२०८२ बैशाख ११ बिहीबार
२०८२ बैशाख ११ बिहीबार

प्राइम कमर्सियल बैंकले सुरु गर्‍यो नेपालपे कार्ड, ग्राहकले यस्ता सुविधा पाउने

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेड राष्ट्रिय भुक्तानी प्रणाली अन्तर्गतको एनपीएस- नेसनल कार्ड स्विच (NPS-NCS) तथा नेपालपे कार्डमा आवद्ध भएको छ । यस सम्बन्धमा बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बिच हालै सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका महाप्रबन्धक अमृत चरण श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस-एनसीएसको पूर्वाधार तयार भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालपे कार्ड इस्यु तथा अक्वायर गर्न आग्रह गरेसँगै प्राइम बैंकले सहभागिता जनाएको हो ।

अब बैंकले नेपालपे कार्ड ग्राहकलाई वितरण गर्न सक्नेछ भने उक्त कार्डमार्फत कारोबारको स्विचिङ्ग र सेटलमेन्ट एनपीएस-एनसीएस मार्फत हुनेछ । यसले डोमेस्टिक कार्ड कारोबारको लागत घटाउनुका साथै डेटा लोकलाइजेसनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

देशभर १९३ शाखा र १३७ एटीएममार्फत सेवा दिँदै आएको प्राइम बैंकले डिजिटल कार्ड प्रणालीमा थप उन्नति गर्ने विश्वास व्यक्त गरेको छ ।

के हो डोमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड) ?

एटीएममा पैसा झिक्न जाँदा सम्पूर्ण विवरण प्रविष्ट गरिसकेपछि पैसा निस्किन केही समय लाग्छ । त्यो समय के को लागेको होला ? हाल नेपालका बैंक तथा वित्तीय संस्थाहरूले अन्तर्राष्ट्रिय कार्ड उपलब्ध गराइरहेका छन् । यसले गर्दा तपाईं एटीएममा गएर पैसा झिक्दा केही समय लाग्छ अन्तर्राष्ट्रिय डेटा राउटिङका कारण ।

अर्थात् तपाईंले पैसा प्राप्त गर्नुभन्दा अगाडिको जुन ५-६ सेकेन्ड समय छ, त्यो समयमा तपाईंले प्रविष्ट गरेको डेटा तपाईंको बैंक हुँदै तपाईंले बोकेको कार्डको डेटा सर्भर भएको देशसम्म पुगेर फर्कन्छ । जसले गर्दा पैसा निस्किन समय लाग्छ । यो प्रक्रिया अन्तर्राष्ट्रिय कार्ड स्किमभित्र पर्दछ ।

अब यही प्रक्रियालाई डोमेस्टिक कार्ड स्किमको रूपमा बुझ्दा, हामीले एटीएममा गएर आफ्नो विवरण प्रविष्ट गरिसकेपछि जुन डेटा विदेश घुमेर आउँथ्यो, अब त्यो नेपालभित्रै एनसीएचएलको सर्भरमा घुम्नेछ ।

अर्थात्, नेपालको डेटा नेपालमै रहनेछ । अर्को कुरा, यो स्किम अन्तर्गत तपाईंले कुनै एउटा बैंकको एटीएम अन्य बैंकको एटीएमहरूमा पनि प्रयोग गर्न सक्नुहुनेछ । जसरी अहिले आफ्नो बैंकको कार्ड अन्य बैंकको एटीएममा पनि प्रयोग गरिरहनु भएको छ । सोही अनुरूप यो कार्ड पनि सम्पूर्ण नेपाली बैंकहरूको नेटवर्कमा काम गर्नेछ । त्यसैले पनि यसलाई डोमेस्टिक कार्ड स्किम भनिन्छ ।

यस प्रणालीको महत्त्वपूर्ण पक्ष भनेको, यसअन्तर्गत हुने कारोबारको डेटा स्थानीय स्तरमै नियन्त्रण हुनु हो । यही अवधारणा अनुरूप नेपाल पे कार्ड तयार गरिएको हो । राउटिङ, क्लियरिङ र सेटलमेन्ट नेपालभित्र नै हुनेछ । यसलाई विश्वस्तरमा हेर्ने हो भने हाल छिमेकी देश भारतसँगै विश्वका विभिन्न देशले अन्तर्राष्ट्रिय कारोबारको सुविधासहित डोमेस्टिक कार्ड स्किम सञ्चालन गरिरहेका छन् ।

नेपाल पे कार्डले केके काम गर्छ ? 

अहिले हामीले जसरी हाम्रो बैंकहरूबाट डेबिट वा क्रेडिट कार्ड पाउँछौं, त्यसैगरी नेपाल पे कार्ड पनि डेबिट, क्रेडिट, प्रिपेड र भर्चुअल कार्डका रूपमा उपलब्ध हुनेछ । यसमा अनलाइन भुक्तानीदेखि लिएर अन्तरआबद्ध भएका बैंकको एटीएमबाट पैसा झिक्न पनि मिल्नेछ ।

हाल यो सुरुवाती चरणमा नै भएकाले, देशभित्र मात्र यो कार्ड प्रयोग गर्न सकिनेछ । तर, यसलाई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रयोगमा ल्याउनका लागि काम भइरहेको एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत प्रधान बताउँछन् । यस्तै, छिट्टै नै नेपाल पे डलर कार्डका लागि पनि काम भइरहेको उनको भनाइ छ । 

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८२ १९:२८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट