काठमाडौँ । नेपाल राष्ट्र बैँकले होलसेल केन्द्रीय बैँक डिजिटल करेन्सी (डब्लूसीबीडीसी) को भर्सन १.०.० प्रणाली विकास गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । आइतबार कायम मुकायम गभर्नर डा निलम ढुङ्गाना तिम्सिनाले एक वक्तव्य सार्वजनिक गर्दै यस बारे जानकारी दिएकी हुन् ।

उनका अनुसार डब्लूसीबीडीसी को पाइलट सञ्चालनका लागि युज केस र डिजाइन क्यारेक्टिस्टिक्स तय गर्ने काम समेत भइसकेको छ । यसका साथै एनआरबी सीबीडीसी प्रणाली तयार गर्नका लागि आधार प्रणालीको रूपमा रहेको एनआरबी सीबीडीसी प्रोटोटाइप बेस भर्सन ०.१.० यस अघि नै तयार भइसकेको छ ।
कामु गभर्नर ढुङ्गानाले नेपाल राष्ट्र बैँकको चौथो रणनीतिक योजना २०२२-२०२५ मा भएको व्यवस्था अनुसार नेपालको सन्दर्भमा अनस्टक्चर्ड सप्लिमेन्ट्री सर्भिस डेटा (यूएसएसडी) मा आधारित भुक्तानी प्रणालीको औचित्य र उक्त प्रणाली सम्बन्धी आवश्यक नियामकीय व्यवस्थालाई समेटेर छुट्टै अध्ययन प्रतिवेदन समेत तयार भएको बताइन् ।
साथै विद्युतीय बैङ्किङ तथा भुक्तानी प्रणालीमा नवप्रवर्तन प्रवर्धन गर्दै नेपालमा बैङ्किङ सेवा थप विस्तार गर्न आईएफसीको सहयोगमा रेगुलेटरी स्यान्डबक्स सम्बन्धी नीतिगत तथा प्रक्रियागत तयारी समेत भइरहेको उल्लेख छ । त्यसैगरी आईएफसीकै सहयोगमा फिनटेक स्ट्राटेजी तर्जुमा गर्ने कार्य समेत अगाडि बढेको कुरा कामु गभर्नरले खुलाएकी छिन् ।

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ १७:२९
सामाग्री श्रोत :
टेक पाना