काठमाडौँ । लोकप्रिय वेब ब्राउजर क्रोममा आज उपलब्ध विशेषता र कार्यक्षमता आफू बाहेक अरू कुनै पनि कम्पनीले दिन नसक्ने गुगलले जनाएको छ । शुक्रबार अमेरिकी न्याय विभागले गुगलविरुद्ध दायर गरेको एकाधिकार विरोधी मुद्दाको सुनुवाइका क्रममा ब्राउजरकी महाप्रबन्धक पारिसा ताब्रिजले वाशिङ्टन सङ्घीय अदालतमा बयान दिँदै क्रोम गुगल बाहेक अरूले सञ्चालन गर्न नसक्ने दाबी गरेकी हुन् ।

गुगलको मातृ कम्पनी अल्फाबेट इङ्कसँगको अन्तर आबद्धताका कारण क्रोम यो अवस्थामामा आइपुगेको उनले सुनाइन् । “आजको क्रोम, यहाँका कर्मचारी र गुगलका बाँकी हिस्साबिच १७ वर्षको सहकार्यको परिणाम हो,” उनले भनिन्, “यसलाई अलग बनाउन खोजे क्रोम अहिले जस्तो छ, त्यस्तो हुने छैन ।”
सेफ ब्राउजिङ मोड, प्रयोगकर्ताको पासवर्ड ह्याक भएमा सूचित गर्ने प्रणाली जस्ता फिचर गुगलको साझा पूर्वाधारमा निर्भर भएको उनले सुनाइन् । उनले अगाडि भनिन्, “क्रोमलाई गुगलबाट अलग्याएपछि यसलाई पुनः सिर्जना गर्न सकिन्छ भन्ने मलाई लाग्दैन ।”
गुगलले सर्च बजारमा अवैध रूपमा एकाधिकार कायम गरेको न्यायाधीश अमित मेहताले गत वर्ष ठहर गरेका थिए । उनैका अघि ताब्रिजले घण्टौँसम्म बयान दिएकी हुन् । अहिले न्यायाधीश मेहताले गुगलले आफ्नो व्यापार अभ्यासमा कस्तो परिवर्तन गर्नुपर्छ भन्ने विषयमा तीन हप्ताको सुनुवाइ गरिरहेका छन् ।

न्याय विभागले गुगललाई क्रोम ब्राउजर बेच्न र सर्च रिजल्ट तयार पार्न प्रयोग गरिने केही डेटाका लागि बाध्य पार्न माग गरेको छ । साथै, गुगललाई आफ्नो सर्च इन्जिन विभिन्न कम्पनीका ब्राउजरमा डिफल्ट सर्च इन्जिन बनाउन गर्दै आएको भुक्तानी पनि रोक्न माग गरिएको छ ।
यो प्रस्तावित प्रतिबन्ध गुगलका एआई प्रडक्ट जेमिनाईमा पनि लागु हुनेछ । जेमिनाईलाई गुगलको अवैध एकाधिकारबाट फाइदा पुगेको सरकारको दाबी छ ।
गुगल क्रोम विश्वको सबैभन्दा लोकप्रिय ब्राउजर हो । यसलाई विश्वभर लगभग ६६ प्रतिशतभन्दा बढी प्रयोगकर्ताले प्रयोग गर्ने गरेको स्ट्याटकाउन्टरको रिपोर्टले देखाएको छ । यो ब्राउजर ओपन-सोर्स क्रोमियम प्रोजेक्टमा आधारित छ । क्रोमियम गुगलले तयार पारेको भए पनि यसले मेटा प्लेटफर्म्स इंक, माइक्रोसफ्ट कर्प र लिनक्स फाउन्डेसन जस्ता अन्य कम्पनीबाट प्राविधिक योगदान लिँदै आएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ २०:१०
सामाग्री श्रोत :
टेक पाना