काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले मुलुक बनाउन स्रोत व्यवस्थापनमा लागेको ऋणलाई खर्च सम्झिन नहुने बताएका छन्।

आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले स्रोत व्यवस्थापनमा लागेको ऋणलाई लगानीको रुपमा सम्झिनुपर्ने बताए। नेता घिमिरेले देशको जीडिपीको ४०-४२ प्रतिशत ऋण भार हुँदैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए।
‘देशको जीडिपीको ४०/४२ प्रतिशत ऋण भार हुँदैमा आत्तिहाल्नुपर्ने अवस्था छैन। तर, त्यो ऋण प्रतिफलयुक्त योजनामा कतिको खर्च भयो, भएन, यो महत्वपूर्ण हुन्छ। अन्तर्राष्ट्रिय लगानी नबढाइ हामीले. मुलुक बनाउन सक्दैनौं । मुलुक हामीले बनाउनुपर्छ, मुलुक बनाउनका लागि स्रोत व्यवस्थापन पनि गर्नैपर्छ। स्रोत व्यवस्थापनको लागि लागेको ऋणलाई खर्च नसम्झी लगानी सम्झिनु उचित हुन्छ,’ उनले भने।
नेता घिमिरेले विगतको २० वर्षमा व्यवस्थामात्रै परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने तर्कमा कुनै सत्यता नरहेको बताए। व्यवस्थासँगै अवस्थाको पनि परिवर्तन भएकोमा दुईमत नरहेको उनले बताए ।

उनले नेपालले विद्युत उत्पादनको क्षेत्रमा आश्चर्यलाग्दो ढंगले प्रगति गरेको बताए। उनले व्यापार घाटा क्रमशः घट्दो अवस्थामा रहेको, भुक्तानी सन्तुलनको अवस्था इतिहासमै राम्रो रहेको, वैदेशिक मुद्राको सञ्चितीले रेकर्ड तोडेको, सरकारको चालू बचत खाता धनात्मक नै रहेको नेता घिमिरेले बताए। ‘पर्यटनको बजारले लय समात्दै छ। विद्युतको उत्पादनले पनि नेपालले आश्चर्यलाग्दो ढंगले प्रगति गरेको छ,’ उनले भने।
सामाग्री श्रोत :
देशको जीडिपीको ४०-४२ प्रतिशत ऋण भार हुँदैमा आत्तिनु पर्दैन : कांग्रेस