२०८२ बैशाख १४ आईतवार
LATEST NEWS
२०८२ बैशाख १४ आईतवार

ईभीः सबै ठिक छ, तर बेचेर नयाँ लिउँभन्दा रिसेल भ्यालुले तनाव दिन्छ

सामान्यतया पेट्रोल गाडीहरूको नयाँ मोडेल आउँदा हरेक पल्ट मूल्य एक दुई लाख रुपैयाँ भए पनि बढेर आइरहेको हुन्छ । जसले गर्दा तपाईँको गाडीको डिप्रिसिएसन (प्रयोग गर्दै जाँदा घट्ने मूल्य) त भइरहेको होला, तर नयाँ गाडी महँगो भइसकेको अवस्थामा त्यसले तपाईँको गाडीको रिसेल भ्यालुमा सहयोग पुर्‍याइरहेको हुन्छ ।

यसले गर्दा तपाईँको गाडीको मूल्य एकदमै छिटो छिटो घट्दैन अर्थात् आफ्नो गाडी बिक्री गर्नु पर्‍यो भने त्यति धेरै नोक्सान ब्यहोर्नु पर्दैन । तर ईभीको सन्दर्भ भने अलिक फरक छ । किन भने जब नेपालमा कुनै ईभी सार्वजनिक हुन्छ, भने त्यो एकदमै महँगो मूल्यमा बजारमा आइरहेको हुन्छ । 

अन्तर्राष्ट्रिय बजारमा हेर्ने हो भने ईभीको मूल्य घटेको घट्यै हुन्छ । जस्तै सार्वजनिक हुँदाको बखत कुनै ईभीको मूल्य ४० हजार डलर छ भने त्यस पछिको अवधिमा भाउ घट्दै ३८ हजार, ३६ हजार, ३५ हजार वा ३० हजार हुँदै घटिरहेको हुन्छ ।

जसले गर्दा एक त त्यो ईभीको बजार मूल्य नै घटिसक्यो भन्ने कुरा सबैलाई थाहा भइरहेकै हुन्छ । अन्तर्राष्ट्रिय बजारमा गाडीको मूल्य हेर्दै नहेर्ने मान्छे आजकल हुँदै हुँदैनन् भन्दा फरक नपर्ला । अर्को कुरा कम्पनीले पनि अन्य स्वरूपमा अतिरिक्त लाभ तथा अफरहरू दिन थाल्छ । जस्तै गाडीको ब्याजदरमै कम्पनीले अलिकति व्यहोरी दिने भन्ने हुन सक्छ । यस बाहेक अन्य किसिमका अफर दिने, नगद छुट दिने लगायतका कुराहरू हुन्छन् । 

गाडी सार्वजनिक हुँदा नयाँ गाडीको बजारमा चर्चा र माग राम्रै भइरहेको हुन्छ । त्यसैले मूल्य निश्चित हुन्छ । ‘यो भन्दा हामी घट्दैनौँ’ भनिरहेका हुन्छन् । बिक्रेता वा डिलरको मार्जिन के कति हुन्छ, त्यो उनीहरूले नै जान्ने कुरा होला । तर सार्वजनिक गरिसके पछि भने सामान्यतया सबै जसो ईभीको मूल्य घटेकै छ । नघटेको भनेको एकदमै दुर्लभ छ ।

कि त गाडी बजारमा एकदमै चल्यो र घटाएर बेच्दै बेच्दिनँ भन्ने सोच राख्यो भने बेग्लै कुरा हो । तर बजारमा हेर्ने हो भने त्यस्तो प्रवृत्ति खासै देखिँदैन । एमजीले एमजी फोरको मूल्य घटाएको जस्तो लाग्छ । जीडब्लूएमले ओरा थ्री/ओरा क्याटको मूल्य घटाएकै छ । एमजीले भर्खरै एस ५ सार्वजनिक गर्‍यो, जुन जेड एस ईभी भन्दा सस्तो छ ।

यसरी नयाँ ईभीहरू सस्तो पर्नु भनेको पहिला ईभीमा प्रतिस्पर्धा थोरै थियो । गाडीहरूको मूल्य जति राखे पनि बिक्थे । अर्को भनेको पहिला ईभीहरू अलि महँगा हुन्थे । अब ईभीको मूल्य निरन्तर रूपमा घटिरहेको छ । त्यसलाई ब्यालेन्स गर्ने गरी नेपालमा कर खासै बढेको छैन । निर्माता कम्पनीको तहबाट मूल्य ५०% नै घट्यो होला,  कर १०% बढ्यो होला अथवा कर २०% प्रतिशत नै भयो होला । 

यसरी हेर्दा निर्माण तथा उत्पादन लागत घटिरहेको छ । परिणाम स्वरूप नेपालमा आयात तथा बिक्री वितरण गर्ने बिक्रेतालाई पर्ने मूल्य पनि घटिरहेकै छ । अनि उनीहरूले विभिन्न स्वरूपमा लाभ तथा अफर दिइरहेका हुन्छन् । अथवा नयाँ भर्सन ल्याउँदा नाम अलिकति परिवर्तन गरेर केही सस्तोमा गाडी सार्वजनिक गर्छन् । त्यसो हुने बित्तिकै अगाडि किन्ने सुरुवाती ग्राहकहरूलाई भने आफ्नो गाडी एकदमै छिटो डिप्रिसिएट भएको महसुस हुन्छ । 

जस्तै मेरै गाडी (दिपल एस ०७) सार्वजनिक हुँदा यसको मूल्य ७२ लाख रुपैयाँ थियो । अहिले एमआरपी ७५ लाख भइसक्यो । तर सेकेन्ड ह्यान्ड मार्केटमा यो गाडीको मूल्य भनेको ५५/५६ देखि ५७/५८ लाख होला । अहिले सेकेन्ड ह्यान्डमा यो गाडी बेच्दा ६० लाखसम्म पनि आउँदैन । 

गाडीले अहिलेसम्म कहीँ छोएको पनि छैन, एउटा सानो स्क्र्याच पनि छैन । तल मुनिको भागमा कहीँ छोयो होला । तर बाहिर एक्सटेरियरमा कहीँ केही क्र्‍याच छैन । बरु कतिपय अतिरिक्त सामानहरू यसमा थपेको छु । जस्तै मैले बाहिरबाट कोटिङ गरेको छु । यहाँ भित्रका एक्सेसरिज थपेको छु । तर पनि एक वर्ष चलाएर यो गाडी बेच्नु पर्दा एमआरपी भन्दा १७/१८ लाख कम मूल्यमा दिनुपर्ने हुन्छ ।

ईभीमा हुने इन्धन बचत VS डिप्रिसियसन

जब कि हामीले पेट्रोलभन्दा ईभी खरिद हामीलाई हुने एउटा फाइदा भनेको चलाउँदा खपत हुने पेट्रोल/इन्धन बचत हो । यो ईभी लिएपछि त्यो पेट्रोल अथवा डिजेलको पैसा बचत हुन्छ । अनि अर्को सर्भिसिङको पैसा जोगिन्छ । फाइदा भनेको यत्ति हो । अब भोलिको दिनमा गाडी बेच्नु पर्‍यो भने यी फाइदाका कुरा सबै चिन्ताको विषय बन्ने रहेछन् । 

जस्तै मैले पहिला पेट्रोल गाडी चलाउँदा सरसामान फेर्दा, सर्भिसिङ गर्दा वर्षमा त्यसको मेन्टेनेन्समा लगभग लगभग ५० हजार चानचुनको खर्च आउँथ्यो । अर्कातर्फ मेरो पेट्रोलको खर्च भनेको वर्षको लगभग लगभग डेढ लाख हाराहारी हुन्थ्यो । यसरी त्यो गाडी चलाउँदा वर्षको दुई लाख जति मेरो खर्च थियो । 

अब त्यो गाडीसँग यो ईभीलाई तुलना गर्ने हो भने मेरो मेन्टेनेन्स खर्च लगभग शून्य छ । अहिलेसम्म मैले यसलाई एकचोटि सर्भिसिङमा लगेको छु । उहाँहरूले मोटर आयल फेर्ने भन्नुभयो, खासमा यो गाडीमा मोटर आयल पनि त्यति चाँडो फेर्नु पर्दैन थ्यो । तर ठिकै छ, नयाँ गाडी हो, फेरिदिउँ भनेँ । मोटर आयल फेर्दा ५ हजार रुपैयाँ जति लाग्यो होला ।

त्यस बाहेक अरू सर्भिसिङ भन्ने कुरा केही पनि हुँदैन । न त यसमा केही मुभेबल पार्ट्स नै हुन्छन् । अगाडि इलेक्ट्रोनिकल पार्ट्सहरू छन्, अनि पछाडि मोटर छ । केही एक्सलहरू होलान्, जुन मेन्टेन गर्नुपर्ने हुन सक्छ ।

ब्याट्री भनेको आफैँ ‘अटो मेन्टेन’ हुने भएकाले बिग्रियो भने मात्रै रिप्लेस गर्नुपर्छ, त्यो पनि इन्डिभिजुअल सेलहरू । अब गाडी चार्ज गर्न आवश्यक विद्युत्‌को खर्च खासै छैन । मेरो गाडीमा ६६ किलोवाट आवरको ब्याट्री छ । इफिसेन्सी शतप्रतिशत नभएर केही कम होला । यसरी हिसाब गर्ने हो भने ७० युनिट बिजुलीले यसलाई शून्यदेखि फुल चार्ज गर्न सकिन्छ । ७० युनिट बिजुलीको खर्च भनेको त्यही ७/८ सय रुपैयाँ होला । मैले फुल चार्जमा यो गाडी ३०० देखि ४०० किलोमिटर कुदाउँछु  ।

त्यति नै कुदाउनु परेको भए मलाई पेट्रोल गाडीमा कतिको खर्च लाग्थ्यो होला ? मेरो विचारमा चानचुन ४० लिटर पेट्रोल लाग्थ्यो । त्यो पेट्रोलको मूल्य यो ईभीको बिजुली खर्च भन्दा त १० गुणा धेरै नै आउँछ होला । यस हिसाबले विद्युत्‌बाट जुन खर्च कम भएर हाम्रो बचत भइरहेको हुन्छ, पछि गएर घाटाको विषय बन्ने रहेछ ।

त्यो सबै कहाँ गएर घाटा हुने रहेछ भने पछि जब यो गाडीलाई हामीले बेच्नु पर्छ । किनभने आजकलका ईभी भनेको हामीले चलाउने मोबाइल ग्याजेट जस्तै हुन् । हामीलाई फेरिरहनु पर्छ, नयाँ नयाँ फिचरहरू आइरहेका हुन्छन् । जस्तै प्रोसेसरकै कुरा गर्ने हो भने यसमा स्नापड्रागनको ८१५ छ । त्यो २०२१ मा लन्च भएको मोडेल हो ।

त्यतिखेरका लागि उक्त चिप नयाँ थियो होला । तर सन् २०२३ मा स्नापड्रागनको २९५ आयो । २०२५ मा फेरि त्यसको अर्को मोडेल आउला । यसरी प्रोसेसर पनि समयसँगै आउटडेटेड हुँदै जान्छ । यसमा र्‍याम १२ जीबी छ, भोलिको दिनमा सायद १२ जीबीले नपुगेर ३२ जीबी चाहिएला । त्यो विषयमा पनि यो आउटडेटेड हुँदै जाने भयो । यसरी अन्ततः यसको इन्टरफेस पनि स्लो फिल हुन थाल्छ । 

अर्कोतर्फ उता बजारमा नयाँ गाडीहरू आइरहेका हुन्छन् । जुन अझै फास्ट हुन्छन् । नयाँ-नयाँ फिचरहरू आइरहेका हुन्छन् । कम मूल्यमा थप राम्रा गाडी पाइन थाल्छन् । अनि यो गाडी पुरानो लाग्दै जान्छ । अर्को गाडी किन्न मन लाग्छ, अनि हामीले यो पुरानो गाडी बेच्छौँ । 

एक वर्षमै यो गाडीमा मलाई १५-२० लाख रुपैयाँ डिप्रिसिएसन भएको महसुस भइरहेको छ । अब यो गाडी अझै एक वर्ष वा दुई वर्ष अरू कुदाएँ भने सायद अझ धेरै डिप्रिसिएट हुन्छ होला । त्यस्तोमा सेकेन्ड ह्यान्ड बजारमा बेच्दा यसको ५० लाख रुपैयाँ पनि नआउला । भोलिको दिनमा बजारमा ५० लाखमै यो भन्दा राम्रो गाडी पाइन सक्छ । 

यसरी गाडीको रिसेल भ्यालुमा जति नोक्सान हुँदै जान्छ, त्यसलाई वर्षको दुई लाखको इन्धन बचतले धान्न नसक्ने रहेछ । 

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ ११:२५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट