धनुषा–धनुषामा आमाले विष खुवाउँदा तीन जना छोराछोरीको मृत्यु भएको छ भने आमा गम्भीर अवस्थामा उपचाररत छिन्।

सहिदनगर नगरपालिका–५ स्थित बासुदेवपट्टी बस्ने सुशील साहका ३० वर्षीय श्रीमती बविता साहले आफ्नै छोराछोरीलाई विषादी खुवाएकी हुन्।
विष खाएर उनका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीय छोरी आकृति साह र २ वर्षीय छोरी आरुसी साहको मृत्यु भएको प्रहरीले जनाएको छ।
विषादी सेवनबाट गम्भीर अवस्थामा पुगेकी बविताको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको ईलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिए।

प्रहरीका अनुसार सोमबार साँझ ६ :४० बजेको समयमा विष सेवन गरेको अवस्थामा फेला परेका थिए। स्थानीयले तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो । अस्पताल लैजाँदा तीनैजनाको मृत्यु भइसकेको थियो।
उनका अनुसार गर्भवती रहेकी बविताको पेटमा रहेको ९ महिनाको बच्चालाई अप्रेसन गरी जीवितै उद्धार गरिएको छ।
घरायसी विवादका कारणले उनले बच्चाहरूलाई विष खुवाइ आफूले पनि विष खाएको सोधपुछका क्रममा खुलेको प्रहरीको भनाइ छ। ‘पहिले पनि दिनदिनै विवाद भइरहन्थ्यो भन्ने कुरा आएको छ। थप अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक यादवले भने।
राति पौनै ९ बजे मात्र प्रहरीलाई खबर आएपछि घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
घरायसी विवादमा पविताले तीनै छोराछोरीलाई विष सेवन गराई हत्या र आफूले स्वयम विष सेवन गरी आत्महत्याको प्रयास गरेको हुन सक्ने प्रहरीको आशंका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ