढीमा त्यसताकाको अजेय घाम नअस्ताउने शक्ति भनिएको अंग्रेज उपनिवेशवादी शक्तिलाई हराएर पृथ्वीनारायण शाहले नेतृत्व र निर्देशन दिएको गोरखाली फौजले नेपालमा मात्रै होइन कि विश्वमा नै नयाँ युद्ध इतिहासको रचना गरेको थियो।
पृथ्वीनारायणमा नेपाली राष्ट्रियताको चेत थियो भन्ने प्रमाण उनले कान्तिपुर राज्यका प्रजा रामचन्द्र प्रसाईंलाई लेखेको पत्रमा लेखिएको विचार हो।
रामचन्द्र प्रसाईंले आफ्ना राजा जयप्रकाश मल्लको अंग्रेज बोलाउने नेपालघाति नीतिको बिरोधमा पृथ्वीनारायण शाहलाई जानकारी सहित कसरी अंग्रेजलाई रोक्ने र सहयोग गर्ने सम्बन्धि चिठी लेखेका थिए। चिठीमा उनले अंग्रेजलाई रोक्न तपाईंलाई म कसरी सहयोग गर्न सक्छु भनेर लेखेको थियो।
त्यसको जवाफमा पृथ्वीनारायण शाहले रामचन्द्र प्रसाईंलाई लेखेको पत्रले पृथ्वीनारायणको चिन्तन र चेतना जाहेर गर्दछ। पृथ्वीनारायण शाहले रामचन्द्र प्रसाईंलाई लेखेको पत्रमा तल्कालीन चेतनाको भाषामा फिरंगी (अंग्रेज) भनेको ब्वाँसो हो भनेका छन्। कन्याएको निउ गरेर सबै आन्द्रा भुँडी निकाल्छ भनेको हो।
त्यसले कसैलाई बाँकी राख्दैन भनेको हो। गोरखनाथ र पशुपतिनाथ भनेका एकै हुन्। मैले शासन चलाए पनि जयप्रकाश मल्लले चलाए पनि एउटै हो। हामी एउटै सभ्यताका हौं। फिरंगी भनेको बेग्लै हो भनेका छन्।
अहिलेको भाषा र चेतनालाई पृथ्वीनारायण शाहको चेतना र भाषामा समायोजन गर्दा पृथ्वीनारायण शाह नेपालका उपनिवेशवादी शक्ति बिरोधी आदि नेता ठहर्दछन्। साथै उनमा नेपाली धर्म, सभ्यता, हिन्दु, बौद्ध, किराँत संस्कृति र सभ्यता जोगाउनको लागि पनि नेपालको एकीकरणको अनिवार्य राष्ट्रिय आवश्यकताको चेत जागेको थियो भन्ने यसले जाहेर गर्दछ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको होइन गोरखा राज्यको बिस्तार गरेको हो भन्नेहरुलाई प्रश्न गरौं गोरखाको बिस्तार कहाँ पुग्यो? गोरखाको विस्तार कहाँ पुगेर टुंगियो? गोरखाको बिस्तार कसरी नेपाल भएर बदलियो? कसले बदल्यो? कहिले बदल्यो? कि अअिलेसम्म पनि गोरखाको बिस्तार नै छ? गोरखाको बिस्तार थियो भने किन पृथ्वीनारायणले यो बिस्तार भएको राज्यको नाम गोरखा भनेर घोषण गरेनन्? पृथ्वीनारायणको पालामा गोरखा पश्चिममा चेपे र मस्र्याङ्दी र पूर्वमा टिष्टा नदीसम्म पुगेको तिमीहरुको शब्दमा बिस्तारित गोरखा राज्य नेपाल भनिन थालिइसकेको थियो।
अब भन गोरखा पश्चिम नेपाली फौजले पश्चिम काँगडा किल्ला छेउमा सिमाना पुर्याएको थियो। अब त्यसलाई तिमीहरु के भन्छौ? नेपाल राज्यको बिस्तार भन्छौ कि गोरखा राज्यको बिस्तार भन्छौ? तिमीहरु यसलाई नेपाल एकीकरण मान्दैनौ भने केलाई नेपाल एकीकरण मान्छौ? तिमीहरुको नेपाल एकीकरण भनेको सिक्किमिकरण हो?
एकीकरण होइन भौगोलिक एकीकरण मात्रै गरेका हुन् भन्ने अर्का पण्डाहरु छन्। केहो भौगोलिक एकीकरण भनेको? भूमि त जोडिएको नै हुन्छ जोडिरहनु पर्छ? जनता बेगरको जमिन मात्रै जोडेको हो कुनै जमिन्दारले मान्छेको बस्ति नभएको खेतबारी जोडेको जस्तो? यस्तो हावदारी कुतर्कमा बहस गर्नु परेको छ।
भौगोलिक एकीकरण भन्ने कुरै हुँदैन। भूगोल बोल्छ र म नेपाल राज्य हुुँ भनेर? मान्छे बेगरको भूगोल बोल्छ हामी एकीकृत भयौं भनेर? वास्तबमा पृथ्वीनारायणले जोडेको होइन, तोडेको हो।
अदूरदर्शी, संकिर्ण, स्वार्थी पृथकतावादी मानसिकता भएका सामन्ती राजाहरुले खडा गरेका अनेक नामका अनावश्यक राज्यका सिमानालाई प्रगतीशील र अग्रगामी राजा पृथ्वीनारायण शाहले तोडिदिएका हुन्। ती कृतिम राजनैतिक सिमाना तोडिने बित्तिकै जनता जोडिए, भावना जोडिए।
हामी त गोरखाली सेनासँग हा¥यौं भनेर निदाएका मान्छेहरु बिहान ब्युँझदा नेपाली भएर जितेको पो थाहा पाउँछन्। सानो राज्यका प्रजाहरु ठूलो राज्यका प्रजा भएर गौरव गरेर हिजोको शत्रुतालाई मित्रतामाा परिणत गरेर एक भएर अघि बढ्न थाल्छन्।
के यो भावनात्मक एकीकरण होइन ? पृथ्वीनारायणको नेपाल एकीकरण अभियानमा पराजित राजाका वरिपरिको सानो संख्या बाहेक कसैले पनि थात थलो छोडेर भाग्नुपर्नै अवस्था थिएन। यही हो नेपाल एकीकरण भावनात्मक एकीकरण। केको भौगोलिक एकीकरण?
गोरखाका राजा पृथ्वीनारायणको नेतृत्वमा अघि बढेको नेपाल एकीकरण अभियानले कुनै कालमा एकै राजाले शासन गरेको भूगोलमा अनेक राज्य बनाएर अनेक राजाले खडा गरेका राजनैतिक सिमाना तोडको मात्रै हो। तोडिने बित्तिकै नेपाल एकीकरणको एउटा चरण सम्पन्न भएको हो।
पृथ्वीनारायण शाह हिन्दु धर्ममा आस्था भएका अन्य रैथाने धर्म संस्कृतिलाई सम्मान गर्ने राजा थिए। केही जातिहरु पृथ्वीनारायणले हाम्रो राज्य खोसेको भन्छन्। वास्तवमा पृथ्वीनारायणले एउटै धर्म मान्ने राजाका अनेक राज्य चाहिँदैन भनेर ति राज्यका सिमाना तोडिदिएका हुन्। ती तोडिने बित्तिकै जनताको भावना जोडिन थालिहालेकोले नै नेपाल एकीकरण भएको हो। यही हो भौगोलिक एकीकरण भावनात्मक एकीकरण साँचो अर्थको नेपाल एकीकरण।
पृथ्वीनारयण शाहले छवटा हिन्दुधर्म मान्ने राजाले खडा गरेका राजनीतिक सिमाना तोडेर जनतालाई जोडेका हुन् भनेर माथि नै भनिए पनि सन्दर्भ मिलाउन फेरि भनिएको हो। पृथ्वीनारायणले अथवा उनले निर्देशन दिएका फौजले एक चौदण्डी नामको राज्यको र अन्य पाँच पुर राज्यका सिमाना तोडिदिएका हुन्।
अन्य पुर राज्यहरु हुन् मकवानपुर, भक्तपुर, ललितपुर, कान्तिपुर र विजयपुर। ललितपुर, भक्तपुर र कान्तिपुरमा हिन्दु धर्म मान्ने मल्ल राजा थिए भने मकवानपुर, विजयपुर र चौदण्डीमा आफूलाई हिन्दुपति पदवीले विभूषित गरेका हिन्दु सेन राजाहरु थिए।
कुरा यति हो साना हिन्दु राज्यका सिमाना तोडेर गोरखा समेत गरेर ७ हिन्दु राजाले शासन गर्ने ठाउँमा एक हिन्दु राजाले शासन गरेका मात्रै हुन पृथ्वीनारायणले। आध्यात्मिक र राजनीतिक हिसाबले हेर्दा यहाँ कसैको राज्य खोसेको देखिँदैन।
बरु अनाबस्यक सिमाना,राज्य र राजा हटाएर एक बनाएको मात्रै देखिन्छ। यो सभ्यता जोगाउन पनि पृथ्वीनारायणले यसको अनिवार्य आवश्यकता देखेको थिए। उनले छेवैमा अंग्रेज आएको र उसले अनेक राज्यहरु निल्दै बढेको देखेका थिए। अरु अदूर्दर्शी पृथकतावादी राजाहरुले यो देखेका थिएनन्।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण नै गरेको हो र के आधारमा हो किन हो भन्ने सवालको जवाफ विद्वान डा. जगमान गुरुङको निम्न कथनले पुष्टि गर्दछ। “श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सन्दर्भमा कुरा गर्दा राज्यविस्तार र एकीकरण एवं समीकरणका बारेमा राम्ररी स्पस्ट गरिनु अत्यावस्यक छ।
कुनै एउटा स्वतन्त्र राष्ट्रले अर्को स्वतन्त्र राष्ट्रलाई बल प्रयोग गरेर आफ्नो कब्जामा लिनुलाई राज्यविस्तार भनिन्छ। यसको विपरीत कुनै एउटा विशाल राष्ट्र छिन्नभिन्न भएर अनेकन् राज्यमा परिणत भई कालान्तरमा त्यस राज्य मध्येको एउटा राज्यले पुनः त्यस विशाल राष्ट्रलाई एकसूत्रमा आबद्ध गर्दछ भने त्यसलाई एकीकरण मानिन्छ।
आजभन्दा पन्ध्रसय वर्षअघि नै नेपाल राष्ट्र अहिलको जति नै विशाल थियो भन्ने कुरा ऐतिहासिक प्रमाणबाट सिद्ध भइसकेको छ। श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहभन्दा पहिलेका राजाहरुले पनि विशाल राज्य आर्जेका थिए। तर त्यो राज्य दिगो रहन सकेन।
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह योगक्षेमको ज्ञाता भएकोले त्यस नीतिको कुशलतापूर्वक प्रयोग गरेर टुक्रिएको नेपाललाई पुनः एकसूत्रमा आबद्ध गर्न उनी सफल भए।
आज हामीलाई सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्र नेपालका स्वतन्त्र जनता नेपाली भनेर गर्व गर्न सक्ने सौभाग्य श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट प्राप्त भएको हो। त्यसकारण श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको अभियान नेपाल राष्ट्रको एकीकरण हो भन्ने सिद्ध हुन्छ।” ( किताब—पृथ्वीविचार र व्यवहार पहिलो संस्करण २०६१ पाठ प्राक्कथन,जगमान गुरुङ )
नेपाल एकीकरण पृथ्वीनारायण शाहको नेतृत्वामा सबै जातका नेपालीका सहभागिता र योगदानले सम्पन्न भएको हो भन्ने यथार्थता सबै नेपालीले बुझ्न सक्नु पर्दछ। भ्रम पार्नु पनि हुँदैन भ्रम पाल्नु पनि हुँदैन। गोरखामा ने अनेक जातजाती थिए पृथ्वीनारयण शाहले सबैको साथ सहयोग लिए।
पृथ्वीनारायण शाहलाई गोरखाको नेतृत्वमा नेपाल एकीकण अभियानलाई अघि बढाउन जनसहभागिता कोषको सोच र सोच सँगै कोषको सुरुवाती साइत पारेका अनुभवी दमाई बिसे नगर्चीकोमा गएका रहेछन्।
बिसे नगर्चीले एक रुपियाँ पृथ्वीनारायण शाहलाई दिँदै भनेछन् सबै घरधुरीबाट यसरी नै एक रुपैयाँ उठाएमा १२ हजार संकलन हुने सुझाब र रु एक पनि दिएर नेपाल एकीकरण अभियानमा जन सहभागिता कोषको सुरुवात गराएका थिए। पछि गोरखाका हरेक घरधुरीले एक मोहर दिएर नेपाल एकीकरणमा आफ्नो सहभागिता जाहेर गरेका थिए।
मनिरामलगायत धेरै गिाइनेहरु, बिसे नगर्ची, दमैहरु, सार्कीहरु, भेषाजङ्ग, अम्बरे कामीहरुलगायत नाम नखुलेका जोगीहरु, ज्योतिषीहरु, बैद्यहरु, झाँक्रीहरु, व्यापारीहरु सबैले नेपाल एकीकरणलाई अनेक तरिकाले सकृय सहयोग गरेका छन्। सहभागीता जाहेर गरेका छन्। शेखजबर, मुहम्मदतार्की मुसलामाको पृथ्वीनारायण शाहले दिव्य उपदेशमा नै नाम लिएका छन्।
पृथ्वीनारायण शाहका अति निकट सुरथीसिंह रानामगरको दिव्य उपदेशको सुरुमा नै सबैभन्दा सम्मानकोसाथ नाम छ भने झागल गुरुङको, बिराज बषेती थापाको, पृथ्वीनारायणले नामै लिएका छन् उनको उपदेशमा। बंशु गुरुङले सिन्धुलीको अंग्रेज बिरोधी युद्धमा पराक्रम नै देखाएका छन्।
काजी जगतसिँह राईले पनि सिन्धुलीको युद्धमा त्यस्तै पराक्रम देखाएका थिए। मगर र गुरुङको देशभक्तिको सम्मान र विश्वासमा पृथ्वीनारायण शाहले छुट्टाछुट्टै पल्टन नै खडा गरेका थिए। यसले जाहेर गर्दछ कि नेपाल एकीकरण अभियान अघि बढाउन जनजातिहरुको प्रारम्भदेखि नै सकृय सहयोग र सहभागिता थियो भनेर।
अम्बरसिँह राना, दुधे लामा, सोठे दनुवार, प्रवल राना, नरसिंह गुरुङ, भाष्कर राना, ठाइला, प्युबर लामा, मनिराम राना, मणिराम लामा, कालिदास खड्का मगर, त्रिलोचन मगर, धिवर राई, महिन्द्र मल्ल, नवराज लामा, नरसिंह गुरुङ, मणिकण्ठ राना, धनवन्त प्रधान, संग्रामसिह आले अभय राना, रोहिदास घले, विजयनारायण राई, रोहिदास घले, आदि प्र्रतिनिधि नामहरुले पनि के जाहेर गर्दछ भने जनजातिहरुको राज्य खोसिएको होइन कि जनजातिहरु समेतको योगदानमा अनेक टुक्रे राज्यका सिमाना तोडिएर नेपाल जोडिएको थियो।
कीर्तिपुरको तेस्रो लडाइँमा कीर्तिपुरका नेवारहरुले किल्लको ढोका खोलिदिएर गोरखाली फौजलाई कीर्तिपुरलाई शान्तिपूर्ण एकीकरणमा सामेल गराउन सजिलो बनाइदिएका थिए। पहिला उनीहरुले बुझेनन् गोरखाली फौज रोक्न जुधे। जब एकीकरणको महत्व बुझे यसलाई सहयोग गर्न उठे।
जनस्तरका धेरै नेवारहरुले गुप्तरुपमा पृथ्वीनारायणलाई सहयोग गरेका थिए। तीन मल्ल राजाहरुको झगडाले वाक्क भएका उपत्याकाका जनताहरुले एउटै बलियो राजाले शासन गरोस् भन्ने चाहनाले मल्ल राजाहरुलाई जुट्ने माहौल नबनाइदिएर नेपाल एकीकरण अभियानलाई अप्रत्यक्ष साथ दिए भने पृथ्वीनारायण शाहलाई खुशीसाथ राजा स्वीकारेर नेपाल एकीकरणलाई प्रत्यक्ष सहयोग गरे। पाटन वा ललितपुरमा त पृथ्वीनारायण शाहलाई राजा हुन निम्तो नै दिएका थिए। पृथ्वीनारायण शाहले भाइलाई राजा हुन पठाएका थिए।
पृथ्वीनारायण शाहले नेवार राजा जस्तै जीवित कुमारी देवीलाई ढोगेर कान्तिपुरको राजसिंहासनमा बसेर सबै नेवार समुदायको मन जितेका थिए। उनले सबैको धर्म, संस्कृति रितिथिति भाषा, सभ्यताको यथोचित सम्मान गरेकाले र कतै पनि लुटपाट आदि अत्यचार नगरेकोले सबैले नेपाल एकीकरणलाई आफ्नै एकीकरण मानेका थिए।
पृथ्वीनारायण शाहलाई आफ्नै राजा मानेको कारण पनि त्यही हो र नेपाल एकीकरण दिगो रहेको कारण पनि त्यही हो। र नै नेपाल एकीकरणमा कोही पनि जातिहरु कसैका डरले शरणार्थी भएर भागेको इतिहास नै छैन।
केही लिम्बु अगुवाहरु डरले सिक्किमतिर गएको थिए। पछि पृथ्वीनारायणले तिमीहरुको धनजन रितिथिति सबैको सुरक्षा हुने विश्वास दिलाएको पत्र पठाएर सबैलाई नेपाल ल्याएका थिए।
अरुण पूर्व लिम्बुहरुले प्रारम्भमा नेपाली वा गोरखाली फौजसँग बहादुरी पूर्वक लडे। युद्धले हारजित नभएपछि लिम्बुहरुले शान्तिपूर्ण नेपाल एकीकरणमा योगदान दिएर इतिहास रचेका छन्।
सेन राजा र पृथ्वीनारायणको भाषा, एउटै धर्म एउटै जात एउटै भए पछि सेन राजालाई मान्ने हामी लिम्बुहरुले शाह राजालाई मान्न केको आपत्ति यदि उनले सेन राजाको पालामा हामीले पाएको अधिकार रितिथिति यथावत दिन्छन् भने भन्ने मतमा लिम्बु अगुवाहरु पुगेपछि त्यसैमा सम्झौता भएर पूर्वमा नेपाल एकीकरणको अर्को सुनौलो अध्याय थप्ने योगदान पूर्वका आदिबासी जनजाति लिम्बूहरुको छ।
लिम्बूहरुले नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिएर आफूलाई नेपाल एकीकरणको महत्वपूर्ण अङ्ग बनाएका छन्। नेपाल एकीकरणको इतिहासमा आफ्नो सामुहिक योगदानको सुनौलो इतिहास बनाएका छन्।
सिन्धुलीतिर अंग्रेज आउने थाहा पाएर मधेस तराईका बासिन्दाले पृथ्वीनारायण शाहलाई सूचनाको सहयोग गरेका थिए। त्यसको साथै अंग्रेजलाई खाद्यान्न अभाव होस् भारी बोक्न आदि इत्यादिमा सहयोग नहोस् भनेर उ आउने बाटाका आसपासका घरहरु खाली गरेर स्थानीयहरु अन्यत्रै गएका थिए।
त्यो पनि नेपाल एकीकरणमा तराईबासी अथवा भनौं मधेसीहरुको सहयोग थियो। सारमा पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा नेपालका जुनसुकै भेकका जुनसुकै जाति जनजाति समुहको कुनै न कुनै रुपको योगदान र सहभागिता जोडिएको पाइन्छ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर नेपाल राष्ट्रको निर्माता मात्रै होइनन् नेपालको नयाँ इतिहासको निर्माता पनि हुन्। पृथ्वीनारयाण शाह इतिहासका निर्माता मात्रै होइनन् नेपालको प्राचीन इतिहासलाई आधुनिक इतिहासमा जोड्ने कडी पनि हुन्। पृथ्वीनारायण शाह इतिहास जोड्ने कडी र नयाँ इतिहासको निर्माता मात्रै होइनन् इतिहासहरुको निर्माण गर्ने आधारदाता पनि हुन्।
पृथ्वीनारायण शाहले जब नेपाल एकीकरण अभियानलाई अघि बढाउने निर्णय गरेर व्यवहारमा उतार्न थाले त्यसले अनेक योद्धाहरुको अनेक इतिहास निर्माण भयो। त्यस यता अनेक नेपालीका अनेक ठूला साना इतिहास बनेका छन्।
यदि पृथ्वीनारायण शाहले सानो गोरखाको राजा भएर रमाएर बस्ने निर्णय गरेका थिए भने नेपाल एकीकरणको अभियान अघि बढाएका थिएनन् भने कसैको इतिहास बन्ने थिएन। यसले पुष्टि हुन्छ पृथ्वीनारायण शाह इतिहास जोड्ने कडी हुन्, इतिहास निर्माता हुन् र इतिहासहरु निर्माणका आधारदाता पनि हुन्।
पृथ्वीनारायण शाह फराकिलो थिए र दूरदर्शी थिए। उनले जित्ने राज्य गोरखालाई हराएर नेपाल बनाएर जिताए भने हार्ने मकवानापुर,कान्तिपुर, ललितपुर,भक्तपुर,विजयपुर र चौदण्डीलाई पनि नेपाल बनाएर जिताए।
सारमा कसैले हारेनन् कसैले जितेनन् केवल नेपाले मात्र जित्यो। किनभने त्यसबेला नोपाल नामको कुनै राज्य थिएन। पृथ्वीनारायण शाहाले प्राचीन नेपाललाई पनि न्याय दिए। पृथ्वीनारायणको निधनपछि नेपाल एकीकरणको अभियान उनका छोराहरु,भाइ भारदार देशभक्त योद्धाहरुले पृथ्वीनारयण शाहको नेपाल एकीकरण अभियानले खडा गरेको एकीकृत जगमाथि उभिएर निरन्तरा दिएका थिए।
नेपाल राष्ट्रका निर्माता,नेपालको इतिहासको निरन्तरता दाता इतिहासहरु निर्माणको आधारदाता एवं विश्वकै उपनिवेशवादी शक्ति माथिका प्रथम विजेता नेता नेपालका श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह आफैमा नेपालका शक्ति हुन् र नेपाल जगाउने र जोगाउने जुक्ति पनि हुन्।
नेपाल एकीकरण विचार र योगदामा पृथ्वीनारयाणलाई ठिक ढंगले बुझेर पृथ्वीनारायण र पृथ्वीविचारलाई सम्मान र लागु गर्दै नेपाल पृथ्वीपथबाट अघि बढेमा सबै किसिमले बलियो नेपालको आधार यहीँ छ। विशाल नेपाल पृथ्वीनारायणको योगदान, पृथ्वीविचार सबे समस्याको समाधान, सबैलाई चेतना भया।
सामाग्री श्रोत :