२०८२ बैशाख १४ आईतवार
२०८२ बैशाख १४ आईतवार

सामसङको सबैभन्दा पातलो फोन ‘एस २५ एज’, यस्ता छन् लिक भएका फिचरहरू

काठमाडौँ । सामसङले ​पछिल्लो फ्ल्यागशिप सिरिज एस २५ सार्वजनिक गर्दैगर्दा विश्वभरका स्मार्टफोन पारखीलाई एउटा डेमो फोन देखाएर चकित पारेको थियो । ‘एस २५ एज’ नाम दिइएको उक्त मोडेल सामसङको अहिलेसम्मकै पातलो फोन हुने दाबी गरिएको थियो । 

कार्यक्रममै उपस्थित भएका टेक रिभ्युअर तथा स्मार्टफोन पारखीले त्यो फोन छुन पाएका थिएनन् । अहिले त्यही सामसङ एस २५ एजका विभिन्न फिचर लिक भएका छन् ।

चर्चित लिकस्टर इभान ब्लासले एक्समा पोस्ट राख्दै फोनमा उपलब्ध हुने फिचरबारे जानकारी दिएका छन् । उनले राखेको पोस्टमा एस २५ एको फोटो, कम्पनीको प्रेस विज्ञप्ति (औपचारिक रूपमा सार्वजनिक नभइसकेको) लगायतका जानकारी छन् । पोस्ट अनुसार ग्यालेक्सी एस २५ एजमा टाइटानियम फ्रेम हुनेछ भने फोनको सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास सेरामिक्स टु ब्याक हुनेछ । 

त्यस्तै यसमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा हुनेछ । यस मोडेलको चौडाइ ५.८ एमएम हुनेछ भने तौल १६३ ग्राम हुनेछ । यही चौडाइ हुने हो भने यो फोन सामसङको अहिलेसम्मकै सबैभन्दा पातलो फोन हुनेछ ।

यसको डिस्प्ले साइज भने एस २५ प्लस जत्तिकै हुनेछ । यसअघि सामसङले पातलो फोनका रूपमा २०१४ मा ग्यालेक्सी अल्फा सार्वजनिक गरेको थियो । यो फोन अहिलेको ग्यालेक्सी एस २५ को बेस मोडेल जत्तिकै पातलो थियो । 

एस २५ एज पातलो भएपनि यो उत्तिकै बलियो हुने र दैनिक प्रयोगका क्रममा हुने सामान्य किसिमका ठक्कर सहजै सहन सक्ने जनाइएको छ । मल्टिटास्किङ (एकै पटक धेरै एप र फिचर प्रयोग गर्न सकिने), गेमिङ र स्ट्रिमिङमा पनि फोनले उत्तिकै स्तरीय पर्फमेन्स दिने दाबी छ ।

यसमा स्न्यापड्रागन ८ एलिट प्रोसेसर हुनेछ, जसले ब्याट्रीलाई लामो समयसम्म टिकाइराख्न मद्दत गर्नेछ ।

यो मोडेल सामसङको पछिल्लो यूआई वन यूआई ७.० मा सञ्चालित हुनेछ भने यसमा ग्यालेक्सी एआई फिचर पनि हुनेछन् । १२ जीबीसम्म र्‍याम हुने फोन २५६ जीबी र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ ।

यस फोनको २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य १५ लाख कोरियन वन (करिब १०४९ अमेरिकी डलर) र ५१२ जीबी भेरियन्टको मूल्य १६ लाख ३० हजार कोरियन वन (करिब ११४० अमेरिकी डलर) हुने अनुमान छ । यो दक्षिण कोरियामा लागु हुने मूल्य हो । अन्य देशमा फोन केही महँगो हुने बताइएको छ । 

सामसङबारे विशेष जानकारी दिने प्लेटफर्म साम मोबाइलका अनुसार ग्यालेक्सी एस २५ एज आधिकारिक रूपमा १३ मेमा दक्षिण कोरियामा सार्वजनिक हुनेछ । दक्षिण कोरिया र चीनमा यो फोन २३ मेदेखि बिक्री हुनेछ भने अमेरिकाका सामसङ स्टोरमा ३० मेमा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८२ १३:५८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट