काठमाडौँ । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले सन् २०३५ सम्ममा एआईले डाक्टर, शिक्षक लगायत धेरै पेसाकर्मीको जागिर विस्थापित गर्ने भविष्यवाणी गरेका छन् । हालै एक पडकास्टमा बिल गेट्सले एआईको प्रभावबारे आफ्नो धारणा प्रस्तुत गर्दै डाक्टर र शिक्षकको अभाव एआईले मेटाउने पूर्वानुमान गरेका हुन् ।

गेट्सले डाक्टर र शिक्षक जस्ता लामो समयदेखि स्वचालित प्रविधिबाट बाहिर ठानिएका पेसा नै सबैभन्दा पहिला एआईले रूपान्तरण वा विस्थापित गर्ने तर्क अघि सारेका छन् । अहिले डाक्टरसँग सल्लाह लिने वा राम्रो शिक्षकसँग पढ्ने कुरा महँगो हुँदै गएको छ । साथै यी कुरा सबैका लागि सजिलो र पहुँचयोग्य पनि छैनन् ।
यस्तो अवस्थामा अबको १० वर्षभित्र एआईले निःशुल्क रूपमा राम्रो स्वास्थ्य सल्लाह दिने र राम्रो पढाउने काम गर्न सक्ने बिल गेट्सले बताए । यसले गर्दा स्वास्थ्य र शिक्षा क्षेत्रमा विशेषज्ञको अभाव भएका भारत र अफ्रिकी देशमा यो उपयोगी हुने उनको भनाइ छ ।
त्यति मात्र नभई भविष्यमा एआईले कारखानामा काम गर्ने, घर बनाउने, होटेलमा सेवा दिने, गाडी चलाउने, खेतमा काम गर्ने जस्ता धेरै खालका शारीरिक र सामान्य कामहरू पनि गर्न थाल्ने उनको अनुमान छ । एआई र रोबोट दिनानुदिन स्मार्ट हुँदै जाँदा तिनीहरूले यस्ता काम सजिलै गर्न सक्छन् । अहिले जुन काममा करोडौँ मानिस आबद्ध छन्, भविष्यमा ती काम पनि एआईले गर्न सक्नेमा उनी विश्वस्त छन् । मानिसले गर्ने परम्परागत कामको तरिका नै एआईले परिवर्तन गर्न सक्ने उनले उल्लेख गरेका छन् ।

विभिन्न देशमा स्वास्थ्यकर्मी र शिक्षकको अभाव भएको बताउने बिल गेट्सको भनाइलाई विभिन्न अध्ययन प्रतिवेदनले पनि पुष्टि गरेका छन् । बिजनेस इन्साइडरका अनुसार संयुक्त राज्य अमेरिकाले पनि यस्तै चुनौतीको सामना गरिरहेको छ ।
बिजनेस इन्साइडरले स्रोत मानेको एसोसिएसन अफ अमेरिकन मेडिकल कलेजको एक प्रतिवेदनले सन् २०३६ सम्ममा अमेरिकामा ८६ हजारसम्म चिकित्सक, विशेषज्ञ र प्राथमिक स्वास्थ्य चिकित्सकको अभाव हुन सक्ने अनुमान गरेको छ ।
स्वास्थ्य क्षेत्रका यी कमीलाई पूरा गर्न र कामको बोझ तथा तनाव कम गर्न सुकी, जेफर एआई, टेनएनआर जस्ता स्वास्थ्य सेवामा केन्द्रित एआई स्टार्टअपले अर्बौँ डलर लगानी जुटाएका छन् । उनीहरूले बिलिङ र नोट लिने जस्ता दैनिक कामलाई स्वचालित बनाउने, रोग निदानको सटीकता सुधार्ने र नयाँ उपचारका लागि उपयुक्त बिरामी पहिचान गर्न मद्दत गर्ने बाचा गरेका छन् ।
यता जेनेरेटिभ एआईले स्वास्थ्य सेवा र औषधि उद्योगमा उत्पादकत्वलाई ३७० अर्ब डलरसम्म बढाउन सक्ने म्याकिन्से नामक परामर्शदाता फर्मले अनुमान गरेको छ । बिल गेट्सले प्रविधि क्षेत्रका साथसाथै समाजको सोचाइमै परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन् ।
एआई दिनानुदिन थुप्रै काममा अगाडि हुँदै जाने भएकाले परम्परागत कामको धारणा फेरिनुपर्ने उनको सुझाव छ । उनका अनुसार एआईले उत्पादन क्षमतामा वृद्धि गर्नुका साथै सामान्यदेखि जटिल काम पनि स्वचालित हुनेछन् । त्यसैले भविष्यमा काम गर्ने दिनको सङ्ख्या घट्ने, मान्छेले छिट्टै अवकाश पाउने र फुर्सदको समय बढ्ने उनको भविष्यवाणी छ ।
गेट्सले यस्तो भविष्यलाई ‘पोस्ट-लेबर वर्ल्ड’ भनेर परिभाषित गरेका छन् । यो अवधारणा अनुसार जसरी अहिले जागिर खानु वा काम गर्नु नै जीवनको मुख्य आधार छ, भविष्यमा त्यसो हुने छैन । उनी अगाडि भन्छन्, “जागिर भन्ने कुरा अभावको कारणले बनेको हो । जागिर बिनाको भविष्य कल्पना गर्न तपाईँको मस्तिष्कलाई फेरि प्रोग्राम गर्नुपर्ने हुन्छ । यो गाह्रो काम हो ।”
यस्तो परिवर्तन आउने हो भने समाजले नयाँ तरिकाले जीवनको उद्देश्य र उत्पादकतालाई परिभाषित गर्न सक्ने उनको भनाइ छ । यो परिवर्तन उत्साहजनक भए पनि असजिलो हुन सक्ने गेट्सको स्वीकारोक्ति छ । एआईको प्रयोगले सस्तोमा धेरै वस्तु तथा सेवा उपलब्ध हुने अवस्था ल्याउन सक्छ । तर यदि यसले सिर्जना गर्ने फाइदा सबैलाई समान रूपमा वितरण भएन भने आर्थिक अस्थिरता, रोजगारी गुम्ने समस्या र असमानता झनै बढ्न सक्ने जोखिम समेत उनले औँल्याएका छन् ।
यी चुनौतीलाई सम्बोधन गर्न गेट्सले सार्वभौमिक आधारभूत आय, कामको समय घटाउने र सम्पत्ति वितरणका लागि नयाँ नीति लागु गर्नुपर्ने सुझाव दिएका छन् । मानिसले गर्ने सबै काम एआईले विस्थापित गर्ने कुरामा भने बिल गेट्स सहमत छैनन् । खासगरी रचनात्मक क्षमता आवश्यक पर्ने काम, भावनात्मक बौद्धिकता, जटिल समस्या समाधान गर्ने क्षमता, थेरापिस्ट, कलाकारिता, हेरचाहकर्ता जस्ता काममा मान्छेको आवश्यकता बढ्ने उनी बताउँछन् । त्यसैगरी कोडिङ, ऊर्जा, जीव विज्ञान जस्ता क्षेत्रमा पनि मान्छेको विज्ञता अपरिहार्य हुने उनको भनाइ छ । यी क्षेत्रलाई एआईले परिवर्तन गरे पनि मानिसको विज्ञता पनि सँगसँगै आवश्यक पर्नेछ ।
त्यसैगरी दिनानुदिन फैलिरहेका भ्रामक तथा मिथ्या सूचना, पूर्वाग्रही प्रवृत्ति, सीमित प्रविधि कम्पनीसँग सञ्चित सामर्थ्य आदिमा खतराको सङ्केत भएकाले यसलाई पनि मानिसले विचार गर्नुपर्ने उनको तर्क छ । बिल गेट्सले नयाँ पुस्तालाई मानव केन्द्रित क्षेत्रमा विकास गर्न प्रेरित गरेका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ ९:५५
सामाग्री श्रोत :
टेक पाना