२०८२ बैशाख ८ सोमबार
LATEST NEWS
२०८२ बैशाख ८ सोमबार

 नयाँ पुस्ताको डिजिटल कुलत : कसरी गरिरहेको छ शारीरिक र मानसिक स्वास्थ्यमा हानी ?  

माया १६ वर्षकी थिइन् । उनी सामाजिक संजालमा निकै सक्रिय हुने गर्थिन्। फेसबुकमा नयाँ-नयाँ साथी बनाउने, दिनभरी च्याट गर्ने, सेल्फी खिच्ने र टिकटकमा ट्रेन्डिङ भिडियो बनाएर हाल्न रमाउँथिन्। बिहान उठ्ने बितिक्कै मोबाइल हेर्ने र राति अबेरसम्म मोबाईलमै झुम्मिन्ने उनको बानी भैसकेको थियो । घरमा आमाबुवा पनि मोबाइलमै झुम्मिएका हुन्थे। हजुरबुवाले ‘धेरै मोबाईल नचला’ भनेर बारम्बार सम्झाउँथे तर मायाले मानिनन्। उनलाई यो नयाँ जमानाको स्टाइल जस्तै लाग्थ्यो । पढाई चौपट पारिसकेकी थिइन्। बिस्तारै पढाइप्रति पनि रुची घट्न थाल्यो। कक्षामा फेल हुन थालिन्। एकदिन १८ वर्षको उमेरमा भागेर विवाह गरिन्।अरुण एक होनहार विद्यार्थी थिए। उनी पढाइमा निकै अब्बल थिए। कक्षा ८ सम्म सधै प्रथम हुन्थे। एकदिन उनको बुवाले नयाँ एन्ड्रओईड मोबाईल किनिदिए। घरमा वाईफाई जोडिदिए । उनले मोबाइलमा अनलाईन गेम खेल्न सुरु गरे। सुरुमा उनलाई रमाइलो लाग्न थाल्यो। बिस्तारै गेमको संसारमा हराउने दिनचर्या बन्यो। रातभर गेम खेल्ने र बिहान अबेर उठ्ने दैनिकी बन्यो। साथीभाई र पढाइबाट टाढा हुँदै गए। जतिखेर पनि कोठाभित्र मोबाइल चलाई रहेका हुन्थे। एकदिन परीक्षाको नतिजा आयो। ऊ फेल भयो। प्रविधिको युगमा डिजिटल टेक्नोलोजीले मानव जीवनलाई सहज बनाएको छ। विशेषगरी युवायुवतीहरुले स्मार्ट फोन, सामाजिक सञ्जाल, अनलाइन गेम तथा भिडियो स्ट्रिमिङ लगायतका क्षेत्रमा अत्याधिक समय खर्च गरिरहेका छन्।अहिलेको जेन जी र जेन अल्फा पुस्ता त टेक स्याभी छ । स्मार्टफोन संगै हुर्किन्छ। डिजिटल विश्वमा आबद्धता र स्वीकार्यता खोजिरहेको हुन्छ। सामान्य अर्थमा, डिजिटल एडिक्शन भन्नाले इन्टरनेट, सामाजिक संजाल, अनलाइन गेम, वा मोबाइल फोन लगायत डिजिटल उपकरणको लत लाग्ने गरी अत्याधिक प्रयोग गर्नुलाई बुझाउँछ। इन्टरनेट एडिक्सन, गेमिङ एडिक्सन, सोसियल मिडिया एडिक्सन, प्रोब्लमेटिक स्मार्टफोन प्रयोग लगायतका शब्दावली डिजिटल कुलतको क्षेत्रमा चर्चित छन्।        सामाजिक सञ्जालको प्रभावले डिजिटल एडिक्सनलाई बढावा दिएको देखिन्छ। फेसबुक, टिकटक, इन्स्टाग्राम र ट्विटर जस्ता प्लेटफर्महरुले युवायुवतीलाई लगातार इन्टरनेटमा सक्रिय रहन प्रेरित गर्छ। लाइक्स, कमेन्ट र सेयरको मोहले उनीहरुलाई बारम्बार फोन जाँच्न बाध्य बनाउँछ। टेक उद्योगको नाफा कमाउने सुत्र भनेकै ध्यानाकर्षण गर्नु हो। स्क्रिन टाइम अधिकतम बनाउनका लागि लत लगाउने गरी फ्रेमिङ गरेका हुन्छन्। फ्री फायर, प्लेयर अननोन ब्याटल ग्राउण्ड (पबजी)लगायतका मल्टिप्लेयर गेमहरु अत्याधिक लत लाग्ने खालका हुन्छन् । यी गेमहरुमा उपलब्ध विभिन्न लेभल पार गर्नका लागि खेलाडीहरुले लामो समयसम्म खेलिरहनु पर्ने हुन्छ । गेम खेल्दा शरीरलाई आनन्द आउँछ। आनन्द आउँदा डोपामिन नामक न्युरोट्रान्समिटर निस्किन्छ ।खेल जित्दा, नयाँ लेबलमा पुग्दा र कुनै लक्ष्य पूरा हुँदा यो हार्मोनको मात्रा अत्याधिक बढ्छ। यसैले गर्दा समय गएको थाहा  नै हुँदैन। विशेषगरी कोभिड-१९ को महामारी पश्चात डिजिटल विश्वले आकार लियो। डिजिटल मार्केटिङ, अनलाइन कक्षाहरु, अध्ययन सामग्री र सामानको प्रचारप्रसारमा डिजिटल प्रविधिको हस्तक्षेप बढ्यो। युट्युब, नेटफ्लिक्स, ओटिटि जस्ता अनलाइन स्ट्रिमिङ्ग प्लेटफर्महरु मनोरन्जनात्मक गतिविधिका लागि सहायक बने। यस्ता प्रविधिहरुमा लामो समयसम्म खर्च गर्दा विभिन्न खाल्का शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमा समस्याहरु उत्पन्न हुने गर्छन्। राति अबेरसम्म स्क्रिन हेर्ने बानीले निन्द्रालाई प्रभाव पार्छ। लगातार स्क्रिन हेरीरहँदा आँखा सुख्खा हुने, जलन हुने, टाउको दुख्ने तथा टाढा देख्न गाह्रो हुनसक्छ । मेडिकल भाषामा यसलाई कम्प्युटर भिजन सिन्ड्रोम पनि भनिन्छ । सन् २०१५ तिर गरिएको एक अध्ययन (मेटाएनालाईसिस) ले करिब २६ प्रतिशत किशोरकिशोरीहरु इन्टरनेट एडिक्सनले प्रभावित रहेको तथ्य सार्वजनिक गरेको थियो। विश्व स्वास्थ्य संगठनले भिडियो गेमको कुलतलाई मानसिक डीसअर्डरको संज्ञा दिएको छ। सन् २०२१ मा एजिज एट अलले गरेको अध्ययन अनुसार ईन्टरनेट गेमिंग डीसअर्डर र ईन्टरनेट एडिक्शनले दृष्टिमा समस्या, श्रवण क्षमतामा ह्रास, मोटोपनाको जोखिम वृद्धि र मांशपेशीमा दुखाई लगायतका समस्या गराउने तथ्य सार्वजनिक गरेको छ। अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त पबमेड लगायतका जर्नलमा प्रकाशित लेख अनुसार डिजिटल एडिक्शनले प्रि-स्कुलका बच्चाहरुमा कम्जोर सामाजिक सीप तथा सामाजिक सम्बन्ध, एग्रेसिभ व्यवहार र डिप्रेशन तथा एन्जाईटिको संभावना प्रबल हुन्छ। सन् २०२० मा फार्चाक एट एलले डिजिटल कुलतले ध्यान केन्द्रितता, स्मरण क्षमता र समस्या समाधान सीपमा नकारात्मक प्रभाव पार्ने कुरा उल्लेख गरेका छन्।लामो समयसम्म फोन, ल्यापटप वा ट्याब प्रयोग गरेमा यसले शारीरिक गतिविधि घटाउँछ। गलत आसनमा लामो समय बस्दा ढाड दुख्ने, मांसपेशी कमजोर हुने र मोटोपना बढ्ने जस्ता समस्या आउन सक्छन् । सामाजिक अन्तरक्रियामा समय दिन नसक्दा एक्लोपन हुन्छ । अन्य व्यक्तिहरु संगको सम्बन्ध कमजोर हुँदै जान्छ। बिस्तारै डिप्रेशनको सिकार हुन सक्ने संभावना प्रबल हुन्छ। जंक ज्ञानको अत्याधिक सेवनले अनावश्यक चिन्ता र तनाव सिर्जना हुन्छ। अध्ययन तथा ध्यान केन्द्रित गर्नुपर्ने कार्यमा कठिनता महशुस हुन्छ।   बदलिँदो परिवेशमा यो क्षेत्रमा विभिन्न अध्ययन भईरहेका छन् । जानिफकारहरुले केहि व्यवहारिक उपायहरु सुझाएका छन्। सानै उमेरदेखि डिजिटल शिक्षा संगै डिजिटल अनुशासन सिकाउनु पर्छ । घरमा अभिभावकहरु ‘रोल मोडेल’ बन्नु पर्छ। मोबाईल वा ईन्टरनेट प्रयोग गर्ने समय निर्धारण गरी मात्र प्रयोग गर्नुपर्छ। स्क्रिन टाईम ट्रयाक गर्ने एप्स प्रयोग गर्न सकिन्छ। हप्तामा कम्तिमा एक दिन वा केही घण्टा डिजिटल उपकरण प्रयोग नगर्ने संकल्प लिन सकिन्छ। डिजिटल डिटोक्स, डिजिटल डाईटिंग वा नो फोन डे जस्ता विधिहरु अपनाउनु पर्छ। सुत्ने कोठा, अध्ययन कक्ष वा खानाको बेला मोबाईल प्रयोग नगर्ने घरेलु नियम बनाई नो फोन जोन बनाउन सकिन्छ।स्मार्ट फोनलाई डम्ब फोन पनि बनाउन सकिन्छ। अतिआवश्यक एप्सहरु मात्रै राखेर वा फोमो (फियर अफ मिसिंग आउट) कम गर्न कुनै एउटा मात्रै सामाजिक संजालको प्रयोग गरेर यस्ता कुलतबाट बच्न सकिन्छ। सामाजिक संजालमा अनावश्यक पोष्ट र कमेन्ट गर्ने बानी हटाउनु पर्छ। पोष्ट र कमेन्ट गरेमा त्यसको प्रतिक्रिया के आयो भनेर मष्तिस्कले हेर्न खोज्छ।अहिलेको पुस्तालाई तुरुन्तै प्रतिक्रिया चाहिन्छ। खेलकुद, योग र जिम जस्ता गतिविधिहरुमा संलग्न भई मोबाईल प्रयोगको समय घटाउनु पर्छ। डिजिटल उपकरणको साटो पुस्तक पढ्ने बानीले ज्ञान बढाउन तथा मानसिक स्वास्थ्य सुधार गर्न सहयोग गर्छ। परिवार तथा साथीहरुसँग समय बिताइ वास्तविक जीवनका सम्बन्धहरु बलियो बनाउने प्रयास गर्नुपर्छ। आँखा सुरक्षाको लागि ब्लू लाईट फिल्टरको प्रयोग गर्नुपर्छ । प्रत्येक २० मिनेटको प्रयोगमा २० सेकेण्ड ब्रेक लिने र २० फिट टाढाको वस्तु हेर्नेगरी २०-२०-२० नियम पनि अपनाउन सकिन्छ । अन्त्यमा, डिजिटल प्रविधि आजको युगको अपरिहार्य आवश्यकता हो । शिक्षा, स्वास्थ्य, व्यापार, संचार र अनुसन्धान जस्ता क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएको छ। इन्टरनेट मार्फत विश्व्यापी जानकारीको पहुँच सहज भएको छ भने डिजिटल प्लेटफर्महरुले अध्ययन, रोजगारी र नवप्रवर्तनका नयाँ अवसरहरु सिर्जना गरेका छन। विशेषगरी युवाहरुको लागि शिक्षा, रोजगारी, उद्दमशीलता र सिर्जनशीलताको लागि अवसरको खानी प्रदान गरेको छ । प्रविधिको सदुपयोगले जीवन समृद्ध बनाउँछ। तर, गलत/अत्याधिक प्रयोगले जीवन भडखालोमा पुर्याउन सक्छ । समयको दुरुपयोग, मानसिक तनाव, एक्लोपन, र सामाजिक दूरी डिजिटल कुलतका खतरनाक परिणामहरु हुन्। तसर्थ, प्रविधिलाई केवल मनोरंजन वा लतको साधन नबनाऔं। स्मरण रहोस्, हामी प्रविधिका मालिक हौँ, दास होइन!(कुँवर वरिष्ठ जनस्वास्थ्य अधिकृत हुन्)          
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट