काठमाडौँ । एप्पलले यस वर्ष सार्वजनिक गर्ने तयारी गरिरहेको आईफोन १७ का सबै मोडेलमा १२ जीबी र्याम हुने हल्ला चलेको छ । चिनियाँ सामाजिक सञ्जाल विबोमा मङ्गलबार एक पोस्ट राख्दै चर्चित लिक्स्टर ‘डिजिटल च्याट स्टेसन’ यस्तो खुलासा गरेको हो ।

बाहिरिएको जानकारी अनुसार एप्पलको नयाँ आर्टिफिसियल इन्टेलिजेन्स फिचर ‘एप्पल इन्टेलिजेन्स’लाई उत्कृष्ट ढङ्गले सञ्चालन गर्न स्तरोन्नति गर्न लागिएको हो । यसअघि चर्चित एप्पल विश्लेषक मिङ-ची कुओले यस्तै विश्लेषण गरेका थिए । त्यसको केही दिनमै एप्पलको आपूर्ति शृङ्खलामा पहुँच भएको दाबी गर्ने ती चिनियाँ लिकस्टरले सबै आईफोन १७ मोडेलमा १२ जीबी र्याम हुने दाबी गरेका हुन् ।
कुओले पनि आईफोन १७ एयर, आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्समा १२ जीबी र्याम हुने बताएका थिए ।
कुओले बेस मोडेल आईफोन १७ मा पनि १२ जीबी र्याम हुनसक्ने तर त्यो आपूर्ति शृङ्खलामा आउनसक्ने अभावलाई समाधान गर्न सकिनेमा निर्भर रहने उल्लेख गरेका थिए । उनका अनुसार एप्पलले साधारण आईफोन १७ मोडेलमा रहने र्यामको क्षमता बारे अन्तिम निर्णय आगामी मे महिनासम्ममा लिनेछ ।

यदि बेस मोडेल आईफोन १७ मा ८ जीबी र्याम नै कायम रहे पनि कुओले अर्को वर्ष (२०२६ मा) आउने आईफोन १८ का सबै मोडेलहरूमा भने १२ जीबी र्याम हुने अपेक्षा राखेका छन् । हाल बजारमा उपलब्ध आईफोन १६ का सबै मोडेलहरूमा ८ जीबी र्याम रहेको छ । त्यसैले १२ जीबीमा स्तरोन्नति गर्नु कम्पनीका लागि एक महत्त्वपूर्ण कदम मानिएको छ ।
म्याकर्युमर्सका अनुसार अधिक र्यामले ठुला र सक्षम एआई मोडेललाई क्लाउड सेवामा त्यति धेरै निर्भर नभई सिधै फोनमै छिटो र प्रभावकारी रूपमा चल्न सक्षम बनाउँछ । हाल बजारमा सामसङको ग्यालेक्सी एआई र एप्पलको एप्पल इन्टेलिजेन्सको जेनेरेटिभ फिचरलाई लिएर चर्चा गर्ने गरिएको छ । त्यसमा ग्यालेक्सी एआईले एप्पल इन्टेलिजेन्सलाई उछिन्ने गरेको प्रयोगकर्ताको दाबी छ । यसमा पनि सामसङमा हुने बढी र्यामले कुनै न कुनै रूपमा एआईलाई परिष्कृत बनाउन सघाउने गरेको बताइन्छ ।
र्याम बढी हुँदा फोनमा एआईले काम गर्ने गति, प्रतिक्रिया दिने समय र जटिलतामा सुधार आउने बताइएको छ । र्याममा हुने यो ५० प्रतिशतको वृद्धिले सहज मल्टिटास्किङमा पनि मद्दत पुग्नेछ । एप्पलले आईफोन १७ सिरिज आफ्नो नियमित समय तालिका अनुसार यसै वर्षको सेप्टेम्बर महिनातिर सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ २०:१८
सामाग्री श्रोत :
टेक पाना