आरोग्य सब्द सुन्दा नै कति आनन्द महसुस हुन्छ। आरोग्य रहनु भन्नाले निरोगी रहनु कुनै पनि रोगबाट पिडित नहुनुलाई बुझिन्छ। आयुर्वेदमा रोग अथवा व्याधिलाई हाम्रो शरीर एवं मनमा हुने प्रतिकुल बेदनाको अवस्था भनेर परिभाषित गरिएको छ। जब मानवसँग दु:खको संयोग हुन्छ, त्यस अवस्थालाई रोग लागेको अबस्था मान्न सकिन्छ। आरोग्यताले दु:ख रहित मानव जीवन यापनको कल्पना गर्दछ। आरोग्यता शब्दले मात्रै शारिरिक निरोगितासँग सम्बन्ध राख्दैन पुर्णतः शारिरिक मानसिक सामाजिक एवम् अध्यात्मिक रुपमा स्वस्थ्य रहनु नै आरोग्यता पुष्टि गर्दछ।आजको अब्यवस्थित आहार बिहार र जीवनशैली नै मुख्य रुपमा दिर्घकालसम्म रहने साथै नसर्ने रोगहरुको कारकतत्व मानिन्छ। आरोग्यता कल्पना गर्दै गर्दा आरोग्यको मार्ग बुझ्नु जरुरी रहन्छ । आयुर्वेदका जीवनयापनका नियमहरु भित्र रहेका तथ्यपरक तथा बैज्ञानिक पाटोहरुलाई जान्न बुझ्न र अपनाउन आवश्यक छ। वेदकालिन ज्ञान हामी पूर्वीय सभ्यतामा रहेका देशहरुका लागि बरदान हुन्। मानव सभ्यता विकास क्रममा हाम्रा पुस्ताहरुले भोगेका जानेका खोज अन्वेषण गरेका तथ्यहरुनै बेदमा लिपिबद्ध भएका हुन् । कुनैपनि वेदमा उल्लेख्य तथा निर्दिष्ट उपायहरु एकजना ब्यक्तिले कल्पना गरेर रचेर लेखिएका होइनन्। तसर्थ वेदकालिन आरोग्य सूत्रहरु हाम्रो माटो सुहाउँदो हुन्छन्। हाम्रो भौगोलिकता र हाम्रो शारिरिक तथा मानसिक प्रकृति अनुरुपको आरोग्यज्ञान हामीलाई हाम्रा पुर्खाले छाडेर गएको अमूल्य उपहार हो । मुख्य रुपमा आरोग्यताको सुत्र निरोगिताको उपायहरू बारेमा अथर्ववेदको उपवेदको रुपमा रहेको आयुर्वेदमा वर्णन गरिएको छ।निरोगी रहनका लागि आयुर्वेदका बिभिन्न आचार्य एवम् ऋषिहरुद्वारा संकलन गरिएका ज्ञानहरुको संग्रहलाई हामी आयुर्वेदका संहिता भन्दछौं । चरक संहिता सुस्रुत संहिता अष्टाङ्ग हृदय लगायतका कयौं संहिता ग्रन्थहरुमा आरोग्यताका सुत्रहरु बिस्तार रुपमा वर्णित छन् । ती सुत्रहरुको सम्यक ज्ञान र पालना निरोगिताको मार्ग प्रसस्त गर्न अत्यन्त प्रभावकारी रहेका छन्। दिनचर्याको मात्रै सम्यक रुपमा पालना गर्न गराउन सकेको अवस्थामा घातक भनिएका सयौं नसर्ने रोगहरुको जोखिम शून्यप्राय हुन जान्छ । योगका अंगहरुलाई मात्रा दैनिकीमा अवलम्बन गर्न सकेको खण्डमा मानसिक स्वास्थ प्राप्त गर्न सकिन्छ।हामीले खाने खानालाई समय अनुकुल बनाउन सिकाउन सकेको अवस्थामा आहार अधिकताजन्य र न्युनताजन्य ब्याधिहरुबाट छुटकारा पाऊन सकिन्छ । मौसम अनुसारको खाना र क्रियाकलापका नियमहरु सिकाउनका लागि ऋतुचर्याको वर्णन आयुर्वेदका संहिताहरुमा पाईन्छ । यी सम्पूर्ण नियमहरु दुई हजार बर्ष अघि भाष्य एवम् श्लोक रुपमा सुत्रवत सुरक्षित गरिएका आरोग्य सुत्रहरु हुन्।आजको बैज्ञानिक मानिएको युगमा आइपुग्दा पनि हामीले हाम्रा पुर्खाहरुले खोज अन्वेषण सम्भाषा परिषद्बाट पारित गराएर शास्त्रमा उल्लेख गरिएका ज्ञानका भण्डारहरुलाई खोजी खोजी अध्ययन गर्नु, बुझ्नु र पालना गर्नुऽ त्यो ज्ञान अरुलाई बुझाउनु र पालना गर्नका लागि उत्प्रेरित गर्नु नै आजको आरोग्यताको यात्राको सुरुवाती कदम हो।
सामाग्री श्रोत :
swasthyakhabar

