२०८२ बैशाख ९ मंगलवार
२०८२ बैशाख ९ मंगलवार

चोरी भएको आईफोनको डेटा रिकभर नगरिदिएको भन्दै एप्पल विरुद्ध ६८ करोड क्षतिपूर्तिको मुद्‍दा

काठमाडौँ । एक व्यक्तिले आफ्नो चोरी भएको आईफोनको डेटा रिकभर गर्न सहयोग नगरेको भन्दै एप्पल कम्पनीविरुद्ध ५० लाख अमेरिकी डलर (करिब ६८ करोड रुपैयाँ) क्षतिपूर्ति दाबी गर्दै मुद्दा हालेका छन् । अमेरिकाको मिन्नेसोटाका माइकल म्याथ्युज नामक ती व्यक्तिले आफ्नो आईफोन एरिजोनाको स्कट्सडेलमा चोरी भएपछि ठुलो समस्यामा परेको बताएका छन् ।

उनको फोनमा करिब २ टेराबाइट बराबरको महत्त्वपूर्ण डेटा रहेको थियो, जसमा पारिवारिक फोटोहरू, सङ्गीत, कर विवरण र कामसँग सम्बन्धित अनुसन्धान समेत समावेश थिए । ती व्यक्तिले उक्त डेटा आफ्नो सम्पूर्ण डिजिटल जीवन रहेको बताएका छन् । फोन हराएपछि आफ्नो प्राविधिक परामर्श फर्म नै बन्द गर्नुपरेको दाबी उनले गरेका छन् ।

म्याथ्युजले एप्पललाई उक्त आईफोन आफ्नो भएको प्रमाण देखाउँदा पनि कम्पनीले डेटा रिकभर गर्न कुनै सहयोग नगरेको आरोप लगाएका छन् । विशेषगरी, एड्भान्स डेटा प्रोटेक्सन (ADP) मा रहेको रिकभरी की (Recovery Key) रिसेट गर्न एप्पलले अस्वीकार गरेको उनको भनाइ छ । यो रिकभरी की २५ अङ्कको हुन्छ, जुन अकाउन्टको पासवर्ड रिसेट गर्न र अकाउन्ट रिकभर गर्न प्रयोग गरिन्छ । एप्पलले प्रयोगकर्ताहरूलाई यो की सुरक्षित राख्न सुझाव दिने गरेको छ ।

समस्या तब आयो, जब चोरले सम्भवतः उनको फोनको पासकोड थाहा पाएर एप्पल आईडीको पासवर्ड परिवर्तन गरिदियो । यति मात्र नभई, चोरलाई पासोड थाहा भएको खण्डमा उसले एडीपी एक्टिभ गरेर नयाँ रिकभरी की बनाउन वा भएको की परिवर्तन गर्न सक्ने सम्भावना पनि रहन्छ ।

यस्तो अवस्थामा अकाउन्ट रिकभर गर्न असम्भव हुन्छ । एड्भान्स्ड डेटा प्रोटेक्सन नभएको अवस्थामा एप्पलले इन्क्रिप्टेड डेटा रिकभर गर्न सक्ने दाबी मुद्दामा गरिएको छ । किनकि एप्पलसँग प्रयोगकर्ताको डिभाइस र आईक्लाउड बीचको इन्क्रिप्सन कीको कपी हुन्छ । तर एडीपी एक्टिभ भएपछि रिकभरी की बिना डेटा रिकभर गर्न सकिँदैन ।

म्याथ्युजका वकिल के जोन ब्रेयरले एप्पलले आफूसँग भएको डेटा दिन अस्वीकार गर्नु ‘अक्षम्य’ भएको बताएका छन् । म्याथ्युजले एप्पलसँग आफ्नो डेटामा पहुँच दिनुका साथै कम्तीमा ५० लाख डलर क्षतिपूर्ति माग गरेका छन् ।

यस विषयमा एप्पलले कुनै प्रतिक्रिया नदिए पनि, एक रिपोर्टमा कम्पनीले अपराधको शिकार भएकाहरूप्रति सहानुभूति व्यक्त गरेको र प्रयोगकर्तामाथि हुने सबै आक्रमणहरूलाई गम्भीरतापूर्वक लिने बताएको छ । यो मुद्दा अहिले अनुसन्धानको चरणमा प्रवेश गरेको छ, जसमा ६ देखि ८ महिनासम्म लाग्न सक्ने एप्पल इन्साइडरले उल्लेख गरेको छ । यस मुद्दाले चोरी भएका उपकरणहरूको डेटा ह्यान्डल गर्ने एप्पलको तरिकामाथि प्रश्न उठाएको छ । यदि मुद्दाले गति लियो भने, एप्पलले आफ्ना ग्राहकहरूलाई यस्तो अवस्थामा सहयोग गर्ने नीतिमा पुनर्विचार गर्नुपर्ने हुन सक्छ ।

यद्यपि, प्रयोगकर्ताहरूले आफ्नो डेटाको नियमित ब्याकअप लिने कुरामा ध्यान दिनु महत्त्वपूर्ण छ । एप्पलले हराएको वा चोरी भएको फोन लक गर्न “Find My” जस्ता सुरक्षा सुविधाहरू प्रदान गरे पनि, यदि चोर जानकार छ भने यी सुरक्षालाई सजिलै बाइपास गर्न सक्छ । कतिपय अवस्थामा चोरले रिकभरी ईमेलहरू परिवर्तन गर्न र पासवर्ड रिसेट गर्न सक्छ, जसले गर्दा वास्तविक प्रयोगकर्ता आफ्नै अकाउन्टबाट बाहिरिन बाध्य हुन्छ ।

यदि प्रयोगकर्ताले आफ्नो डेटा आईक्लाउडमा ब्याकअप गरेको छैन भने, अवस्था अझ गम्भीर हुन सक्छ । र एप्पलले गोपनीयताको कारण देखाउँदै हराएको डेटा फिर्ता गर्दैन ।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ १९:५६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट