काठमाडौँ । गुगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित तीन ओटा टुल सार्वजनिक गरेको छ । नयाँ भाषा सिक्न सहयोग पुर्याउने उद्देश्यसहित कम्पनीले यी टुलहरू गुगल ल्याब्समार्फत सार्वजनिक गरेको हो ।

हाल प्रारम्भिक परीक्षण चरणमा रहेका यी टुलहरू प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सक्नेछन् । अनलाइन प्लेटफर्मबाट भाषा सिकाउने डुओलिङ्गो जस्ता एपसँग प्रतिस्पर्धा गर्न गुगलले यी टुल ल्याएको बताइएको छ ।
गुगलले सार्वजनिक गरेका तीन ओटा नयाँ मोडेलमध्ये एउटा हो ‘टाइनी लेसन’ (Tiny Lesson) । नयाँ भाषा सिक्ने क्रममा तुरुन्तै आवश्यक पर्ने तर नसिकिएको कुनै विशेष वाक्यांशको आवश्यकता परेमा यो टुल उपयोगी हुन्छ ।
गुगलका अनुसार, जब कसैले भाषा सिक्दैछ तर आवश्यक वाक्यांश तुरुन्तै थाहा नपाउँदा सिक्ने इच्छामा कमी आउन सक्छ । यसै विचारमा आधारित भएर यो टुल विकास गरिएको हो ।

टाइनी लेसन मार्फत प्रयोगकर्ताले कुनै परिस्थितिको वर्णन (जस्तै: ‘हराएको पासपोर्ट फेला पार्ने’) गरेपछि त्यस सन्दर्भमा आवश्यक शब्दावली र व्याकरण टिप्स पाउन सक्छन् । उदाहरणका लागि, यो टुलले ‘मैले कहाँ हराएँ थाहा छैन’ वा ‘म प्रहरीलाई रिपोर्ट गर्न चाहन्छु’ जस्ता सम्भावित वाक्य सुझाउनेछ ।
गुगलको दोस्रो टुल हो ‘स्ल्याङ ह्याङ’ (Slang Hang) । यसले प्रयोगकर्तालाई नयाँ भाषा सिक्दा पाठ्यपुस्तकजस्तो औपचारिक लवजको सट्टा स्थानीय बोलचालको भाषा सिक्न सहयोग गर्छ ।
सामान्यतया नयाँ भाषा औपचारिक तरिकाले सिक्दा बोलाइ पनि अत्यधिक औपचारिक हुन्छ, जसले प्रयोगकर्तालाई भाषा सिकेको देखाइदिन्छ । स्ल्याङ ह्याङले स्थानीय व्यक्तिहरूबिचको वास्तविक संवाद तयार पारिदिन्छ, जसबाट प्रयोगकर्ताले व्यवहारिक स्ल्याङ र तिनको प्रयोग बुझ्न सक्छन् । प्रयोगकर्ताले कुनै शब्दमा होभर गर्दा त्यसको अर्थ तल देखिन्छ ।
यस टुलले कहिलेकाहीँ गलत स्ल्याङ प्रयोग गर्ने वा नभएका शब्द बनाउन सक्ने भएकाले प्रयोगकर्ताले विश्वसनीय स्रोतहरूसँग जाँच गरेर प्रयोग गर्नुपर्ने गुगलले जनाएको छ ।
त्यसैगरी गुगलले ल्याएको अर्को टुल हो ‘वर्ड क्याम’ (Word Cam) । यस फिचरले तपाईंलाई आफ्नो मोबाइलको क्यामेरा प्रयोग गरेर वरपरका वस्तुको फोटो खिच्न अनुमति दिन्छ । त्यसपछि जेमिनाईले ती वस्तु पहिचान गरी तपाईंले सिकिरहेको भाषामा तिनको नाम देखाइदिन्छ । यसले ती वस्तुको वर्णन गर्न प्रयोग हुने थप शब्द पनि उपलब्ध गराउँछ ।
कहिलेकाहीँ तपाईंलाई आफ्नो अगाडि भएका चीजको नाम थाहा नहुन सक्छ । यस्तोमा यो फिचर उपयोगी हुने कम्पनीले उल्लेख गरेको छ । त्यस्तै दृष्टिविहीन वा कम दृष्टि भएका व्यक्तिलाई अगाडि भएको वस्तु थाहा दिन यो टुल उपयोगी हुने बताइएको छ ।
गुगलका अनुसार यी तीन ओटा टुलको मुख्य उद्देश्य भनेको एआई प्रविधिको प्रयोगमार्फत भाषा सिकाइलाई अझ व्यक्तिगत, सहज र प्रभावकारी बनाउने प्रयास हो ।
हाल यी टुलहरू अरबी, चिनियाँ (चीन, हङकङ, ताइवान), अंग्रेजी (अष्ट्रेलिया, बेलायत, अमेरिका), फ्रेन्च (क्यानडा, फ्रान्स), जर्मन, ग्रीक, हिब्रु, हिन्दी, इटालियन, जापानी, कोरियन, पोर्चुगिज (ब्राजिल, पोर्चुगल), रुसी, स्पेनिश (ल्याटिन अमेरिका, स्पेन) र टर्किस भाषामा उपलब्ध छन् ।
यी सबै टुलहरू Google Labs बाट प्रयोग गर्न सकिनेछ ।
पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ १३:५५
सामाग्री श्रोत :
टेक पाना