काठमाडौँ । पोखरा महानगरपालिकाले सूचना प्रविधि (आईटी) क्षेत्रमा अध्ययन र रोजगारी गर्न चाहने युवाहरूलाइ पाँच लाख रुपैयाँसम्म ऋण दिने कार्यक्रम अघि सारेको छ । महानगरको व्यवसाय प्रवर्द्धन केन्द्र, निक्षेप तथा कर्जा सुरक्षण कोष र गण्डकी विश्वविद्यालयको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरिने भएको हो ।

महानगरको व्यवसाय प्रवर्द्धन केन्द्रका शाखा प्रमुख नवराज अधिकारीका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को युवासँग महानगर उद्यमशीलता विकास तथा स्टार्टअप साझेदारी कार्यक्रम अन्तर्गत रोजगारमुखी सीप विकास तालिम र कर्जा सुविधा प्रदान गरिनेछ ।
उनका अनुसार गण्डकी विश्वविद्यालयले युवालाई लक्षित गर्दै ६ महिनाको आईटी विशेष तालिम सञ्चालन गर्न पाठ्यक्रम तयार गरिसकेको छ । तालिम अवधिभर आईटी कम्पनीलाई आवश्यक पर्ने सीप र दक्षता प्रदान गरिनेछ । रोजगारीको व्यवस्था मिलाउन विश्वविद्यालयले विभिन्न आईटी कम्पनीहरूसँग सहकार्यसमेत गरिसकेको अधिकारीले जानकारी दिए ।
उनले भने, “आईटी पढ्न चाहँदा आर्थिक समस्याका कारण रोकिएका युवाहरूलाई यो कार्यक्रमले ठूलो सहयोग पुग्नेछ ।”

कार्यक्रमका लागि प्रारम्भमा २० जनाको कोटा तोकिएको छ । १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका र कम्तीमा १२ क्रेडिट आवरको आईटीसम्बन्धी कोर्स पूरा गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् । आवेदन प्राप्तिपछि लिखित परीक्षा र अन्तर्वार्तामार्फत उत्कृष्टलाई छनोट गरिने बताइएको छ ।
विश्वविद्यालयले मंगलबार सूचना प्रकाशन गर्दै १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । इच्छुकले विश्वविद्यालय वा पोखरा महानगरमार्फत आवेदन दिन सक्नेछन् । कोर्समा सहभागी हुन यहाँबाट पनि आवेदन फारम भर्न सकिन्छ ।
छनोट प्रक्रिया सञ्चालन गर्दा महानगरभित्रका स्थानीय बासिन्दालाई प्राथमिकता दिइने र त्यसपछि पोखराका विभिन्न आईटी कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई अवसर दिइने अधिकारीले बताए ।
यस कार्यक्रमअन्तर्गत विद्यार्थीले बढीमा ५ लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन् । सो ऋण विश्वविद्यालयको शुल्क, कम्प्युटर, ल्यापटप किन्ने तथा रोजगारी खोज्न खर्च गर्न सकिनेछ । कर्जा लिन कुनैपनि ग्यारेन्टी वा धितो राख्नुपर्ने छैन ।
महानगरले विद्यार्थीलाई प्रदान गरिने कर्जाको एक चौथाइ रकम निक्षेप तथा कर्जा सुरक्षण कोषमा राख्नेछ भने बाँकीको ग्यारेन्टी कोषले लिनेछ । अधिकारीका अनुसार बैंकको ब्याजदर बैंक अनुसार फरक भए पनि न्यूनतम दरमै कर्जा दिइनेछ । पाँच वर्षभित्र विद्यार्थीले किस्ताबन्दीमा कर्जा तिर्न सक्ने व्यवस्था मिलाइएको छ ।
सूचना पढ्नुहोस्:
पछिल्लो अध्यावधिक: बैशाख ९, २०८२ २१:२८
सामाग्री श्रोत :
टेक पाना