
काठमाडौँ –राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले मुलुकको कुल विद्युत् खाँचो स्वदेशी उत्पादनले आपूर्ति गरी वृहत् मात्रामा बिजुली निकासी गर्ने कुरा सरकारको उद्देश्य हुनुपर्ने बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै जबराले मुलुकको राजश्वले साधारण खर्च पनि धान्न नसकेको भन्दै देशको युवाहरू विदेशमा गएर बगाएको खुन पसिनाले कमाएको रेमिट्यान्सले जिडिपीको ७५ प्रतिशत वार्षिक सामान आयात गर्ने क्षमता रहेको बताएका हुन् ।
उनले कुल रिजर्भ १५ महिनाको आयात धान्ने क्षमता रहेको बताउँदै जनवरी २०२५ को रिपोर्टअनुसार लगभग १५.६६ बिलियन डलर मुद्राको सञ्चिति भएको बताए । भारतबाट विद्युत् आयात गरे पनि वर्षा मौसममा २०८१ भदौ ७ मा ७ सय ४४ मेगावाट विद्युत् भारतमा निर्यात गरेको उनको भनाई छ ।
उनले भने, ‘यस मुलुकको राजश्वले साधारण खर्च पनि धान्न सक्दैन । तर हाम्रो देशको युवाहरू विदेशमा गएर बगाएको खुन पसिनाले कमाएको रेमिट्यान्सले टोटल जिडिपीको ७५ प्रतिशत वार्षिक सामान आयात गर्ने क्षमता राख्छ । कुल रिजर्भ १५ महिनाको आयात धान्ने क्षमता छ । र जनवरी २०२५ को रिपोर्टअनुसार लगभग १५.६६ बिलियन डलर मुद्राको सञ्चिति भएको छ । हामीले इन्डियाबाट विद्युत् इम्पोर्ट गरे पनि वर्षा मौसममा हामीले २०८१ भदौ ७ मा ७ सय ४४ मेगावाट विद्युत् भारतमा निर्यात गरेका छौँ । साथै बंगलादेशलाई ५ महिनाको लागि वर्षात मौसममा ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता पनि भएको छ ।’

उनले थपे, ‘हामी ८३ हजार मेगावाट विद्युत्को सम्भाव्यता भएको देशले ३५ सय मेगावाट विद्युत् उत्पादन गर्दछौँ । हाम्रो मूल उद्देश्य मुलुकको कुल विद्युत् खाँचो स्वदेशी उत्पादनले आपूर्ति गरी वृहत् मात्रामा बिजुली निकासी गर्नुपर्नेमा विडम्बना यस्तो छ सभामुख महोदय, की अहिले हामी त्यस उद्देश्यको नजिक पनि पुगेका छैनौँ । यस्तो स्थितिमा हामीले धेरै सुधार गर्न सक्नुपर्छ । तर त्यो उद्देश्यअनुसार नेपाल सरकारले मात्रै लगानी गर्न कदापि सक्दैन । त्यसको समाधानको लागि व्यापक विदेशी र स्वदेशी लगानीकर्तालाई आकर्षित गराउनुपर्छ ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

















