काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले डिजिटल माध्यमबाट भुक्तानी कारोबार गर्न नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग सम्झौता गरेको छ । सम्झौता पत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब सूर्यज्योति लाइफ इन्स्योरेन्सले एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) प्रणालीमार्फत विभिन्न डिजिटल भुक्तानी उपकरण प्रयोग गरी प्रिमियम संकलन, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष लगायतका भुक्तानी कारोबार सेवा प्रदान गर्न सक्नेछ ।
एनसीएचएलको एनपीआई प्रणालीमा हाल ५३ ओटा बैंक तथा वित्तीय संस्था र ११० भन्दा बढी गैरबैंकिङ संस्थाहरू आबद्ध छन् । यस प्रणालीमार्फत सदस्य संस्थाहरूले एनसीएचएल-आईपीएस र आरपीएस सेवा समेत प्रयोग गर्न पाउने व्यवस्था छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले देशभर रहेका २०० भन्दा बढी शाखामार्फत बीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले १५ वर्षे सेवाकालमा आफूलाई देशकै उत्कृष्ट जीवन बीमा कम्पनीमध्ये एकका रूपमा स्थापित गरिसकेको दाबी गरेको छ । एनसीएचएलसँगको सहकार्यले बीमा क्षेत्रमा डिजिटल कारोबार प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८२ १४:४
सामाग्री श्रोत :
टेक पाना