काठमाडौँ । ट्राफिक प्रहरीले सर्वसाधारणमाथि हातपात गरेको अर्को भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडिओमा एक युवक भाग्न खोजिरहेका देखिन्छन् भने ट्राफिक प्रहरीले उनलाई लखेटिरहेका छन् ।

ती युवकको हातमा हेलमेट देखिन्छ । भाग्ने क्रममा उनी एक ट्रान्सफर्मरमा ठोक्किन्छन् । त्यसपछि ट्राफिक प्रहरीले उनको कठालो समातेर तानिरहेका देखिन्छन् । भिडिओमा युवकले ट्राफिक प्रहरीलाई सोधिरहेका छन्, “दाइ, यो के गर्नुभएको ?”
जवाफमा ट्राफिक प्रहरीले “किन भागेको?” भन्दै उनको ज्याकेटको कलर समातेर तान्दै लगेका छन् । भिडिओमा अन्य दुई युवक पनि ती युवकसँगै छन्, जसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिइरहेको देखिन्छ ।

तर भिडिओबाट ती युवक किन भागे र ट्राफिक प्रहरीले किन लखेटे भन्ने कुरा प्रष्ट हुन सक्दैन । भिडिओ हेरेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘गल्ती कसको ?’ भन्ने प्रश्न उठाएका छन् । धेरैले ट्राफिक प्रहरीले अधिकारभन्दा बढी शक्ति प्रयोग गरेको भन्दै आलोचना गरेका छन् ।
हालसम्म उक्त भिडिओ कुन स्थानको हो भन्ने पुष्टि हुन सकेको छैन । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले भिडिओ हेरेको पुष्टि गर्दै घटनास्थल पत्ता लगाउने प्रयास भइरहेको बताए । “आज भाइरल भएको भिडिओ कहाँको हो र के भएको हो भन्ने बुझ्ने प्रयास गरिरहेका छौँ,” उनले भने ।
यसअघि बिहीबार पनि सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले एक व्यक्तिलाई निर्घात कुटपिट गरेको भिडिओ भाइरल भएको थियो । २३ मंसिरमा सुन्धारा पुल नजिकै भएको कुटपिटको भिडिओ अहिले भाइरल भएपछि घटनामा संलग्न चार ट्राफिक प्रहरीलाई जनसेवा ट्राफिक प्रहरी वृत्तको जिम्मेवारीबाट हटाई अनुसन्धान अघि बढाइएको ट्राफिक कार्यालयले जनाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १२, २०८२ १३:४८
सामाग्री श्रोत :
टेक पाना