२०८२ बैशाख १५ सोमबार
LATEST NEWS
२०८२ बैशाख १५ सोमबार

नेपाली वैज्ञानिकले पत्ता लगाए पुड्के आकाशगङ्गाहरू मिलेर अण्डाकार रूप लिँदै गरेको तथ्य

काठमाडौँ । नेपालका खगोलशास्त्रीहरूको एक समूहले एउटा महत्त्वपूर्ण खोज गरेका छन् । उनीहरूले सघन पुड्के आकाशगङ्गा (Compact Dwarf Galaxy) कसरी अण्डाकार आकाशगङ्गामा परिणत हुँदैछ भन्ने विषयमा नयाँ अनुसन्धान गरेका हुन् । 

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दयानिधि छत्कुलीको नेतृत्वमा सञ्जय पौडेल, विनिल अर्याल, विनोद अधिकारी, नौराज पोख्रेल र राजेन्द्र अधिकारी सम्मिलित टोलीले उक्त अनुसन्धान गरेको थियो ‍। यो खोज जर्नल अफ द कोरियन एस्ट्रोनोमिकल सोसाइटी (JKAS) मा प्रकाशित भएको छ । पढ्नुहोस् उक्त प्रतिवेदन । 

यो अनुसन्धान एसडीएसएस ‘जे१३४३१३.१५+३६४४५७.५ (जे१३४३+३६४४)’ नामको सघन पुड्के आकाशगङ्गामा केन्द्रित छ । प्रतिवेदनले यो आकाशगङ्गा विस्तारै अण्डाकार (elliptical galaxy) मा परिणत हुने क्रममा रहेको निष्कर्ष निकालेको छ ।  

उपप्राध्यापक छत्कुलीका अनुसार यो विषयमा हालसम्म खासै अनुसन्धान भएको थिएन । त्यसैले विज्ञानसँग सम्बन्धित विभिन्न म्यागेजिनले यो खोजलाई प्राथमिकताका साथ प्रकाशन गरेको उनले सुनाए । बेलायतको विज्ञान तथा प्रविधि सम्बन्धी अनलाइन पत्रिका फिजिक्स डट ओआरजी (phys.org) ले पनि यो अनुसन्धानबारे लेखेको छ । 

के हो सघन पुड्के आकाशगङ्गा ? 

लाखौँ ताराहरू मिलेर एउटा आकाशगङ्गा बन्छ । ग्रहहरू विभिन्न आकारका भएजस्तै आकाशगङ्गाहरू पनि ठुला र साना हुन्छन् । खगोलविद्हरूले यस्ता आकाशगङ्गाहरूबाट आउने प्रकाश र विकिरणको अध्ययन गरेर यिनीहरूको बारेमा जानकारी लिन्छन् । 

ठुला आकाशगङ्गाहरू धेरै चम्किला हुन्छन् र धेरै प्रकाश फाल्छन् । तर साना आकाशगङ्गाहरू मधुरो हुने भएकाले यिनीहरूको अध्ययन कम हुने गरेको छ । यस्ता साना आकाशगङ्गाहरूलाई नै पुड्के आकाशगङ्गा (Dwarf Galaxy) भनिन्छ ।  

पुड्के आकाशगङ्गा बढी गुरुत्वआकर्षण भएका अन्य आकाशगङ्गासँग समयसँगै नजिकिँदै जाने र हजारौं वर्षपछि एक-अर्कासँग मिल्ने गरेको छत्कुलीले सुनाए । यसरी स-साना ग्रहरू जोडिएर एउटै आकाशगङ्गा बन्ने क्रम चलिरहेको हुन्छ । त्यसरी धेरै आकाशगङ्गाहरू गुरुत्वआकर्णका कारण एउटै आकाशगङ्गा बन्नुलाई ग्यालेक्सी मर्जर भनिन्छ । 

छत्कुलीका अनुसार पुड्के आकाशगङ्गाहरू धेरै गुरुत्वाकर्षण भएका ठुला आकाशगङ्गाको नजिकिँदै जान्छन् र हजारौं वर्षपछि एकआपसमा मिल्छन् । यसरी साना आकाशगङ्गाहरू जोडिएर एउटै ठुलो आकाशगङ्गा बन्ने प्रक्रिया चलिरहेको हुन्छ । गुरुत्वाकर्षणका कारण धेरै आकाशगङ्गाहरू मिलेर एउटै बन्नुलाई ‘ग्यालेक्सी मर्जर’ भनिन्छ ।

त्रिभुवन विश्वविद्यालय, दक्षिण कोरियाको योनसेई विश्वविद्यालय र अमेरिकाको टेनेसी विश्वविद्यालयका नेपाली खगोलशास्त्रीहरूले यही विषयमा अनुसन्धान गरेका हुन् ।

छत्कुलीका अनुसार उनीहरूले अध्ययन गरेको ‘जे१३४३+३६४४’ पनि दुई वा दुईभन्दा बढी आकाशगङ्गाहरू मिलेर बनेको हो । यसको हाफ-लाइट रेडियस १,५७० प्रकाश वर्ष छ भने यसको प्रकाशको चमक (Mr = −19.17 mag) सामान्य आकाशगङ्गाहरूको तुलनामा निकै कम छ । 

छत्कुलीका अनुसार यो आकाशगङ्गामा ताराहरू एकअर्कासँग एकदमै नजिक छन् । जसकारण ग्यासका बादलहरू पनि बाक्लिएका छन् । यो आकाशगङ्गामा लगभग ७.९ अर्ब सूर्य बराबरको हाइड्रोजन ग्यास छ । 

यसकारण आकाशगङ्गामा ग्यासको बादल बाक्लिएर नयाँ ताराहरू बन्ने क्रम पनि बढिरहेको छ । अनुसन्धान पत्र अनुसार यो आकाशगङ्गामा हरेक वर्ष ०.८७ सूर्य बराबरको नयाँ तारा बनिरहेको छ ।

यो आकाशगङ्गाको भित्री भाग नीलो छ, जहाँ नयाँ ताराहरू बनिरहेका छन् । बाहिरी भाग रातो छ, जहाँ ताराहरू बनिरहेका छैनन् । अनुसन्धानको निष्कर्ष अनुसार केही करोड वर्षपछि यो आकाशगङ्गामा तारा बन्ने क्रम बन्द हुनेछ र यो अण्डाकार आकाशगङ्गा (इलिप्टिकल ग्यालेक्सी) मा परिणत हुनेछ । 

अनुसन्धानका लागि छैन अनुदान र पूर्वाधार

कम्प्याक्ट ड्वार्फ ग्यालेक्सी इलिप्टिकल ग्यालेक्सीमा परिणत हुने विषयमा यो पहिलो अनुसन्धान भएको उपप्राध्यापक छत्कुलीले बताए । उनका अनुसार यसले भविष्यमा खगोलीय अनुसन्धानलाई धेरै मद्दत गर्नेछ । यो अनुसन्धान गर्न टोलीलाई साढे दुई वर्षभन्दा बढी समय लाग्यो । तर अनुसन्धान सम्पन्न गर्दासम्म विश्वविद्यालय अनुदान आयोग (यूजीसी) लगायतबाट कुनै आर्थिक सहयोग नपाएको उनले गुनासो गरे । “पेपर सार्वजनिक गर्ने बेलामा यूजीसीले फन्ड गरेको छ भनेर उल्लेख गरेका छौं, तर हामीलाई कुनै अनुदान दिइएको छैन । अनुदानका लागि आवेदन दिन मिल्छ होला, हामी प्रयास गर्दैछौं,” उनले भने ।

यस्तै, डेटा एनालिसिसका लागि दक्षिण कोरियाका अनुसन्धानकर्ताहरूसँग सहकार्य गरेको उनले बताए । “अनुसन्धानका लागि धेरै ठुलो डेटा विश्लेषण गर्नुपर्ने हुन्छ । त्यसलाई ह्यान्डल गर्न हामीलाई ठुलो क्षमताको कम्प्युटरहरू आवश्यक थियो । हामीसँग त्यस्तो कम्प्युटर थिएन । त्यसैले हामीले कोरियाका अनुसन्धानकर्ताहरूसँग पनि सहकार्य गर्‍यौं । नेपालबाट गर्न सकिने जति काम हामीले यहीँबाट गर्‍यौं,” उनले भने ।

अनुसन्धानका लागि टेलिस्कोप प्रयोग गरेर तथ्याङ्क सङ्कलन गर्नुपर्ने भए पनि नेपालमा चाहिए जस्तो टेलिस्कोप नभएको उनले बताए । उनले थपे, “अरू देशको सहयोगमा तथ्याङ्क सङ्कलन गरेर काम गर्‍यौं । फन्डिङ र आवश्यक प्रविधिको अभावमा पनि हामीले अनुसन्धान पूरा गरेरै छाड्यौं ।”

पढ्नुहोस् रिसर्च पेपर

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८२ २०:२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट