२०८२ असार २३ सोमबार
LATEST NEWS
२०८२ असार २३ सोमबार

आवासीय चिकित्सकले फेरि भने- आठौं तहको तलब कृपा होइन, निरन्तर सेवा, त्याग र समर्पणको न्यूनतम सम्मान हो

काठमाडौं- चिकित्स शिक्षा आयोगको १६ औं बैठकबाट गरिएको आठौं तह बराबरको तलबका लागि आवासीय चिकित्सक २९ दिनदेखि आन्दोलित छन्। उनीहरुले आफूले आठौं तहको तलब कुनै कृपाबाट नभइ निरन्तर सेवा, त्याग र समर्पणको न्यूनतम सम्मानका रुपमा चाहेको बताएका छन्। 

बुधबार नेपाल चिकित्सक संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आवासीय चिकित्सकले साझा आवाज स्वरुप बिज्ञप्ति जारी गरेका हुन्। चितवन मेडिकल कलेजका आवासीय चिकित्सक डा विप्लव लामिछानले उक्त विज्ञप्ति पढेर सुनाएका हुन्। 

यस्तो छ उनीहरुको बिज्ञप्ति :

हामी, निजी मेडिकल कलेजहरूमा कार्यरत आवासीय चिकित्सकहरू, २८ दिनदेखि निरन्तर आन्दोलनमा छौं । यो केवल केही मागहरू राखिएको विरोध मात्र होइन, यो हाम्रो करियर, जीवन र आत्मसम्मानसँग प्रत्यक्ष सम्बन्धित संघर्ष हो। गहिरो पीडा र दृढ अठोटका साथ हामी सम्पूर्ण चिकित्सक समुदाय, हाम्रा सम्माननीय शिक्षकहरू, अग्रजहरू, सहकर्मीहरू तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरूसँग – अनुरोध गर्न चाहन्छौं कि कृपया हामीसँग उभिनुहोस्, अन्यायको विरोधमा आवाज उठाउनुहोस्।

वर्षौंसम्म हामीले बिरामीहरूको सेवामा आफूलाई पूर्णतः समर्पित गरेका छौं । थकाइ, भोक, निद्रा, पारिवारिक दूरी, सबै त्यागेर हामीले बिरामीको उपचारलाई पहिलो प्राथमिकता दिएका छौं । तर अहिले हामीलाई त्यागिएको छ । यो त्याग बिरामीहरूले होइन, हामी कार्यरत संस्थाहरूले गरेका छन्, तिनै संस्थाहरू जसले हामीलाई ‘शिक्षार्थी’ भनेर मात्र हेरिरहे, तर हाम्रो श्रमको उचित मूल्य कहिल्यै चुकाएनन्।

निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकहरूलाई आठौं तहको तलब तुरुन्त लागू गर्नुपर्छ भनेर चिकित्सा शिक्षा आयोग र सम्बन्धित विश्वविद्यालयहरूले स्पष्ट रूपमा निर्देशन दिइसकेका छन्, तर दुःखद कुरा के छ भने, निजी कलेजहरूले सो निर्देशनलाई खुलेआम उल्लंघन गर्दै आएका छन् । यो केवल व्यावसायिक गैरजिम्मेवारी होइन, यो कानुनी अवज्ञा र श्रम शोषणको प्रत्यक्ष नमुना हो । हामी हाम्रा अधिकारका लागि उभिएका हौँ तलबको लागि बिन्ती गरिरहेका होइनौँ । आठौं तहको तलब कुनै कृपा होइन, यो हाम्रो निरन्तर सेवा, त्याग र समर्पणको न्यूनतम सम्मान हो ।

यस आन्दोलनको क्रममा, संस्थाहरूबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हामीले दमन र धम्कीहरूको सामना गरिरहेका छौं। केही साथीहरूलाई व्यक्तिगत रूपमा बोलाएर मानसिक दबाव दिने, कक्षाबाट हटाइने चेतावनी दिने, र यहाँसम्म कि रजिस्ट्रेसन रोक्ने वा “बाहिर गरिदिन्छौं” भन्ने धम्की दिने काम हुँदै आएको छ । केही साथीहरूलाई गेटसम्म बोलाएर औपचारिक रूपमा डर देखाउने प्रयास गरिएको छ। यस्तो व्यवहार केवल असंवेदनशीलता होइन, यो हाम्रो आत्मसम्मानमाथिको गम्भीर प्रहार हो।

जबसम्म हाम्रो तलब लागू हुँदैन, तबसम्म सम्पूर्ण नियमित चिकित्सकीय सेवा पूर्ण रूपमा बन्द रहनेछ भनी हामीले स्पष्ट रूपमा निर्णय गरेका छौं । यो आन्दोलन व्यक्तिगत स्वार्थको होइन, सम्पूर्ण आवासीय चिकित्सकहरूको भविष्य, अधिकार र आत्मसम्मानका लागि हो ।

हामी सम्पूर्ण शिक्षक, परामर्शदाता, वरिष्ठ चिकित्सकहरू, स्वास्थ्य संस्थाहरू, मानव अधिकार संस्थाहरू र श्रम अधिकारकर्मीहरूलाई हार्दिक आह्वान गर्दछौं कृपया हामीसँग उभिनुहोस्। हाम्रो आवाजलाई तपाईंको आवाज बनाउनुहोस्। स्वास्थ्य शिक्षा क्षेत्रमा न्याय, समानता र गरिमाका लागि सँगै बोलौं, सँगै लडौं।

हामीलाई थाहा छ, यो बाटो सहज छैन । तर जबसम्म हाम्रो श्रमको मूल्य र कानुनी अधिकारको संरक्षण हुँदैन, तबसम्म हामी चुप बस्ने छैनौं। यो केवल आन्दोलन होइन, यो चेतना हो, आत्मसम्मानको युद्ध हो। हामी एक छौं । हामी अडिग छौं। २८ दिन भइसक्यो अब चुप बस्ने समय छैन । संघर्ष जारी छ र यसपटक, हामी अवश्य जित्नेछौं ।

– सम्पुर्ण निजी मेडिकल कलेजहरूका आवासीय चिकित्सकहरू

 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट