हेटौँडा–मकवानपुरको रातेमाटेबाट ४ लाख रुपैयाँ बढीको लागुऔषध ट्रामाडोलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

हेटौँडा–१५ रातोमाटेस्थित प्रहरी चौकीबाट ५ हजार ७५० थान लागुऔषध ट्रामाडोलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।
बिहीबार बिहान ९ः ३० बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले सो परिमाणको लागुऔषध ट्रामाडोलसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–७ बेनौली बस्ने २५ को तीर्थलाल पासवान र सह–चालक सोही स्थानका वर्ष २३ को सुनिल पटेल रहेका छन्।

बारा जिल्लाको सिम्ररौनगढबाट हेटौडातर्फ आउँदै गरेको मधेस प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीलाई हेटौँडा–१५ रातोमाटे चेक प्वाइन्ट स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा सो परिमाणको ट्रामाडोल बरामद भएको प्रहरी उपरीक्षक खड्काले बताए।
पिकअप गाडीका चालक पासवान र सह–चालक पटेलले उनीहरूलाई शङ्का लागेर खानतलासी गर्दा गाडीको अगाडीको इन्जिन भएको भागमा लुकाई ल्याइएको अवस्थामा ट्रामाडोल ५ हजार ७५० थान (५७ हजार ५०० क्यापसुल) बरामद भएको थियो। सो लागुऔषध ट्रामाडोलको बजार मूल्य प्रति पत्ता ७२ रुपैयाँका दरले ४ लाख १४ रुपैयाँ हुने प्रहरी उपरीक्षक खड्काले बताए।
प्रहरी उपरीक्षक खड्काका अनुसार सो लागुऔषध ट्रामाडाल हेटौँडाका लागि ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ। पक्राउ परेका पासवान र पटेललाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ