काठमाडौँ । विश्वकै सबैभन्दा ठूलो विद्युतीय सवारी ब्याट्री आपूर्तिकर्ता चिनियाँ कम्पनी कन्टेम्पररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड (सीएटीएल) ले नयाँ ब्याट्री सार्वजनिक गरेको छ । यो ब्याट्रीले पाँच मिनेट चार्जमै ५२० किलोमिटर यात्रा गर्न सक्ने कम्पनीको दाबी छ ।

सोमबार कम्पनीले सार्वजनिक गरेको ‘शेन्शिङ सेकेन्ड जेनेरेसन’ नामक ब्याट्रीले यति थोरै समयको चार्जिङमै अपत्यारिलो रेन्ज दिने बताइएको छ । पेट्रोल गाडीमा इन्धन हाल्न लाग्ने समयभन्दा केही मात्र बढी समय लाग्ने यो ब्याट्रीलाई ‘सुपर फास्ट चार्जिङ’ प्रविधिमा नयाँ विश्व रेकर्ड भएको सीएटीएलको दाबी छ ।
सीएटीएलको यो प्रविधि प्रतिस्पर्धी कम्पनीहरूभन्दा अगाडि रहेको बताइएको छ । केही हप्ताअघि चिनियाँ कम्पनी बीवाईडीले पाँच मिनेटमा ४०० किलोमिटर चार्ज हुने ब्याट्री सार्वजनिक गरेको थियो । तर, त्यसमा प्रविधिगत चुनौती र लागतसम्बन्धी शंका व्यक्त भएका थिए ।
सीएटीएलको यो नयाँ ब्याट्रीले अमेरिकी कम्पनी टेस्ला, जर्मन कम्पनी मर्सिडिज जस्ता प्रतिस्पर्धीमध्ये पनि अगाडि रहेको देखिएको छ । टेस्लाको सुपरचार्जरले १५ मिनेटमा २७० किलोमिटर चार्ज गर्छ भने मर्सिडिजको ब्याट्रीले १० मिनेटमा ३२५ किलोमिटर चार्ज गर्न सक्छ ।

शेन्शिङ ब्याट्रीले अधिकतम ८०० किलोमिटरको रेन्ज दिने र १.३ मेगावाटसम्मको पिक चार्जिङ पावर रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो ब्याट्रीले -१० डिग्री सेल्सियसको चिसो वातावरणमा पनि उच्च स्तरको चार्जिङ प्रदर्शन गर्न सक्छ ।
कम्पनीले ‘Naxtra’ सिरिजअन्तर्गत नयाँ सोडियम-आयन ब्याट्री पनि सार्वजनिक गरेको छ । यो प्रविधि प्रयोग गरिने विश्वकै पहिलो व्यावसायिक उत्पादन हुने सोडियम-आयन ब्याट्री भएको कम्पनीको दाबी छ । सोडियम ब्याट्रीले लिथियममा निर्भरता कम गर्ने, कम मर्मत खर्च लाग्ने र -४० देखि +७० डिग्री सेल्सियससम्मको तापक्रममा काम गर्न सक्ने जनाइएको छ ।
हेभी सवारीका लागि तयार पारिएको ‘Naxtra’ ब्याट्री आठ वर्षको सेवा अवधि, कम लागत र बढी कार्यक्षमता दिने उल्लेख गरिएको छ ।
चिनियाँ स्टक बजारमा सीएटीएलको सेयर मूल्यमा करिब १ प्रतिशतले वृद्धि देखिएको छ । यसै वर्ष कम्पनीले हङकङमा सूचीकरणका लागि निवेदन दिएको छ । जसबाट कम्तीमा पाँच अर्ब डलर जुटाउने अपेक्षा गरिएको छ । यदि सफल भएमा यो सन् २०२१ पछि हङकङको सबैभन्दा ठुलो आईपीओ हुने अनुमान छ ।
पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ १०:४०
सामाग्री श्रोत :
टेक पाना