२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

मुखको हड्डी अड्किने समस्याबाट ५ वर्षदेखि हैरान युवकलाई च्याटजीपीटीले १ मिनेटमै दियो राहत !

काठमाडौँ । एक व्यक्तिले आफूलाई पाँच वर्षदेखि सताइरहेको तल्लो जबडाको समस्या (मुखको हड्डी अड्किँदा मुख खोल्ने क्रममा कान नजिक कटकट आवाज आउने, थकाइ महसुस हुने, घाँटीको मांसपेसीमा दुखाइ हुने समस्या) च्याटजीपीटीले ६० सेकेन्डमै समाधान गरिदिएको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल रेडिटको ‘च्याटजीपीटी सबरेडिट’ मा पोस्ट गर्दै ती प्रयोगकर्ताले एआई टुलको सल्लाहले आफ्नो समस्या निको भएको बताएका हुन् । ९९ लाख सदस्य रहेको उक्त सबरेडिटमा ‘User2000SS’ नामक प्रयोगकर्ताले लेखेका छन्, “पाँच वर्षदेखि मेरो देब्रे जबडामा आवाज आउने समस्या थियो । च्याटजीपीटीले ६० सेकेन्डमै समाधान गरिदियो ।”

उनको अनुमानमा बक्सिङ खेल्दा लागेको चोटका कारण समस्या देखिएको हुनसक्छ । चिकित्सकीय भाषामा यसलाई ‘टेम्पोरोम्यान्डिबुलर डिसअर्डर’ (टीएमजे) भनिन्छ । यो हाम्रो तल्लो जबडालाई खप्पर (टाउकोको हड्डी) सँग जोड्ने जटिल जोर्नी हो, जसले मुख खोल्ने, बन्द गर्ने, चपाउने, बोल्ने जस्ता काम गर्न मद्दत गर्छ । जब यो जोर्नीमा समस्या आउँछ, त्यतिबेला कटकट आवाज आउन थाल्छ ।

ती व्यक्तिले अगाडि लेखेका छन्, “मैले आकस्मिक रूपमा च्याटजीपीटीसँग यसबारे सोध्दा यसले समस्या विस्तृत रूपमा व्याख्या गर्‍यो र मेरो जबडाको डिस्क केही सरेको हुनसक्ने भन्यो । साथै मुख विस्तारै खोल्ने, जिब्रो मुखको माथिल्लो भागमा टाँसेर राख्ने र समरूपता जाँच्ने एउटा व्यायाम सुझायो ।”

च्याटजीपीटीले सुझाएको तरिका अपनाउँदा तुरुन्तै आफूलाई राहत भएको उनको दाबी छ । उनले लेखेका छन्, “मैले यसअघि ईएनटी (नाक, कान, घाँटी) विशेषज्ञलाई देखाएको थिएँ, दुई ओटा एमआरआई गराई केही दिनअघि मात्र दन्त चिकित्सकसँग जाँच गराएको थिएँ । दन्त चिकित्सकले मलाई म्याक्सिलोफेसियल विशेषज्ञकहाँ जान सल्लाह दिए । तर, रेफरल आउनुअघि नै मैले समाधान भेट्टाएँ । म उहाँहरूलाई भेट्दा पक्कै यो विषय बताउनेछु ।”

यो पोस्टले २४ हजारभन्दा बढी अपभोट पाएको छ भने १८०० भन्दा बढी कमेन्ट र रिप्लाई आएका छन् । अन्य प्रयोगकर्ताले पनि च्याटजीपीटीको सल्लाहले आफूहरूको समस्या निको भएको प्रतिक्रिया दिएका छन् ।

एक जनाले सोही पोस्टमा कमेन्ट गर्दै भनेका छन्, “तपाईंले मलाई पनि निको पारिदिनुभयो । यो मजाक होइन ।” अर्का व्यक्तिले लेखे, “मैले दशकौंको डाक्टर चहाराइ, अनुसन्धान गरेँ । तर १५ मिनेट च्याटजीपीटीसँग कुरा गर्दा निद्रा समस्याबारे धेरै कुरा पत्ता लगाएँ ।”

तेस्रो व्यक्तिले लेखेका छन्, “म पनि वर्षौँदेखि त्यस्तै समस्यामा थिएँ । एमआरआई गरेँ, विशेषज्ञलाई देखाएँ । पछि क्लाउडी एआईलाई आफ्ना लक्षण सुनाएँ । उसले तीन ओटा परीक्षण गर्न सल्लाह दियो । तीमध्ये दुईको नतिजा सकारात्मक आयो र अहिले उपचार सुरु भएको छ ।”

अर्का व्यक्तिले लेखेका छन्, “एआईले स्वास्थ्य सेवामा क्रान्ति ल्याउने सम्भावना बोकेको यो राम्रो उदाहरण हो । अनावश्यक उपचार घटाउने सम्भावना छ ।”

तर, यो घटनाले एआईलाई स्वास्थ्य सेवामा प्रयोग गर्दा यसको विश्वसनीयता र सुरक्षाका सवालहरू पनि उठाएको छ ।

विशेषज्ञहरूका अनुसार एआईले दिने जानकारीलाई व्यावसायिक चिकित्सा सल्लाह र निदानको विकल्पका रूपमा नहेरिनुपर्ने र यसको लागि स्पष्ट मार्गदर्शन र नियामक संरचना आवश्यक रहेकोमा जोड दिइएको छ ।

यसअघि पनि डाक्टरले पत्ता लगाउन नसकेको समस्या एआईले पहिचान गरेको दाबी आएका थिए । केही समयअघि एक महिलाले एलन मस्कको एआई कम्पनी ‘एक्स एआई’ को ग्रोकले डाक्टरले पहिचान गर्न नसकेको समस्या पहिचान गरेको बताएकी थिइन् ।

उनकी छोरी सानो कार दुर्घटनामा परेपछि हात दुखाइको समस्या देखिएको थियो । परीक्षण गर्दा डाक्टरले केही नभएको भनेका थिए । तर, ग्रोक एआईले रिपोर्ट विश्लेषण गर्दै हात भाँचिएको हुनसक्ने बतायो । त्यसपछि उनी डाक्टर कहाँ गइन् र छोरीको हातको अपरेसन गराइन् ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १५:२७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट