काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रमा ग्रीन हाइड्रोजन क्रान्तिकारी अवसरको रूपमा रहेको बताएका छन् । बिहीबार ऊर्जा मन्त्रालयमा काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरूसँग भएको छलफल कार्यक्रममा मन्त्री खड्काले कार्बन उत्सर्जन न्यूनीकरणमा यसको भूमिका महत्त्वपूर्ण रहेको भन्दै कार्यविधिमार्फत यसलाई अघि बढाइने जानकारी गराए ।

“ग्रीन हाइड्रोजन नेपालको ऊर्जा क्षेत्रमा क्रान्तिकारी अवसर हो । यसलाई व्यवस्थित रूपमा अघि बढाउन कार्यविधि निर्माणका लागि अध्ययन अनुसन्धान सुरु भइसकेको छ,” उनले भने ।
मन्त्री खड्काले वातावरण संरक्षण तथा शून्य कार्बन उत्सर्जनको राष्ट्रिय लक्ष्य हासिल गर्न ग्रीन हाइड्रोजनको उपयोग अपरिहार्य भएको धारणा राखे ।
छलफलमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले ग्रीन हाइड्रोजनको सम्भाव्यता अध्ययन गर्न मन्त्रालयले कार्यदल गठन गरी अनुसन्धान अघि बढाइरहेको बताए । उनले वातावरणमैत्री प्रविधिको प्रयोगले इँटाभट्टा तथा केमिकलजन्य उद्योगहरूबाट हुने प्रदूषण न्यूनीकरण गर्न सकिनेमा जोड दिए ।

त्यस्तै, सिँचाइसचिव सरिता दवाडीले नीति निर्माणको चरण पूरा भइसकेको र अब कानुनी तथा संस्थागत संरचना तयार गरी कार्यान्वयनमा लैजाने प्रक्रियामा सरकार जुटेको जानकारी दिइन् । उनले आवश्यक कानुनी प्रबन्ध गर्न सरकार अन्तरमन्त्रालय समन्वयमा सक्रिय रहेको बताइन् ।
कार्यदलका संयोजक एवं सहसचिव जिवछ मण्डलले ग्रीन हाइड्रोजन विश्वका धेरै मुलुकमा सफलतापूर्वक प्रयोग भइसकेको उल्लेख गर्दै नेपालमा पनि यसको ठुलो सम्भावना रहेको धारणा राखे ।
काठमाडौं विश्वविद्यालयअन्तर्गत ग्रीन हाइड्रोजन ल्याबका प्राडा. विराजसिंह थापाले नेपालमा ग्रीन हाइड्रोजन उत्पादन अन्तर्राष्ट्रिय तुलनामा सस्तो पर्ने भएकाले शीघ्र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । जापान, कोरिया, भारत र युएईजस्ता मुलुकहरूले यस प्रविधिलाई व्यवहारमा ल्याइसकेको सन्दर्भ उल्लेख गर्दै उनले नेपालले यसलाई अहिले नै अवसरको रूपमा उपयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा मन्त्रालयका सहसचिवद्वय सुशीलचन्द्र आचार्य र सुरेन्द्र घिमिरे, अर्थविज्ञ अमित श्रेष्ठ तथा काठमाडौं विश्वविद्यालयका डा. राम लामा, डा. लक्ष्मण लामा लगायतको पनि उपस्थिति थियो ।
पछिल्लो अध्यावधिक: बैशाख १२, २०८२ १६:४२
सामाग्री श्रोत :
टेक पाना