काठमाडौँ । यतिबेला सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भइरहेको छ । भिडिओमा एकजना ट्राफिक प्रहरीले एक पुरुषलाई निर्घात कुटपिट गरिरहेका छन् भने तीनजना ट्राफिक प्रहरी कुटपिट गरेको दृश्य हेरिरहेका छन् ।

‘हेमन्त खत्री’ नामको फेसबुक आईडीबाट बिहीबार दिउँसो १:५८ मा सार्वजनिक भएको उक्त भिडिओ तीव्र गतिमा सामाजिक सञ्जालमा फैलिएको छ । यो सामाग्री तयार पार्दासम्म उक्त भिडिओलाई आठ लाखभन्दा धेरै पटक हेरिएको छ भने ३४ सयभन्दा धेरै पटक शेयर भएको छ ।
खत्रीले उक्त भिडिओ सार्वजनिक गर्दै लेखेका छन्, “सरकारी पदमा रहेर एउटा देशको रक्षकले सर्वसाधारण जनतामाथि देखाएको हर्कत नागरिकमा के सन्देश दिन्छ ?” ।
उक्त भिडिओमा एक पुरुष लडिरहेका छन् । उनलाई ट्राफिक प्रहरीले भुईँमा लछार्दै निर्घात कुटपिट गरिरहेका छन् । छेवैमा सेतो रङको हेलमेट लडिरहेकाले ती पुरुष मोटरसाइकल चालक हुन् भन्ने अनुमान लगाउन सकिन्छ ।

यस्तै सडकमा सवारीसाधनहरू गुडिरहेका छन् । त्यहाँ ‘कीर्तिपुर यातायात सेवा’ लेखिएको बस पनि देख्न सकिन्छ । उक्त घटना काठमाडौँको हो भन्ने प्रस्ट हुन्छ । भिडिओ देखेपछि प्रहरीले रक्षकको भूमिका निभाउनु पर्नेमा भक्षक भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले टिप्पणी गरिरहेका छन् । यस्तै उनीहरूले सर्वसारधण माथी दुर्व्यवहार गर्ने प्रहरीलाई छिटोभन्दा छिटो कारबाही गर्नुपर्ने माग राखेका छन् ।
खत्रीले भिडिओमा युट्युबबाट साभार गरेको भन्दै एउटा लिङ्क राखेका छन् । जहाँ पुष्प कमल शाही नामको युट्युब अकाउन्टबाट उक्त भिडिओ पोस्ट भएको देखिन्छ ।
युट्युबमा उक्त भिडिओ नेपाली समयअनुसार बुधबार राति ९:३७ मा अपलोड भएको देखिन्छ । सो पोस्टभन्दा पहिला सामाजिक सञ्जालमा उक्त भिडिओ सार्वजनिक भएको फेला परेको छैन ।
ट्राफिक प्रहरीको दुर्व्यवहारका विषयमा बुझ्न टेकपानाले काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीलाई सम्पर्क गरेको थियो । आफूले पनि हालै यसबारे जानकारी पाएको भन्दै गिरीले भिडिओउपर अनुसन्धान भइरहेको बताए ।
“उपत्यकाका ट्राफिक प्रहरीले माघको अन्तिम सातादेखि ज्याकेट लगाएका छैनन् । सायद यो भिडिओ पुरानो हुनुपर्छ,” उनले भने, “अनुसन्धान गरेपछि त्यहाँ के भएको हो, थाहा हुन्छ । ट्राफिक प्रहरीको गल्ती भेटियो भने उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढ्छ ।”
पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ १७:३७
सामाग्री श्रोत :
टेक पाना