२०८२ बैशाख ११ बिहीबार
२०८२ बैशाख ११ बिहीबार

चीनमा ५ मिनेटमै चार्ज हुने ईभीदेखि मानवजस्तै ड्राइभर र एआई सिस्टमको प्रदर्शनी सुरु

काठमाडौँ । चीनको साङ्घाइमा ‘साङ्घाइ अटो शो २०२५’ सुरु भएको छ । विद्युतीय सवारीमा तीव्र प्रगति गरिरहेको चीनले यसपटकको अटो शोमा १०० भन्दा बढी नयाँ गाडी सार्वजनिक गर्ने तयारी गरेको छ । तीमध्ये मानवजस्ता रोबोट चालक, पाँच मिनेटमै चार्ज हुने ईभी, अत्याधुनिक स्मार्ट ड्राइभिङ प्रणालीजस्ता प्रविधिहरू मुख्य आकर्षणका रूपमा प्रस्तुत हुने बताइएको छ । धेरै कम्पनीहरूले पहिलोपटक अटो शोमा भाग लिँदै छन् ।

चीन हाल विद्युतीय सवारी उत्पादनमा विश्वको अगुवाको रूपमा उभिएको छ । यस वर्षको अटो शोमा बीएमडब्लू, फक्सवागन, जेनरल मोटर्सजस्ता विश्व प्रसिद्ध कम्पनीहरूसँगै नयाँ ईभी निर्माता कम्पनीहरू पनि सहभागी भएका छन् । प्रदर्शनीमा २६ देशका करिब १,००० चिनियाँ तथा विदेशी कम्पनीहरूको सहभागिता रहेको छ । ३.६ लाख वर्गमिटर क्षेत्रफलमा फैलिएको प्रदर्शनीको केन्द्रविन्दु भनेकै विद्युतीय तथा स्मार्ट सवारी साधनहरू हुन् ।

यसपटक साओमी अटो जस्ता नयाँ ब्रान्डहरू पहिलोपटक सार्वजनिक रूपमा प्रस्तुत भइरहेका छन् । बीवाईडी, गिल्ली, ग्रेट वाल र चेरीजस्ता चिनियाँ कम्पनीहरूले ‘डिप लर्निङ’ प्रविधिमार्फत विकास गरेका ड्राइभर असिस्टेन्ट सिस्टमहरू प्रदर्शनीमा देखाइनेछन् । सोनी, इन्टेल, थ्रीएमजस्ता करिब ५० प्रविधि कम्पनीहरू पनि पहिलोपटक अटो टेक्नोलोजी तथा सप्लाइ चेन क्षेत्रमा आफ्नो उपस्थिति जनाउँदै छन् ।

फक्सवागन समूहले चीनको जटिल ट्राफिक अवस्थालाई ध्यानमा राखी विकास गरिएको पहिलो एआई-सञ्चालित स्वचालित ड्राइभिङ प्रणाली सार्वजनिक गर्दैछ । साथै, अडी र फोक्सवागनका लागि चीनमै विकास गरिएका नयाँ पुस्ताका स्मार्ट ईभीहरू पनि प्रस्तुत गरिनेछन् ।

अमेरिकाको कर नीति र बजारको मागबिचको सन्तुलन कायम राख्दै आयोजना गरिएको यो अटो शोले चिनियाँ अटो उद्योगका लागि महत्वपूर्ण मोडको संकेत गरेको विश्लेषकहरूको धारणा छ । हाल चीनको कुल गाडी बिक्रीको करिब दुई तिहाइ हिस्सा घरेलु कम्पनीहरूको नियन्त्रणमा छ भने तिनको विश्व निर्यात समेत तीव्र गतिमा वृद्धि भइरहेको छ । चिनियाँ सरकारले पुराना गाडी हटाएर नयाँ मोडल किन्न दिने अनुदान कार्यक्रम सुरु गरेपछि ईभीप्रतिको आकर्षण अझ बढेको हो ।

सन् १९८५ मा पहिलोपटक आयोजना गरिएको अटो साङ्घाइले चीनमा जर्मन कम्पनी फोक्सवागनको सहकार्यमा अटोमोबाइल उत्पादन सुरु भएको सन्दर्भमा ऐतिहासिक महत्त्व बोकेको छ । साइकलको देशको रूपमा चिनिने चीनले त्यतिबेला अटो युगमा पाइला टेकेको थियो । १९९० को दशकदेखि घरेलु ब्रान्डहरूले विदेशी कम्पनीहरूलाई चुनौती दिन थालेपछि अहिले चीन विश्वकै ठूलो ईभी बजार बनेको छ । विदेशी ब्रान्डहरूका लागि यो चुनौतीपूर्ण भए पनि बेवास्ता गर्न नसकिने बजार भएको विश्लेषण गरिन्छ ।

‘साङ्घाइ अटो शो २०२५’ आगामी मे २ तारिखसम्म चल्नेछ ।

-एजेन्सीको सहयोगमा

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ ८:९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट