
काठमाडौं। १४ वर्षीय खेलाडी वैभव सुर्यवंशीको सनसनीपूर्ण ब्याटिङमा राजस्थान रोयाल्सले जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा शानदार जित हासिल गरेको छ। जयपुरमा भएको खेलमा राजस्थानले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो।
गुजारातले दिएको २१० रनको लक्ष्य राजस्थानले १५.५ ओभरमा मात्र दुई विकेट गुमाएर पुरा गर्यो। राजस्थानको जितमा वैभवले आक्रमक ब्याटिङ गरे। उनले ३५ बलमा शतक बनाउँदै आईपीएल इतिहासमा दोस्रो छिटो शतक प्रहार गर्ने खेलाडी बने। उनी ३८ बलमा ७ चौका र ११ छक्का प्रहार गर्दै १०१ रन बनाएर आउट भए।
यस्तै यशस्वी जैसवालले ४० बलमा ९ चौका र २ छक्काको मद्दतमा ७० रन बनाए। कप्तान रियान परागले १५ बलमा ३२ रन बनाए। गुजरातका प्रसिद्ध क्रिष्ण र रशिद खानले एक एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०९ रन बनाएको थियो। गुजरातका कप्तान शुभमन गिलले सर्वाधिक ८४ रन बनाए। उनले ५० बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै जोश बटलरले २६ बलमा ५० रन बनाए। राजस्थानका महिष थिक्सानाले दुई विकेट लिए।
सामाग्री श्रोत :
१४ वर्षीय सुर्यवंशीको सनसनीपूर्ण ब्याटिङमा राजस्थानको शानदार जित
काठमाडौँ । एमालेकी युवा नेतृ एवं पूर्व सांसद शान्ता चौधरीले सोमबार आफ्नो फेसबुक वालमा एउटा रोचक पोस्ट शेयर गरिन् । यो पोस्ट थियो प्रधानमन्त्री केपी शर्मा ओलीले २०१८ मे २५ मा सार्वजनिक गरेको एउटा ग्राफिक्स, जसमा पाँच वर्षभित्र काठमाडौं-निजगढ द्रुतमार्ग निर्माण सम्पन्न गर्ने महत्त्वाकांक्षी योजना प्रस्तुत गरिएको थियो ।
‘Info in graphics’ क्याप्सन सहितको उक्त पोस्ट सात वर्षअघि ओलीले प्रधानमन्त्री रहँदै राखेका थिए ।
उक्त पोस्टमा ओलीले चित्रसहित द्रुतमार्गको विशेषता उल्लेख गरेका थिए- ‘राष्ट्रिय राजमार्गको दूरीमा हाइब्रिड रोड नेटवर्क, राजमार्गमा कलात्मक पुल निर्माण सुरु गरिनेछ, पाँच वर्षभित्र काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण गरिनेछ, ९२% किमि मध्य बन्दरगाह राजमार्गमा निर्माण गरिनेछ ।’
तर, २०२५ पुगिसक्दा पनि यो योजना कागजमै अल्झिएको भन्दै फेसबुक प्रयोगकर्ताहरूले ओलीको चर्को आलोचना गरिरहेका छन् । केही दिनयता नै उक्त पोस्टमा जाँदै फेसबुक प्रयोगकर्ताले कमेन्ट गर्दै आएका छन् ।
अधिकांश प्रयोगकर्ताले सात वर्ष बितिसक्दा पनि ओलीले देखाएको सपना नारामै सीमित भएको भन्दै चर्को आलोचना गरेका छन् । कतिपयले त ओलीले देखाएको त्यो ग्राफिक्सलाई ‘हात्ती आयो हात्ती आयो फुस्सा’ को संज्ञा दिँदै व्यंग्य गरेका छन् ।
आश्चर्यको कुरा त ओलीको आलोचना भइरहेको त्यही पुरानो पोस्टलाई एमाले नेतृ चौधरीले शेयर गरेकी छन् । उनले पोस्ट शेयर गरे पनि कुनै प्रतिक्रिया वा क्याप्सन लेखेकी छैनन् । एमालेकै नेतृले प्रधानमन्त्री ओलीको सात वर्ष पुरानो अधुरो वाचालाई सम्झाइदिएपछि सामाजिक सञ्जाल प्रयोगकर्तालाई अरू के चाहियो !
कतिपयले चौधरीलाई “बा’ का गफ पुष्टि गर्न पोस्ट गरेको हो ?” भन्दै प्रश्न गरेका छन् । फेसबुक प्रयोगकर्ता दीपक लामिछानेले लेखेका छन्, “हैन के प्रमाणित गर्न यो पोस्ट गरेको दिदी ? देख्यौ हाम्रा बा कति गफाडी छन् भन्ने प्रमाणित गर्न हो कि ?”
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी बाजुराको फेसबुक आईडीबाट कमेन्ट आएको छ- “पहिलो पटक प्रधानमन्त्री हुँदा बनाएको चित्र तेर्सो पटक पनि प्रचारप्रसार हुँदैछ। अब काम नलाग्ने डिजाइनलाई चित्र नै भनौ होला ।”
दर्शन क्षेत्रीले लेखेका छन्, “स्टन्टले देश बनेन । ७ बर्ष बित्दा पनि काम पूरा भएन ।”
सुमन केसीले वर्तमान समयलाई इंगित गर्दै लेखेका छन्, “अहिले २०२५ हो नि कति झ्वाम् परियो करोडौं करोडौं पैसाको चिलिम फर्के जस्तो छ ।”
गणेश क्षेत्रीले नेतृ चौधरीलाई प्रश्न गर्दै लेखेका छन्, “हिजोआजको पोस्ट सोचेर झुक्केर शेयर भयो कि दिदी ? यो पोस्टले तिम्रा केपी बा को साख बढ्ने होइन अझ प्रष्ट पार्छ कि कतिसम्म जनतालाई गफ लाउछन् भन्ने ।”
प्रेम घिमिरेले त व्यंग्यात्मक शैलीमा लेखेका छन्, “प्रमको इज्जत गरेको कि बेइज्जत गरेको यो शेयर गरेर 😁😁”
विपिन श्रेष्ठले हाँसोको इमोजी सहित लेखेका छन्, “हैट् २०१८, ७ वर्ष अगाडिको पोस्ट हालेर बा’ लाई जिस्क्याको हो कि क्या हो??🤣🤣🤣”
समिर थापा प्यासीले निराशा व्यक्त गर्दै लेखेका छन्, “सन् २०१८ मा घोषणा गरेको योजना अहिले सन् २०२५ भैसक्यो । कहिले हुने हो पूरा काम ? यस्तै अन्धभक्त नेता र कार्यकर्ताहरु भएर नै उखाने बिग्रेका हुन् भन्ने कुरा कहिले बुझ्ने होलान् ?”
प्रकाश खत्रीले त सडककै दुर्दशा सम्झाए, “दाङ घोराही को २४ km फोरलेन बाटो अलपत्र परेको ८ बर्ष भयो गफ नदेऊ बा ।”
यसरी एमाले नेतृले नै प्रधानमन्त्रीको पुरानो वाचालाई सार्वजनिक गरिदिएपछि सामाजिक सञ्जालमा बहस सिर्जना भएको छ । चौधरीको यो कदमलाई कतिपयले ओलीको विगतको वाचा स्मरण गराउने प्रयासको रूपमा हेरेका छन् । कतिपयले यसलाई पार्टीभित्रको असन्तुष्टिको संकेतको रुपमा पनि अनुमान गरेका छन् । जे होस्, यो पोस्टले प्रधानमन्त्री ओलीको पुरानो प्रतिबद्धता र वर्तमान अवस्थालाई एकसाथ ल्याएर प्रश्न खडा गरिदिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १५, २०८२ २३:१०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने तथा राष्ट्रपतिले आगामी १९ गते संघीय संसद्को दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
सामाग्री श्रोत :
वैशाख १९ गते राष्ट्रपतिले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
काठमाडौ – नेपाली काँग्रेसका सांसद डा.शेखर कोइरालाले शिक्षकहरूमाथि सरकारले गरेको बर्बरता काँग्रेसले सहन नसक्ने बताएका छन् ।
सोमबार (आज) काठमाडौँमा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा वीपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा बोल्दै कोइरालाले यस्ता कार्यहरू काँग्रेसले सहन नसक्ने बताएका हुन् ।
उनले आईतवार सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता निन्दनीय मात्रै नभएर घृणित भएको बताए । उनले एमालेसँग सहकार्य गरेर सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई आफूले भन्नु केही नभएको बताउँदै सरकार बाहिर रहेकाहरूले गलत र कमी, कमजोरीहरूलाई औँला उठाएर भन्ने आँट गर्नुपर्ने बताए ।
उनले कार्यकर्ताहरूलाई आफूले शाहस दिने भन्दै सरकारले गरेका गलत र कमीकमजोरीहरूलाई औँला उठाएर भन्ने आँट गर्न सुझाव दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । शुक्रबार, १२ वैशाख २०८१ को प्रतिनिधिसभा बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १५ चैतको राजावादी आन्दोलनमा भाटभटेनीमा चोरी गर्नेमध्ये एक व्यक्ति सत्तारुढ पार्टीकै सहमहामन्त्रीका छोरा भएको र प्रहरीले थाहा पाएपछि दुई घण्टामै छोडेको दाबी गरे । त्यसपछि खबरहब, देशसञ्चार जस्ता सञ्चारमाध्यमले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवका छोरा पक्राउ परेको भनी समाचार लेखे ।
र, १५ चैतकै आन्दोलनका क्राममा भाटभटेनी लुटपाटका क्रममा खिचिएका भिडिओका भाइरल स्क्रिनशटसहित समाचार राखे । हाल ती फोटोमा रक्सी चोरेको देखिने युवक नै यादवका छोरा भएको पोस्ट भाइरल भइरहेका छन् ।
तर, टेकपानाले गरेको फ्याक्टचेकका क्रममा समाचारमा प्रयोग भएका फोटो यादवका छोरासँग नमिलेको पत्ता लागेको छ । त्यस्तै यादवका छोरा भन्दै भाइरल भइरहेको पहेँलो लुगा लगाएको फोटो पक्राउ परेका युवक ‘प्रेमकुमार महतो’को रहेको खुलेको छ ।
दाबी
१२ वैशाखमा बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली काङ्ग्रेसका सहमहामन्त्रीका छोरा १५ चैतको राजावादी आन्दोलनका क्रममा भाटभेटनी लुटपाट गरेको आरोपमा पक्राउ परेको दाबी गरे । अध्यक्ष लिङ्देनका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरीले महामन्त्रीका छोरा पक्राउ गरेपछि उनको वास्तविक परिचय थाहा पायो । र, गृहमन्त्रीको दबाबमा छोडियो । उनले कहीं पनि कुन सहमहामन्त्रीको छोरा भन्ने उल्लेख गरेका थिएनन् ।
त्यही दिन प्रतिनिधिसभा वैठकको लाइभ युट्युब भिडिओमा उनको भनाइ स्पष्ट थाहा पाउन सकिन्छ । हेर्नुहोस् भिडिओ । उनले भनेका छन्, “हामीसँग त रेकर्ड छ, गृहमन्त्रीज्यू । भाटभेटनीको लुटपाटमा सत्तारुट पार्टीको तपाईंको पार्टीको सहमहामन्त्रीका छोरा पक्राउ पर्या छ । किन छोड्नुभो तुरुन्तै ? तपाईंको नेताको छोराले रक्सी लिएर गयो, उसले ल्याएको मान्छेले म रक्सी खान्न, मलाई कपडा काम लाग्छ भनेर कपडा लिएर गयो । पछि थाहा भयो तपाईंको पलिसले पक्रिँदाखेरि भिडिओमा हेरेर पक्रियो । र, पक्रिँदा त नेताको छोरा रहेछ । नेताको छोरालाई छोड्नुभयो । ल्याएको मान्छे छुटेन । पछि यो कुरा सार्वजनिक गर्दिन्छु भन्दाखेरी तपाईंहरूले छोड्नुभयो । त्यसकारण यो सत्यतथ्य सार्वजनिक गर्न जरुरी छ ।”
लिङ्देनको यो भनाइ आएको केही समयमै खबरहबले ‘भाटभटेनी लुटपाटमा पक्राउ परेका थिए कांग्रेस सह-महामन्त्री यादव पुत्र’ शीर्षकको समाचार राखेको थियो । सो समाचारमा सहमहामन्त्रीका महेन्द्र यादवका छोरा पक्राउ परेको उल्लेख छ । त्यसमा सहमहामन्त्रीका छोरा यादवको नाम उल्लेख छैन । हेर्नुहोस् ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र समाचारको स्क्रिनशट । समाचारमा राखिएको फोटोको सन्दर्भ खुलाइएको छैन ।
त्यही दिन बेलुका ७ः४७ मा मधेश प्रदेशबाट सञ्चालित मधेश टुडेलेले सहमहामन्त्री महेन्द्र यादवको फोटो राख्दै उनका छोरा पक्राउ परेको समाचार राखेको थियो । यद्यपि पत्रकार सम्मेलनका क्रममा सहमहामन्त्री यादवले मधेस टुडेले आफ्नो नाम राखेको भन्दै खन्डन गरेपछि उक्त समाचारबाट फोटो र समाचार सामग्री हटेको छ भने त्यसमा सम्पादकीय राखेर समाचार हटाएको जानकारी दिइएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्क र आर्काइभ लिङ्क ।
त्यसपछि शनिबार १३ वैशाख २०८२ मा देशसञ्चारले ‘भाटभटेनी लुटपाटमा संलग्न काँग्रेस सहमहामन्त्री यादवका छोरा, ६ दिन थुनामा राखेर मुद्दा नचलाइ छाडियो’ शीर्षकको समाचार राखेको थियो । हेर्नुहोस् ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट । समाचारमा राखिएको फोटोको सन्दर्भ खुलाइएको छैन ।
तथ्यजाँच
टेकपाना फ्याक्टचेकले ‘सहमहामन्त्री छोरा पक्राउ’ भन्ने कीवर्ड फेसबुक, एक्स र टिकटकमा सर्च गर्यो । त्यस क्रममा देशसञ्चार र खबरहबले समाचारमा राखेका फोटोलाई लिएर फेसबुक, एक्स तथा टिकटक प्रयोगकर्ताले सहमहामन्त्रीका छोरा भन्दै पहेँलो लुगा लगाएर हातमा बियरका बोतल समाएका युवकको फोटो एउटा फोटो, कालो लुगा लगाएर हातमा रेड लेबल समाएको अर्का युवकको फोटो र निलो लुगा लगाएर हातमा कालो बक्स च्यापेको अर्को एक गरी तीन ओटा फोटो सहमहामन्त्रीका यादवका छोराको भन्दै भाइरल राखेको पाइयो । त्यस्ता पोस्ट यहाँ, यहाँ, यहाँ क्लिक हेर्न सकिन्छ । आर्काइभ भर्सनका लागि यहाँ, यहाँ, यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ ।
राप्रपा अध्यक्ष लिङ्देनले काङ्ग्रेस सहमहामन्त्रीका छोरा मात्र भने पनि समाचार माध्यमले काङ्ग्रेस सहमहामन्त्री महेन्द्र यादवका छोरा पक्राउ परेको दाबी गरे । तर, कुन छोरा र उनको नाम के भन्ने खुलाएका थिएनन् । भाटभटेनी लुटपाट प्रकरणमा आफ्नो नाम जोडेको भन्दै शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ राख्दै सहमहामन्त्रीका कान्छा छोरा डा. विकास यादवले आरोपको खण्डन गरेका थिए ।
उनले भिडिओमार्फत आफ्ना दाजु डा. आकाश यादव एमडी अध्ययनको सिलसिलामा भारत रहेको र आफू एमडी तयारीको सिलसिलामा घरमै बसी अध्ययन गरिरहेको बताएका थिए । “चैत १५ को घटनामा हाम्रो कुनै संलग्नता नरहेको जानकारी गराउन चाहन्छु,” उनले भिडिओ सन्देशमार्फत भनेका थिए । प्रमाण भए सदनबाटै सार्वजनिक गर्न उनले चुनौती दिंदै कारबाहीको माग गरेका थिए । हेर्नुहोस् ओरिजिनल भिडिओ र आर्काइभ भिडिओ ।
आफ्नो नाम जोडेर छोरालाई बदनाम गर्न खोजेको भन्दै सहमहामन्त्री यादवले आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा सम्मेलनमार्फत अध्यक्ष लिङ्देनलाई प्रमाण सार्वजनिक गर्न चुनौती दिएका थिए ।
सहमहामन्त्री यादवले आफ्नो नाम जोडेर पहिलो पटक खबरहबले समाचार राखेको दाबी गरेका छन् । “खबरहब भन्ने काठमाडौंबाट पहिलो न्युज निकाल्यो,” उनले पत्रकार सम्मेलनमा भने, “खबरहबको संवादाता यहाँ को छ मलाई थाहा छैन । खबरहबमा न्युज निस्किसकेपछि खबरहबलाई फोन गरेर सत्यतथ्य समाचार राख्नुस् नत्र गलत न्युज हटाउनुस् भनेर सम्पर्क गर्यो ।” हेर्नुहोस् ओरिजिनल भिडिओ र आर्काइभ भिडिओ ।
काङ्ग्रेस सहमहामन्त्री यादवका छोरा भाटभटेनी लुटपाटका क्रममा पक्राउ परेको दाबीसहितका समाचार आएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार विज्ञप्ति जारी गर्दै खण्डन गरेको थियो । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जारी गरेको विज्ञप्तिमा सहमहामन्त्रीका छोरालाई पक्राउ गरी छोडिएका भन्ने समाचारमा कुनै सत्यता नरहेको उल्लेख छ ।
हामीले सहमहामन्त्रीका छोरा दाबी गर्दै सार्वजनिक भएका विभिन्न फोटो र उनका छोराको फोटो दाँजेर हेर्यौं । तर, कतै पनि ‘रक्सी चोरेका’ भाइरल भिडिओमा देखिएका युवक र सहमहामन्त्रीका छोराको अनुहार मिलेको पाइएन ।
केही सञ्चारमाध्यमसँग कुरा गर्दै स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले आफूसँग सहमहामन्त्रीका छोरा पक्राउ परेको प्रमाण रहेको दाबी गरेका थिए । भाटभटेनीमा ‘रक्सी चोरेको’ भन्दै सार्वजनिक भएका बाहेक दारु चोरेको पुष्टि हुने गोप्य फोटो प्रमाणका रूपमा उनीसँग भएको हुनसक्ने शङ्काको सुविधा दिएर हेर्यौं ।
त्यसका लागि फोटो उपलब्ध गराउने अनुरोधसहित हामीले उनलाई फोन सम्पर्क गर्यौं । तर, उनले फोन काटिदिए । मेसेज पनि पठायौं । तर, यो सामग्री तयार पार्दासम्म कुनै जवाफ आएको छैन । फोटो सार्वजनिक गर्नु भन्दै चौतर्फी आलोचना भइरहँदा अवश्य पनि फोटो सार्वजनिक हुन सक्थ्यो । यसरी नै राप्रपा अध्यक्ष लिङ्देनलाई पनि फोन सम्पर्क र मेसेज पठायौं । तर, उनीबाट पनि कुनै जवाफ आएन ।
दाबी
१५ चैतको राजावादी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटबाट रक्सी चोर्नेमध्येका एक काङ्ग्रेस सहमहामन्त्री महेन्द्र यादवका छोरा भन्दै भाइरल विभिन्न फोटोहरू ।
दाबीकर्ता
खबरहब, देशसञ्चार लगायतका सञ्चारमाध्यम र अन्य फेसबुक पेज तथा प्रयोगकर्ता ।
तथ्य
१५ चैतमा राजधानीको तीनकुनेमा राजावादी समर्थकले गरेको प्रदर्शनीका क्रममा भाटभटेनी सुपरमार्केट लुटपाट हुँदा ‘रक्सी चोर्नेमध्ये’का एक काङ्ग्रेस सहमहामन्त्री महेन्द्र यादवका छोरा भएको भन्दै शनिबारदेखि विभिन्न फोटो भाइरल भइरहेका छन् । तर, भाटभटेनीबाट ‘रक्सी चोरेको’ देखिने कुनै पनि भाइरल फोटोसँग सहमहामन्त्री यादवका दुबै छोराको अनुहार मिल्दैन ।
निष्कर्ष
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई काङ्ग्रेस सहमहामन्त्रीको नाम र उनका छोरा पक्राउ परेको प्रमाण सार्वजनिक गर्न काङ्ग्रेसका नेताहरूले चुनौती दिइरहेका छन् । समाचार माध्यममा नाम आएका सहमहामन्त्री महेन्द्र यादव र उनका कान्छा छोरा विकास यादवले पनि प्रमाण सदनबाटै सार्वजनिक गर्न चुनौती दिएका छन् । तर, प्रतिनिधिसभा बैठकपछि राप्रपा अध्यक्ष लिङ्देनले यस विषयमा थप बोलेका छैनन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवारबाट सांसद् बनेका डा. अमरेशकुमार सिहंले विभिन्न सञ्चारमाध्यमसँग कुरा गर्दै आफूसँग काङ्ग्रेस सहमहामन्त्रीका छोराले भाटभटेनीबाट रक्सी चोरेको भन्ने प्रमाण भएको दाबी गरेका छन् । तर, उनले पनि आफूसँग भएको भन्ने प्रमाण सार्वजनिक गरेका छैनन् । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा काङ्ग्रेस सहमहामन्त्री महेन्द्र यादवका छोरा भन्दै सार्वजनिक भएका कुनै पनि फोटो उनका वास्तविक छोराको अनुहारसँग मेल खाँदैन । त्यसैले सहमहामन्त्री यादवका छोरा भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका फोटो भ्रामक हुन् ।
प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: बैशाख १५, २०८२ २२:११
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ का वडाध्यक्षसहित नौ जना विरुद्ध विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ।
धनकौल गाउँपालिकास्थित कृषि बाटो निर्माणमा रु सात लाख ७९ हजार दुई सय पाँच हिनामिनाको अभियोगमा वडा नं ६ का वडाध्यक्ष श्यामबाबु साहसहित नौ जना विरुद्ध आज आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
उनका अनुसार धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्णमोहन प्रसाद साह, इञ्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौँ मोहम्मद रफिक, सव–इञ्जिनियर शशिरन्जनकुमार सिंह, लेखापाल अभयकुमार साह र उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह र कोषाध्यक्ष सुरतीया कुमारी विरुद्ध आरोपपत्र दायर गरिएको छ।
आर्थिक वर्ष २०८०÷८१ को प्राविधिक इष्टिमेट बमोजिम काम नगरी मिलेमतोमा कामभन्दा बढी खर्च देखाइ तोकिएको शर्त सम्झौता विपरीत फिल्डमा भएको वास्तविक कार्यभन्दा बढी काम गरेको नापी किताब, कार्य सम्पन्न प्रतिवेदनमा देखाई, गलत प्रतिवेदनसमेत दिई झुट्टा बिल भरपाइ बनाइ भ्रष्टाचार गरेको आरोप अख्तियारको छ।
सामाग्री श्रोत :
वडाध्यक्षसहित नौ जना विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर
काठमाडौँ –जनता समाजवादी पार्टी (जसपा) नेपालले पहिचानको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने भएको छ । पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले सुनसरीकोे धरानमा आयोजना गर्न लागेको ‘कोशी नाम र केबलबकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी’ को उद्देश्य पहिचानको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने र पहिचानको आधारमा प्रदेशहरुको पुनः नामाङ्कन गर्ने रहेको बताएका छन् ।
सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशीताको रक्षार्थ सङ्घर्षको थालनीको रुपमा पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रमुख वक्ता र सह–अध्यक्ष रकम चेम्जोङको अध्यक्षता रहने गरी उक्त विचार गोष्ठी गर्न लागिएको बस्नेतल बताए ।
आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला, पिछडा वर्ग, अल्पसंख्यक, पछाडि परेका र पारिएका जाति÷समुदाय र क्षेत्रका जनताको हक, अधिकार सुनिश्चित गर्न तथा विद्यमान सबै किसिमका असमानता, अन्याय, शोषण, उत्पीडन र विभेदको अन्त्यका लागि जसपा नेपालले साङ्गठनिक गतिविधि, अन्तरक्रिया तथा सङ्घर्षका विभिन्न कार्यक्रम गर्ने गरेको उनले बताए ।
नेता रकम चेम्जोङको संयोजकत्वमा गठित आन्दोलन परिचालन तथा समन्वय समितिको आयोजनामा आगामी बैशाख २० गते उक्त गोष्ठी गर्न लागिएको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । इन्टरनेट सेवाप्रदायक वाईफाई नेपाल प्रालिले मासिक ६५४ रुपैयाँ बराबरको लागतमा १०० एमबीपीएस गति भएको नयाँ इन्टरनेट योजना सार्वजनिक गरेको छ ।
हालसम्म ५० एमबीपीएस र ८० एमबीपीएस सेवा प्रदान गर्दै आएको कम्पनीले नयाँ योजना अन्तर्गत डुअल ब्यान्ड राउटरसहितको १०० एमबीपीएस फाइबर इन्टरनेट ल्याएको हो । कम्पनीका अनुसार यो योजना घरपरिवार र साना व्यवसायलाई लक्षित गरी डिजाइन गरिएको छ ।
नयाँ योजनाअनुसार २४ महिनाको अवधिका लागि रु. १५,७०७ शुल्क तिर्दा मासिक ६५४ रुपैयाँ पर्नेछ । १२ महिनाको अवधिका लागि भने रु. ९,४६९ शुल्क निर्धारण गरिएको छ, जसमा मासिक ७९० रुपैयाँ पर्न आउँछ । यो मूल्यमा भ्याट समावेश गरिएको र अन्य कुनै अतिरिक्त शुल्क नलाग्ने कम्पनीले स्पष्ट पारेको छ ।
वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुन विजयारले हालसम्म ७० हजार घरधुरीमा आफ्नो इन्टरनेट जडान भएको जानकारी दिए । “हामी नेपाली समाजको बढ्दो डिजिटल आवश्यकता बुझेर उच्च गुणस्तरको फाइबर इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराएका छौं,” उनले भने ।
पछिल्लो अध्यावधिक: बैशाख १५, २०८२ २१:११
सामाग्री श्रोत :
टेक पाना
जलेश्वर (महोत्तरी)। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संघीयताको मर्म अनुरुप नेपालका सबै प्रदेशमा उचित रुपमा विकासका कार्यक्रम सञ्चालन गरिनुपर्ने बताएका छन्।
मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज बर्दिवासमा आयोजित ‘संघीयतामा पूर्वाधार विकासको महत्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ कार्यक्रममा उनले संविधानमा उल्लेख गरिएको हकअधिकार सदुपयोग हुने गरी सातवटै प्रदेशको विकासमा राज्यको भूमिका हुनुपर्नेमा जोड दिए।
उनले प्रत्येक प्रदेशका विशेषता अनुसारको आआफ्नै समस्या रहेकाले त्यस्ता समस्यालाई राज्यले सम्बोधन गर्नुपर्ने बताए। मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको विशेष पहलमा आज सातवटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीलाई मधेस प्रदेशमा जमघट गराएर विकासका गतिविधि, सम्भावना, चुनौती र अभ्यासहरु साझा गरिएकामा मन्त्री दाहालले खुसी व्यक्त गरे।
सामाग्री श्रोत :
काठमाडौँ – निजी क्षेत्रको संस्था नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई सुझाव दिएको छ ।
आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले आज आयोजना गरेको कार्यक्रममा चेम्बरले औद्योगिक एवं व्यापारिक क्षेत्रमा देखिएका समस्या एवं सुधारको पहलसहित विभिन्न सुझाव दिएको हो । चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपककुमार मल्होत्राले कांग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव हस्तान्तरण गरेका छन् ।
उद्यमी, व्यवसायीको मनोबल खस्किनुको पछाडि विगतका पुराना समस्याको बोझ नै प्रमुख कारण रहेकाले लगानीमैत्री वातावरणका लागि नीतिगत सहजीकरण हुनुपर्ने सुझावमा उल्लेख गरिएको छ । “निजी क्षेत्रको आर्थिक जोखिम बहन क्षमता अत्यन्तै न्यून भएकाले थप जोखिम लिएर नयाँ उद्यम व्यवसाय गर्न बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिन सकिने अवस्था छैन”, सुझावबारे चेम्बरले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
अर्थतन्त्रलाई चलायमान बनाउन चालुपुँजी कर्जा निर्देशिकालाई खारेजी गरिनुपर्ने सुझाव दिएको छ । चालुपुँजी कर्जा निर्देशिकामा रहेका जटिल प्रावधानका कारण बैङ्क तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अधिक भए पनि कर्जा विस्तार हुन नसकेको कार्यवाहक अध्यक्ष मल्होत्राले बताए । व्यक्तिले घरजग्गा तथा अपार्टमेन्ट खरिद गर्दा आयश्रोतको विद्यमान झण्झटिलो व्यवस्थामा सहजीकरण गरिनुपर्नेमा समेत उनले जोडदिएको बताए ।
खस्किँदै गएको घरजग्गा व्यवसायमा सुधार गर्न विदेशी नागरिकलाई पनि अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था आगामी बजेटमा समावेश गर्नुपर्नेमा समेत चेम्बरले सुझाव दिएको छ । यसैगरी कृषिमा परिनिर्भरता घटाउन लगानीमैत्री वातावरण, उत्पादनमुखी नीतिको व्यवहारिक कार्यान्वयन गरिनुपर्ने चेम्बरको जोड छ ।
कृषिमा वैदेशिक लगानी आर्कषित गर्न जग्गामा लाग्दै आएको हदबन्दी हटाउने सुझाव पनि दिइएको छ । यस्तै, जग्गामा हदबन्दी लाग्दा यसले लगानी आर्कषित हुन नसकेको, यान्त्रिकरण र आधुनीकिकरणमा समस्या उत्पन्न भएको चेम्बरको बुझाइ छ । बाँझो जमिन सदुपयोग नीति अङ्गिकार गरेर युवालाई स्वदेशमै रोजगारीको वातावरण सृजना गर्नसमेत चेम्बरले कांग्रेसलाई सुझाव दिएको छ ।
देशमा पर्यटन प्रवर्द्धन गर्न विदेशस्थित नेपाली दूतावासमा वर्षमा कम्तीमा एकपटक नेपाल प्रवर्द्धन कार्यक्रम आयोजना गर्नुपर्ने, मुलुकमा थप भएका दुई वटा अन्तरराष्ट्रिय विमानस्थललाई प्रभावकारी सञ्चालनमा ल्याई बढी पर्यटक भित्र्याउने नीति अवलम्वन गरिनुपर्ने सुझाव समेत दिइएको छ । यस्तै, ऊर्जा विद्येयकमा उल्लेखित प्रावधान, अदालतबाट आएका फैसला र वन मन्त्रालयबाट आएका निर्देशिकाले जलविद्युत् आयोजनाको निर्माणमा गम्भीर चुनौती खडागरेको चेम्बरले उल्लेख गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ