काठमाडौँ । गुगलले आफ्नो सर्च इन्जिनमा ‘एआई ओभरभ्यु’ फिचर ल्याएको करिब एक वर्षपछि यो सुविधा युट्युबमा पनि परीक्षण गर्न थालेको छ । हालै एक ब्लग सार्वजनिक गर्दै कम्पनीले यसबारे जानकारी दिएको हो ।

गुगल सर्चमा मिश्रित प्रतिक्रिया पाइरहेको ‘एआई ओभरभ्यु’ फिचरलाई थप विस्तार गर्ने योजना अनुसार युट्युबमा यसको परीक्षण थालिएको कम्पनीले जनाएको छ ।
ब्लगअनुसार युट्युबले अहिले आफ्नो प्लेटफर्ममा ‘एआई ओभरभ्यु’ परीक्षण गरिरहेको छ । यो नयाँ फिचरले प्रयोगकर्ताले खोजेको प्रश्नको आधारमा एआई प्रयोग गरी सान्दर्भिक भिडिओ खोज्नेछ । र, सबैभन्दा मिल्दाजुल्दा क्लिपलाई ‘भिडिओ रिजल्ट्स’ क्यारोसेल अन्तर्गत देखाउँछ ।
युट्युबका अनुसार ‘केही निश्चित प्रश्न राखिसकेपछि’ मात्र यो फिचर देखा पर्नेछ । अर्थात् तपाईंले कुनै विशेष क्रियटरको विशेष भिडिओ खोज्दै हुनुहुन्छ भने यो फिचरले काम गर्ने छैन । तर, एउटै प्रश्नका लागि मिश्रित भिडिओ देखिने अवस्था छ भने त्यस्तोमा यो फिचर देखा पर्नेछ ।

उदाहरणका लागि, ‘सबैभन्दा उत्कृष्ट न्वाइज क्यान्सिलेसन हेडफोन’ भनेर युट्युबमा सर्च गर्नुभयो भने एआईले तपाईंको जानकारी अनुसार सबैभन्दा सान्दर्भिक भिडिओ खोजेर शीर्ष स्थानमा देखाउनेछ ।
युट्युबले एआई ओभरभ्युलाई ‘सामग्री पत्ता लगाउने अर्को तरिका’ र सर्चसँग सम्बन्धित विषय र जानकारी पत्ता लगाउने माध्यमको रूपमा व्याख्या गरेको छ ।
यो गुगल सर्चमा देखिने एआई ओभरभ्युभन्दा फरक हुने बताइएको छ । गुगल सर्च एआई ओभरभ्युले खोजिएको जानकारीको शब्दको सारांशका रूपमा देखाउँछ । युट्युब भिडिओ प्लेटफर्म भएकाले टेक्स्टको सट्टा सान्दर्भिक भिडिओ क्लिप्स देखाउनु स्वाभाविक देखिन्छ ।
युट्युबले एआई फिचर प्रयोग गरेको यो पहिलोपटक भने होइन । केही महिनाअघि अमेरिकाका युट्युब प्रिमियम प्रयोगकर्ताका लागि कुराकानी गर्न मिल्ने एआई टुल ल्याइएको थियो । उक्त टुलले प्रयोगकर्तालाई हेरिरहेको भिडिओबारे प्रश्न सोध्न वा अन्य भिडिओ सिफारिस प्राप्त गर्न सघाउँछ ।
गुगल सर्चमा एआई ओभरभ्यु आएको एक वर्ष भइसक्दा पनि यसले सबै प्रयोगकर्ताको मन जित्न सकेको छैन । कतिपय अवस्थामा यसले दिने जानकारी भ्रामक तथा मिथ्या हुने, प्रयोगकर्ताको वास्तविक प्रश्नलाई सम्बोधन नगर्ने र कन्टेन्ट क्रियटर तथा वेबसाइटको मेहनतलाई अवमूल्यन गर्ने जस्ता आलोचना हुँदै आएका छन् ।
युट्युबको एआई ओभरभ्युमा पनि यस्तै चुनौती देखिनसक्ने अनुमान गरिएको छ । अहिले युट्युबको एआई ओभरभ्यु अमेरिकाका सीमित सङ्ख्याका युट्युब प्रिमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । त्यस्तै यो फिचर अङ्ग्रेजी भाषाका केही निश्चित सर्च रिजल्टमा मात्र देखाइएको छ ।
यो फिचर चित्त नबुझेको अवस्थामा गुगल सर्चमा जस्तै प्रयोगकर्ताले सिधै बन्द गर्ने नसक्ने बताइएको छ । यद्यपि युट्युबले यस फिचरबारे विस्तृतमा जानकारी दिइसकेको छैन ।
पछिल्लो अध्यावधिक: बैशाख १३, २०८२ १५:५६
सामाग्री श्रोत :
टेक पाना