काठमाडौँ । नेपाल प्रहरीले हालै सार्वजनिक भएको नागरिकको संवेदनशील डेटा प्रहरीको आधिकारिक वेबसाइटबाट नभई प्रहरी चारित्रिक प्रमाणपत्रको अनलाइन फारम भरिदिने साइबर क्याफेबाट लिक भएको दाबी गरेको छ । ह्याकर समूहले प्रहरीको वेबसाइट नै ह्याक गरेको भनी आएको दाबीलाई प्रहरीले खण्डन गरेको हो ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले टेकपानासँग कुरा गर्दै ह्याकरले सार्वजनिक गरेको नमुना डेटा र प्रहरीको प्रणालीमा रहेको डेटा तुलना गर्दा उक्त जानकारी अनलाइन फाराम भरी दिने सेवा प्रदायक (साइबर क्याफे) हरूबाट बाहिरिएको देखिएको बताए ।
“ह्याकरले दाबी गरे अनुसार प्रहरीको वेबसाइटमा पहुँच पाएर डेटा लिक गरेको नभई प्रहरी चारित्रिक प्रमाणपत्रका लागि अनलाइन फाराम भरी दिने साइबरको कमजोरीका कारण त्यो डेटा उनीहरूको हातमा परेको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ,” डीआईजी आचार्यले भने, “हामी यस विषयमा थप अनुसन्धान गरिरहेका छौँ ।”
यसअघि आफूलाई ‘काजु’ नामले चिनाउने एक ह्याकर समूहले ‘डार्क फोरम’ नामक प्लेटफर्ममा नेपाल प्रहरीको वेबसाइट ह्याक गरी २० लाख नागरिकको संवेदनशील डेटा हात पारेको दाबी गरेको थियो । उक्त समूहले सो डेटा सात हजार अमेरिकी डलरमा बिक्रीमा राख्दै प्रमाणको रूपमा ५०० ओटा नमुना डेटासमेत सार्वजनिक गरेको थियो ।

प्रहरीका अनुसार ह्याकरले सार्वजनिक गरेको नमुना डेटा राखिएको लिङ्क हाल निष्क्रिय रहेको छ । हामीले पनि उक्त लिङ्क खोली हेर्दा नमुना डेटा नरहेको पायौँ ।
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार साइबर क्याफेहरूले सर्वसाधारणका लागि प्रहरी चारित्रिक प्रमाणपत्रको आवेदन दिने क्रममा डिस्पोजेबल ईमेल राखेका हुन्छन् । “बाहिर अनलाइन फारम भरी दिने साइबरहरूबाट डेटा गएको देखिन्छ,” ती अधिकारीले भने, “नमुनामा १०० जना जतिको स्याम्पल डेटा थियो । यसअघि धादिङको साइबरबाट पनि सर्वसाधारणको प्रहरी चारित्रिक प्रमाणपत्र ह्याकरले लिएको देखिएको थियो । त्यसमा साइबर वालाले सर्वसाधारणको सबै विवरण कम्प्युटरमा राख्ने र पासवर्ड र ईमेल ब्राउजरमा सेभ गर्ने गरेको थियो । ह्याकरले इन्फोस्टिलर मालवेयर पठाएर त्यसैको सहयोगमा आवश्यक कागजात लिइ लिक गरेको देखिएको थियो । यो घटनामा पनि त्यस्तै प्रवृत्त देखिन्छ ।”
सर्वसाधारणले समेत डिस्पोजेबल ईमेल प्रयोग गर्ने गरेको र ह्याकरले त्यस्ता ईमेल सजिलै आफ्नो पहुँचमा लिने भएकाले लगइन गरी डेटा चोरी गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको समेत ती अधिकारीले दाबी गरे । यस विषयमा थप अनुसन्धान भइरहेको डीआईजी आचार्यले बताएका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ १९:३५
सामाग्री श्रोत :
टेक पाना