काठमाडौं- निजी मेडिकल कलेजका सञ्चालकहरु आवासीय चिकित्सकलाई सरकारी आठौं तहका मेडिकल अधिकृत सरह निर्वाह भत्ता दिन सकारात्मक भएका छन्।
चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १९औं बैठक बस्नुअघि निजी मेडिकल कलेज सञ्चालकहरु निर्वाह भत्ता दिने विषयमा सकारात्मक देखिएका हुन्।
निर्वाह भत्ताको विषयलाई लिएर देशभरका चिकित्सकहरु आन्दोलनमा छन्। आवासीय चिकित्सकहरुले त सेवा बहिस्कार गरेर सडक आन्दोलन समेत गरिरहेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा देशभरका स्वास्थ्य संस्थामा सेवा अवरुद्ध भएको छ।
आयोगको १९ औं बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्न लागेको छ। आज ११ बजेका लागि बोलाइएको बैठक १२ बजेसम्म पनि बसेको छैन।
आयोगका एक सदस्यका अनुसार बैठकमा निजी मेडिकल कलेजहरुले निर्वाह भत्ता दिने विषयमा सकारात्मक रहेको र कार्यान्वयन गर्ने विषयमा निर्णय गर्ने तयारी रहेको छ।
निजी मेडिकल कलेजहरुको संगठन एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले आवासीय चिकित्सकलाई सरकारी सरह ४८ हजार ७३७ रुपैयाँ दिन तयार भएको जानकारी दिए।
‘हामीले सरकारले निर्णय गरेपछि भर्ना हुनेलाई सरकारी सरह भत्ता दिन्छौं भनेर पहिले नै भनेको हो। निर्णय हुनुभन्दा अगाडिको हकमा भने विचार गर्न सरकारलाई आग्रह गरेका थियौं। तर यसबिचमा धेरै आन्दोलन भयो। त्यही भएर निर्णय हुनुभन्दा पहिले भर्ना भएर अध्ययन गरेकाहरुलाई पनि अब दिनेछौं।’
आजको बैठकमा यसअघि बनाइएको समितिले प्रतिवेदन बुझाउने कार्यतालिका रहेको छ।
सामाग्री श्रोत :
swasthyakhabar

