काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने कुनै रुचि नभएको बताएका छन्।

१ सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घले बिहीवार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष दाहालले यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने कुनै रुचि नभएको बताउँदै आफूहरू जनताहरूसँग ठिक रहेको बताए।
उनले सञ्चारमाध्यममा आउने विभिन्न समाचारहरूबाट अलमलमा नपर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे। अध्यक्ष दाहालले आफूहरू फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा मुलुकमा देखिएका तमाम समस्याहरूको समाधान गर्न अग्रसर भएको जिकिर गरे।

‘फेरि यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने हामीलाई कुनै रुचि छैन । हामी जनतासँगै ठिक छौँ । हामी हाम्रो वर्गसँगै ठिक छौँ। तपाईँहरू कन्फ्युजनमा नपर्नु होला, विभिन्न खालका मिडियामा आउने समाचारबाट गम्भीर नहुनु होला। हामी आन्दोलनमार्फत फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा यी तमाम समस्याहरूको समाधान गर्नतिर अग्रसर छौँ ।’ उनले भने, ‘मैले तपाईँहरूलाई गम्भीरपूर्वक अपिल गर्न चाहन्छु, तपाईंहरू अगाडि आउँदा यो देशले फेरि एकचोटी नयाँ आन्दोलन र नयाँ अभियानलाई सफल बनाएर संविधानको समीक्षा, संविधान संशोधनसहित तपाईँ हामीले अहिले भोगिरहेका समस्याहरूलाई समाधान गरिनेछ।’
उनले नेपाली काँग्रेस र नेकपा (एमाले)का विद्यार्थी सङ्गठनहरू मिल्दासमेत गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफूहरूले धेरै ठाउँ जितेको र ऐतिहासिक रेकर्ड बनेको जिकिर गरे।
‘हामीलाई अरू कसैको खुट्टामा नटेकी उभिन नसक्ने भयो माओवादी भनेर आरोपित गर्न खोजियो । हामीलाई अपमानित गर्न खोजियो । तर, तपाईं हामीले देख्यौँ, जब हाम्रो पार्टीले अब कसैसँग नमिली आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने, एक्लै अगाडि बढ्ने भन्यौँ, उपनिर्वाचनमा तपाईँहरूले देख्नुभयो, हामी देशकै एक नम्बर पार्टी बन्यौँ । काँग्रेस र एमाले मिल्दा पनि हामीले स्ववियु निर्वाचनमा धेरै ठाउँमा जितेका छौँ र ऐतिहासिक रेकर्डहरू बनेका छन् ।’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ