फाइल तस्विर
काठमाडौं- पछिल्लो केही दिनदेखि बढेको तापक्रममा कारण गर्मीजन्य स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने बिरामीको
संख्या बढेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा गर्मी बढेपछि विशेष बुलेटिन निकालेर तातो हावा चल्न
सम्भावना बढेको भन्दै सतर्कता अपनाउनका लागि सुझाव समेत दिइसकेको छ।
अझै केही दिन पानी पर्ने सम्भावना नभएकाले तापक्रम अझै बढ्ने मौसम पूर्वानुमान महाशाखाले गरेको छ । शुक्रराज
ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा युवानिधी बसौला फागुनको अन्तिम सातादेखि नै गर्मीजन्य स्वास्थ्य
समस्याका बिरामीहरु अस्पताल आउने क्रम बढ्दै गइरहेको बताउँछन्।
उनका अनुसार हाल टेकु अस्पतालमा मात्र गर्मीजन्य स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने बिरामी २५ प्रतिशतले बढेका
छन्। कतिपय बिरामीलाई भर्ना नै गरेर समेत उपचार गर्नु परिरहेको उनले जानकारी दिए।
‘दैनिक १ हजार भन्दा माथि ओपिडीमा बिरामी आउने गरेका छन्, इमर्जेन्सीमा दैनिक २० देखि ३० जनासम्म पुग्छन्, डा
बसौलाले भने, ‘मुख्यतया झाडापखालाका बिरामी बढी छन्, त्यस्तै रुघाखोकी, ज्वरो,टाइफाइड,सर्पले टोकेका, मलेरिया,
कालाजारका बिरामी पनि बढ्दै गइरहेका छन्। अहिलेसम्म डेंगुका एक दुई वटा केशहरु मात्रै आएका छन्।’
सर्पले टोकेका बिरामी मात्रै दैनिक इमर्जेन्सीमा ४,५ जना आउने गरेको उनी बताउँछन्।
गर्मीजन्य स्वास्थ्य समस्याबाट बच्नका लागि सकभर चर्काे घाममा नहिँड्ने, बाहिर हिड्नै पर्नेले मास्कको अनिवार्य प्रयोग
गर्ने,खाना खानु अगाडि राम्रोसँग साबुन पानीले हात धुने तथा काँचो खानेकुरालाई राम्रोसँग पखालेर मात्रै खाने बानीको
विकास गर्न डा बसौलाको सुझाव छ। यदि बढी ज्वरो आउने, टाउको दुख्ने, रिगँटा लाग्ने भएमा तुरुन्तै स्वास्थ्य संस्थामा
जानका लागि उनी सुझाउँछन् ।
गर्मीजन्य स्वास्थ्य समस्याबाट यसरी बचौं
सकेसम्म घामसँग सुरक्षित रहने
घाममा धेरैबेर रहँदा छालासम्बन्धी कैयौं समस्या पनि देखिन सक्छन्। यसैले घाममा निस्कँदा छाता, चश्मा, टोपी, पातलो
खालको पछ्यौरा प्रयोग गर्न सकिन्छ। यसले छालालाई बचाउँछ। सनस्क्रीनको प्रयोग पनि गर्मीमा जरुरी हुन्छ।
पानी प्रशस्त पिउने
गर्मीको सामना गर्नका लागि शरीरलाई हाइड्रेट गर्नुपर्छ। साथै नरिवल पानी, कागतीको सर्वत, मोहीजस्ता स्वस्थकर पेयको
प्रयोग गर्नुपर्छ। यसबाट शरीरमा इलेक्ट्रोलाइट्सको सन्तुलन भइरहन्छ र कमजोरी महसुस हुन दिँदैन।
खानेकुरा खाँदा सावधानी अपनाउने
गर्मी मौसममा पाचनप्रणाली कमजोर हुन सक्छ। यस्तो अवस्थामा पेटसँग सम्बन्धी समस्या अपच, एसिडीटी र कब्जियत
हुनसक्छ। यसैले गर्मीमा जहिले पनि पच्ने खालका र हल्का खाना खानुपर्छ। मसालेदार, उच्च प्रोटिन या तेलमा बनेका खाना
सकेसम्म खानुहुँदैन। गर्मी सिजनमा पाइने पालुंगो, गोलभेँडा, काँक्रोजस्ता तरकारी र तरबुजा, सुन्तलाजस्ता फल खानुपर्छ।
सक्रिय रहने
गर्मीको समयमा बिहान या साँझको समयमा हिँड्ने बानी गर्नुपर्छ। यसले क्यालोरी पनि खर्च हुन्छ र चिसो हावामा हिँड्दा
मूड पनि राम्रो हुन्छ। सक्रिय रहँदा रक्तचाप, ब्लड सुगर र तनाव नियन्त्रण गर्न मद्दत मिल्छ ।
सामाग्री श्रोत :
swasthyakhabar

