काठमाडौँ । अब विदेशमा रहेका नेपालीहरूले आफ्ना आमाबुबा वा आफन्तको लागि विदेशमै बसेर पनि स्वास्थ्य सेवा खरिद गर्न सक्ने भएका छन् । यसका लागि साइबरनेटिक्स प्रालि र ग्राण्डी इन्टरनेसनल अस्पतालबिच ‘हेल्थी हेल्थ प्याकेज’ सुरु गर्ने सम्झौता भएको छ ।

यस नयाँ पहलले विदेशमा रहेका नेपालीहरूलाई डिजिटल प्रविधिको सहायताले आफ्ना घरपरिवारको स्वास्थ्य हेरचाह गर्न सहज बनाउने साइबरनेटिक्सका प्रबन्ध निर्देशक जेम्स न्याछ्योनले बताए ।
सम्झौताअनुसार, विदेशमा रहेका नेपालीले अनलाइनमार्फत नेपालमा रहेका आफ्ना आफन्तका लागि स्वास्थ्य सेवा किनेर उपहार दिन सक्नेछन् । प्याकेज अन्तर्गत फुल बडी चेकअप, प्याथोलोजी, प्रिभेन्टिभ तथा ओपीडी सेवा, फिजियोथेरापी, अर्थोपेडिक, न्युरोलोजी, कार्डियोलोजीजस्ता सेवा उपलब्ध हुनेछन् ।
सम्झौतापत्रमा ग्राण्डी अस्पतालका प्रमुख कार्यकारी अधिकृत कर्नेल अमृत खन्ना र साइबरनेटिक्सका प्रबन्ध निर्देशक न्याछ्योनले हस्ताक्षर गरेका थिए ।

समारोहमा बोल्दै खन्नाले विदेशमा रहेका नेपालीका लागि आफ्ना परिवारको हेरचाह गर्न यो सम्झौता महत्त्वपूर्ण हुने बताए । “अब छोराछोरी विदेशमै भए पनि आमाबुबालाई गुणस्तरीय स्वास्थ्य सेवा अनलाइनमार्फत उपलब्ध गराउन सक्नेछन्,” उनले भने ।
त्यस्तै, साइबरनेटिक्सका निर्देशक न्याछ्योनले प्रविधिमार्फत देश-विदेश जोड्ने अभियानमा आफूहरू लागिपरेको बताए । “विदेशमा रहेका नेपालीले मातृभूमिमा रहेका आफ्ना प्रियजनको स्वास्थ्य सुनिश्चित गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो,” उनले भने ।
पछिल्लो अध्यावधिक: बैशाख १२, २०८२ २१:४०
सामाग्री श्रोत :
टेक पाना