काठमाडौँ । अहिले बजारमा आईफोन १६ सिरिज र त्यसअगाडि सार्वजनिक भएका अन्य मोडेल उपलब्ध छन् । यदि तपाईं आईफोन १६ खरिद गर्ने वा १७ पर्खिने भन्ने दोधारमा हुनुहुन्छ भने यो सामग्री तपाईंका लागि उपयुक्त हुन सक्छ ।

यहाँ आईफोन १७ सिरिजका बारेमा बजारमा चलेका हल्ला (र्युमर्स) र सम्भावित फिचरको चर्चा गरिएको छ । आईफोन १७ सिरिज सन् २०२५ को मध्य सेप्टेम्बरतिर सार्वजनिक हुने अपेक्षा छ ।
१. नयाँ ‘आईफोन १७ एयर’ मोडेल
द इन्फर्मेसनको रिपोर्टअनुसार एप्पलले ‘निकै पातलो’ डिजाइनसहितको नयाँ आईफोन १७ मोडेल ल्याउने योजना बनाएको छ । त्यसलाई कम्पनीले ‘आईफोन १७ एयर’ नाम दिने चर्चा छ । एप्पल विश्लेषक मिङ-ची कुओका अनुसार यो मोडेल अन्य आईफोनभन्दा भिन्न डिजाइनको हुनेछ । खासगरी यसको पछाडिपट्टिको क्यामेराको भाग ठाडो नभएर तेर्सो हुनेछ । त्यस्तै यसमा अन्य आईफोन मोडेलभन्दा सानो डाइनामिक आइल्यान्ड हुनेछ ।

कुओका अनुसार यो ५.५ एमएम पातलो हुनेछ र यसले हालको ‘प्लस’ मोडेललाई प्रतिस्थापन गर्ने सम्भावना छ । अर्थात् आईफोन १७ प्लस नभई उक्त मोडेलको नाम आईफोन १७ एयर हुनेछ । यसमा ६.६ इन्चको डिस्प्ले, एल्युमिनियम चेसिस, ए१९ चिप, सी वान मोडेम, एक्सन बटन, क्यामेरा कन्ट्रोल बटन र २४ मेगापिक्सेलको फ्रन्ट क्यामेरा हुने हल्ला छ ।
२. एल्युमिनियम डिजाइन (सबै मोडेलमा)
विभिन्न रिपोर्टअनुसार एप्पलले आईफोन १७ लाइनअपका सबै मोडेलमा एल्युमिनियम फ्रेम प्रयोग गर्ने योजना बनाएको छ । यसले प्रिमियम प्रो मोडेलमा पनि एल्युमिनियम फ्रेम उपलब्ध गराउनेछ । पछिल्ला वर्षहरूमा एप्पलले आईफोन एसईजस्ता लोअर एन्ड फोनमा मात्र एल्युमिनियम फ्रेम उपलब्ध गराउँदै आएको थियो । प्रिमियम मोडेलमा कम्पनीले आईफोन १५ प्रोसम्म स्टेनलेस स्टिल फ्रेम प्रयोग गर्दै आइरहेको थियो । पछि कम्पनीले टाइटानियम चेसिसको सुरुवात गर्यो । अब भने आईफोन १७ सिरिजका सबै मोडेलमा एल्युमिनियम फ्रेम हुने बताइएको छ ।
३. क्यामेरा डिजाइनमा परिवर्तन (प्रो र प्रो म्याक्स)
आईफोन १७ प्रो मोडेलमा क्यामेरा मोड्युलमा ठूलो परिवर्तन देखिनेछ । हालको वर्गाकार क्यामेरा बम्पको सट्टा फोनको चौडाइभरि फैलिएको एल्युमिनियम क्यामेरा बार हुनेछ । पछाडिको माथिल्लो आधा भाग एल्युमिनियम र तल्लो आधा भाग वायरलेस चार्जिङका लागि ग्लास नै रहने बताइएको छ । यो नयाँ क्यामेरा डिजाइन आईफोन १७ को बेस मोडेलमा उपलब्ध हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन ।
४. नयाँ डिस्प्ले साइज (आईफोन १७ र १७ एयर)
गत वर्ष आईफोन १६ प्रो र १६ प्रो म्याक्समा ठूलो डिस्प्ले साइज देखिएको थियो । आईफोन १५ को प्रोमा ६.१२ इन्चको डिस्प्ले थियो भने आईफोन १६ को त्यही मोडेलमा ६.२७ इन्च थियो । त्यस्तै आईफोन १५ प्रो म्याक्समा ६.६९ इन्चको डिस्प्ले थियो भने १६ प्रो म्याक्समा बढाएर ६.८६ इन्च पुर्याइएको थियो । २०२५ मा सार्वजनिक हुने आईफोन १७ मा पनि यही प्रवृत्तिलाई कम्पनीले निरन्तरता दिने देखिएको छ ।
५. १२० हर्ज प्रोमोशन डिस्प्ले (सबै मोडेलमा)
सन् २०२५ मा एप्पलले सबै आईफोन १७ मोडेलमा १२० हर्ज रिफ्रेस रेटसहितको प्रोमोशन डिस्प्ले ल्याउने चर्चा छ । यसले गर्दा आईफोन १७ का सबै मोडेलमा स्मुथ स्क्रोलिङ र स्तरीय क्वालिटीमा भिडिओ कन्टेन्ट हेर्न सकिनेछ । यो डिस्प्ले भएपछि फोनमा अल्वेज अन डिस्प्ले (Always-on Display) फिचर पनि उपलब्ध हुनेछ । अल्वेज अन डिस्प्लेले कमभन्दा कम रिफ्रेस रेट प्रयोग गरेर लक स्क्रिन, नोटिफिकेसन र वालपेपर देखाउँछ ।
६. एप्पलले डिजाइन गरेको वाई-फाई ७ चिप (प्रो र प्रो म्याक्स)
एप्पलको प्रिमियम आईफोन १७ प्रो मोडेलमा पहिलो पटक एप्पलले नै डिजाइन गरेको वाई-फाई ७ चिप प्रयोग हुने अपेक्षा छ । यसले २.४ गिगाहर्ज, ५ गिगाहर्ज, ६ गिगाहर्ज ब्यान्डबाट एकैसाथ डेटा पठाउने र पाउने भएकाले वाई-फाई स्पिड फास्ट हुनेछ भने कम ल्याटेन्सी र थप विश्वसनीय कनेक्टिभिटीको अनुभव गर्न पाइनेछ ।
पछिल्लो अध्यावधिक: बैशाख १३, २०८२ २३:१४
सामाग्री श्रोत :
टेक पाना