२०८२ बैशाख १४ आईतवार
LATEST NEWS
२०८२ बैशाख १४ आईतवार

सामाजिक सञ्जाल प्रतिबन्ध गर्न सरकार स्वेच्छाचारी बनेको भन्दै ११ नागरिक संस्थाले दिए चेतावनी

काठमाडौँ । सामाजिक सञ्जाललाई सात दिने अल्टिमेटम दिई प्रतिबन्ध लगाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको मनसायप्रति डिजिटल फ्रिडम कोलिसनले गम्भीर चिन्ता व्यक्त गरेको छ । नेपालको संवैधानिक र अन्तर्राष्ट्रिय दायित्वहरूको पालना नगरी सरकारले सामाजिक सञ्जाल सेवा प्रदायकहरूलाई प्रतिबन्ध लगाउने तयारी थालेको भन्दै कोलिसनले आपत्ति जनाएको हो । 

“यस्ता कार्यहरूमा पारदर्शिता र सार्वजनिक परामर्शको अभाव छ, जसले स्वेच्छाचारी निर्णय प्रक्रियाको बारेमा गम्भीर खतराको घण्टी बजाएको छ र यस्तो कदमले डिजिटल स्वतन्त्रतालाई गम्भीर रूपमा असर गर्न सक्छ,” कोलिसनले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेको छ । “नागरिकको अधिकारलाई असर गर्ने नियामक उपायहरूले संवैधानिक सिद्धान्त र लोकतान्त्रिक मान्यताहरूसँग अनुकूलता सुनिश्चित गर्दै विस्तृत विधायिकी परीक्षण हुनु जरुरी छ ।”

सामाजिक सञ्जाल प्लेटफर्महरू अभिव्यक्ति स्वतन्त्रतालाई बढावा दिन, भेला हुने अधिकारलाई सक्षम पार्न र लोकतान्त्रिक अधिकारहरूको प्रयोग गर्न अपरिहार्य माध्यम बनेका छन् । तिनीहरूले नेपालको डिजिटल अर्थतन्त्रलाई अगाडि बढाउन, व्यक्तिहरूलाई सक्षम बनाउन र सीमान्तकृत समुदायहरूको आवाजलाई बुलन्द गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । प्रतिबन्ध लगाउने सरकारको प्रयासले यी महत्त्वपूर्ण उपलब्धिहरूलाई जोखिममा पार्ने भन्दै कोलिसनले चिन्ता व्यक्त गरेको हो । 

सामाजिक सञ्जालमा गरिने यस्ता प्रतिबन्धात्मक कदमहरूले सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको दायरामा प्रतिकूल प्रभाव पार्दै प्रभावकारी लोकतन्त्रका आधारभूत मान्यतामा दीर्घकालीन नकारात्मक असर पार्नेछ । “यी नियन्त्रणहरूले सञ्चार माध्यमहरूको दिगोपनलाई पनि खतरामा पार्छ, पत्रकारहरूलाई स्वतन्त्र रूपमा रिपोर्ट गर्न गाह्रो बनाउँछ र सेन्सरशिपको जोखिम बढाउँछ,” विज्ञप्तिमा भनिएको छ । 

सामाजिक सञ्जाल प्लेटफर्महरू माथि प्रतिबन्ध लगाउँदा डिजिटल अर्थतन्त्र, रोजगारी र इन्टरनेट सेवाहरूको समग्र गुणस्तर र लागतमा दूरगामी नकारात्मक असर पर्नेछ । साना, मझौला वा ठुला उद्यमहरू लगायत लगभग सबै व्यवसायहरू मार्केटिङ, ग्राहक संलग्नता, बिक्री, अनलाइन सपोर्ट लगायतका कार्यका लागि सामाजिक सञ्जालमा निर्भर छन् । यी व्यवसायहरूले ठुलो परिचालन अवरोधहरू भोग्ने अवस्था निम्तिने उल्लेख गर्दे कोलिसनले त्यसको परिणामस्वरूप डिजिटल मार्केटिङ, कन्टेन्ट क्रियसन, अनलाइन व्यापार र ग्राहक सेवा जस्ता क्षेत्रहरूमा व्यापक रोजगारी गुम्ने बताएको छ ।

‘सामाजिक सञ्जालको प्रयोगलाई  व्यवस्थापन गर्ने निर्देशिका, २०८०’ अन्तर्गत प्लेटफर्महरूमा प्रतिबन्ध लगाउने सरकारको चेतावनीले नागरिकको सूचनामा पहुँच र अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई सीमित गर्नेछ । “संसदीय कानुनको अभावमा ल्याइएको निर्देशिकाले सुरुदेखि नै सरोकारवालाहरूको चिन्ता बढाएको छ,” कोलिसनले अगाडि भनेको छ, “सरोकारवालाहरूसँग अर्थपूर्ण परामर्श बिना यी निर्देशिकाहरूको कार्यान्वयनले पारदर्शिता र जवाफदेहीताको सिद्धान्तको उल्लङ्घन गर्दछ । नागरिकको अधिकारलाई असर गर्ने कुनै पनि कानून संवैधानिक जनादेश र विधायिकी प्रक्रियाहरूसँग मिल्नुपर्छ । स्वेच्छाचारी प्रशासनिक कार्यहरूले नेपाली नागरिकहरूको संवैधानिक अधिकारलाई हनन गर्नु हुँदैन ।”

कोलिसनका अनुसार सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध वा अनुचित प्रतिबन्धले नागरिक सहभागितालाई कमजोर बनाउनेछ, लोकतान्त्रिक अभ्यासहरूलाई निरुत्साहित गर्नेछ र अभिव्यक्ति र भेला हुने नागरिकहरूको अधिकारलाई कमजोर पार्नेछ । सबै सरोकारवालाहरूलाई यी अधिकारहरूको संरक्षणलाई प्राथमिकता दिन र स्वतन्त्र, खुला तथा समावेशी डिजिटल वातावरण निर्माणका लागि सहकार्य गर्न आग्रह गरिएको छ । साथै सरकार, सामाजिक सञ्जाल प्लेटफर्म प्रदायक लगायतका सम्बन्धित पक्षहरूलाई ३ बुँदे आग्रह समेत कोलिसनले अगाडि सारेको छ । जसमा अभिव्यक्ति स्वतन्त्रता र डिजिटल अधिकारहरूको संरक्षणसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन, प्रतिबद्धता र अभ्यासहरूको सम्मान गर्न तथा पारदर्शिता लाई कायम राख्न माग गरिएको छ ।

साथै सामाजिक सञ्जाललाई नियमन गर्ने कुनै पनि कानुनी संरचना समावेशी परामर्शको माध्यमबाट विकसित गरिएको र संवैधानिक र अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गरिएको सुनिश्चित गर्न समेत अनुरोध गरिएको छ । यसैगरी कोलिसनले लोकतान्त्रिक मूल्य, नागरिक सहभागिता र मौलिक अधिकारहरूको अभ्यासमा खतरा पर्ने कुनै पनि कार्य नगर्न सचेत समेत गराएको छ ।

डिजिटल फ्रिडम कोलिसन ११ ओटा नागरिक संस्थाहरूको साझा समूह हो । जसले नेपालमा डिजिटल अधिकार र स्वतन्त्रताको संरक्षणको क्षेत्रमा काम गरिरहेको छ । यो सङ्गठनले डिजिटल स्पेस माथि नियन्त्रण र यसको लोकतान्त्रिक मूल्य तथा स्वतन्त्रतामा पार्ने प्रभाव सम्बन्धी चासोलाई संयुक्त रूपमा सम्बोधन गर्दै आएको छ र प्रत्येक वर्ष डिजिटल अधिकार महोत्सवको आयोजना गर्दै आएको छ ।

कोलिसन सदस्य संस्था र प्रतिनिधि















तारानाथ दाहाल

फ्रिडम फोरम नेपाल

लक्ष्मणदत्त पन्त

मिडिया एक्सन नेपाल

रोशन पोखरेल

इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट

प्रवेश सुवेदी

डिजिटल मिडिया फाउन्डेसन

राजन पराजुली

एन्टेना फाउन्डेसन नेपाल

सुरज अधिकारी

फोरम फर डिजिटल इक्वालिटी

आनन्द गौतम

युथ आईजीएफ नेपाल

आशीर्वाद त्रिपाठी

इन्टरनेट सोसाइटी नेपाल च्याप्टर

विनोद बस्नेत

एजुकेटिङ नेपाल

सुस्मीरा अर्याल

अपाङ्गता अधिकारका लागि महिला समूह

सञ्जीव घिमिरे

मिडिया लयर्स एसोसिएसन

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ ९:५६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट