“प्यार मांगा है तुम ही से
ना इनकार करो…”

उपक्षेप :
Disguised within the life we call chaos,
The Divine Mother hid a beautiful harmony & named it Love.
Disguised within the world we call disorder,
She placed a perfect order & named it Love.
श्रीराधा।
स्टेटमेन्ट : एक सत्य कथा,
एक प्रेमकथा …
एक सत्य प्रेमकथा…
उल्लेख : पात्र तथा स्थानका नाम परिवर्तित।
मुख्य पात्रहरू :

दीत्या र समीरण।
समीरण र दीत्या।
दीत्याको समीरण र समीरणकी दीत्या।
दीत्या+समीरण।
समीरण+दीत्या।
एक प्रेम कथा …
र, र साइड हीरो सुरेन् पनि…
अनि सुरिन् पनि…
प्रेमजोडी दीत्यासमीरणमा समर्पित !
“ये क्या हुआ
तेरे मेरे प्यार की बातें
क्यूँ दुनिया की नजरों में आ गयी
हाँ तेरे मेरे प्यार की बातें
क्यूँ दुनिया की नजरों में आ गयी…”
मञ्चन :
समीरण :
केही दिनदेखि बुढाबुढीको गाइँगाइँ गुइँगुइँ सुन्दै थिएँ–घरी साहुजीको मधुरो आवाजबाट अनि घरी जबर्जस्ती दबाउन खोज्दा पनि साहुनीको दबिन नसकेर मेरो कानसम्ममा आईपुग्न भ्याएको तिखो आवाजमा… “हाम्री नानीलाई उहाँ बाबुसँग बिहे…एकदम मिलेको… सब मिलेको… कस्तो मिल्ने जोडी हुने दुईटाको…” आदि आदि।
म यसो छेउछाउ, अगाडि-पछाडि हेर्थेँ हाम्रा केटाहरूमध्ये कसैको लागि कोही केटी विवाहको विचार हो कसो ?! कि कोही अर्कैलाई भन्या हो?!
साहुसाहुनीसँग ‘टर्म’ राम्रै भए पनि उहाँहरूको ‘पर्सनल’ गफ हो कि? त्यति वास्ता गरेको थिइनँ। कहिलेकाहीँ कफीशपमा अरू केटाहरू नभएर म मात्रै भएको बेलामा पनि उही कुरा दुई बुढाबुढीको-“हाम्री नानीलाई उहाँ बाबुसँग बिहे…एकदम मिलेको… सब मिलेको… कस्तो मिल्ने जोडी हुने दुईटाको…”।
यो क्रम दुई तीन पल्ट… अँ…अझै धेरै पल्ट दोहोरियो। हाम्रा अरू केटाहरूको उपस्थितिमा यो कुरा भएको भए हामी एक अर्कालाई सुनाउथे होलान्, तर अहँ कसैले हामी आफूमा केही सुनाएका पनि छैनन्!
मलाई हल्का शंका लाग्यो… “यो बाबु…” भन्या छ, “उहाँ बाबु…” भन्या छ। केटाहरू नहुँदा पनि, हुँदा पनि मैले नै ‘मार्क’ गर्नै पर्ने जसरी मैतिर इङ्गित गर्दै मलाई नै सुनाउन पनि खोज्या झैँ, घरी सुन्ला कि भने जस्तो गर्या पनि छ! मेरो बारे नै हो कसो ?!
त्यसपछि को केटी, के केटी, कस्ती केटी, कहाँ की… कौतुहलता बढ्न लाग्यो दिनानुदिन… फेरि म एक्लै भा भेला फेरि साहुसाहुनीको गुनगुन गुनगुन, खासखुस खासखुस… “यी बाबु, हाम्री नानी…आदि आदि”। “के कस्ती, को चैँ रहिछन्…”, मलाई नि केही समयबाट बढेको कौतुहलता यी बुढाबुढीले खुसुरफुसुर गरिरहेका उनका “हाम्री नानी…”को ‘शान्ति दर्शन’बाट मेट्ने चाह हुन लागेको थियो सायद!
यही शंकाले म पनि साहुसाहुनी अघिल्तिर अचेल आफ्नो पुरानो अलमस्त पाराबाट हल्का उठेर अलिक गजक्क परेको ‘एट्टिट्युड’ वाला ‘पर्सन्यालिटी’ दिन लागेको थिएँ! काममा आवश्यक भए पनि नभए पनि कहिलेकाहीँ त सूट नि ठोक्दिन्थेँ! कहिले ‘टु पीस’ अनि कहिले त ‘थ्री पीस’ पनि!
अनि हल्का कालो चश्मा पनि ! घाँटीमा ‘टाइ’ थपेर…
याद आओस् न मिठास जिन्नगीमा फर्केर…
केटाहरू ठीस भैरा’थे अचेलको मेरो ताल देखेर …
केही दिन यसरी नै बितिरहे… केही दिन भित्रका धेरै दिनहरू यसरी नै बितिरहे…
गजक्क पर्न छाडिनँ ! म पनि गजक्क नै परिरहेँ …
अनि एक दिन !
आज चैँ साहुनीले केटाहरूलाई मेरै लागि उनको बारे सिधै कुरा गर्नु नै भएछ; “यस्ती, यस्ती एउटी केटी छिन्, हाम्री आफन्त, साह्रै सुन्दर, सुशील, हँसिली, मिजासिली-फरासिली, पढाईमा तीक्ष्ण अत्ति, ‘ट्यालेन्’ ज्यादै; ‘टपर’-एकदम टप गरेको गरेकै गर्ने, उध्धुम उत्पात्, राम्री साह्रै विछट्टै…हाम्रा समीरण बाबुलाई…एकदम मिल्ने…” आदि आदि… आदि…आदि!
केटाहरूले पनि त्यही दिन उनी आमासँग आउँदा उनलाई देखेका रहेछन् ! म त्यो दिन दिनभर श्वास पनि अर्कालाई फेर्दे है भन्न पर्ने गरी झैँ बिहान सबेरैबाट काममा व्यस्त च्यापिएको थिएँ।
राति साढे आठतिर अचानक फोन बज्यो! “ओई ! तिनी त लास्ट राम्री छिन् त यार! ‘हाइट’ पनि सही छ! सही अग्ली! जान हेर्!” सुरेन् ले मलाई फोनमा सुनायो!
काममा हाकिमले च्यापेर रातको साढे आठ भैसक्या थ्यो। “कतिखेर यो हाकिमको तनावले छोड्छ र उनका मिठास भरे ‘शान्ति दर्शन’ हुन्छ!”, सुरेनेले उचाल्दिएको फोन पछि अब म मनैमन मुस्काउँदै ध्यानै त्यतै उनको कल्पनामा चित्र बनाई रोमाञ्चक उत्सुकतामा रुमलिन लागिरहेको थिएँ।
कतै हाकिमले पनि विचार गर्न भ्याएका पो थिए कि बाहिरबाट नदेखिएको मनको मेरै मिठाई हाँसो आफ्नै ओठमा आई मैले पनि थाहै नपाई पोखिँदा ?! हाकिमले अनेक के के सोध्दथे, के के कुरा गर्थे सबैको जवाफ “अँ, हो, त्यै त, कहाँ हुनु, हैन …” आदित्यादिमा सल्टाउँदै थिएँ धमाधम, ध्येय त मेरो खालि उनको रोमाञ्चक ‘शान्ति दर्शन’ मै केन्द्रित न थियो!
हाकिम पनि मनैमन सोच्दा होलान्; “यसलाई अहिले अचानक एक्कासी के भो हँ ?! अगिसम्म त ठिकै थियो त!” “आर यू अलराइट?”, हाकिमले सोधेको अहिले पनि सम्झँदा हाँसो उठ्छ। मैले ओठे मुस्कानले ‘थम्ब्ज अप’मा जवाफ फर्काएको थिएँ; ‘यस सर! पर्फेक्ट !”
समय-रातको साढे नौ बजे! अब चैँ हाकिमबाट बल्लतल्ल ‘पन्छिएर’ सुकेधारादेखि हतार हतार कोटेश्वर पुग्दा पउने दश! आमासँगै आएकी उनी, दुवैजना फर्किसकेका रहेछन्! त्यति रातिसम्म पनि को बसिरहोस् ?! आज दर्शन पाइएन ! हाम्फालेर मख्ख हुँदै फुलेर फुरुक्क हौसिँदै हतार हतार आएको मन खिस्रिक्क भएको थियो ! उनकी मामामाइजू – साहुसाहुनी भित्र खाना खाँदै हुनुहुदो रहेछ। ‘डिसअपोइन्टमेन्ट’मा मैले “लौ मलाई चिया बनाइद्याओ !” यति भनेर सोफामा थचक्कै बसेँ।
चिया ?
रातको दश बजे चिया ?!
उफ् !
अनि वाह !
रातको दश बजे पनि चिया !
सायद मुना मुना मुना चिया ! मुना…
भोलिपल्ट…
उनका मामामाइजूका छोरा मनोहर दाइले उनको नम्बर मलाई दिनुभो ! मैले सेभ गरेँ-–
‘लङ स्टोरी !’
फोनमा नम्बर सेभ गर्दा उनको नाम नै ‘लङ स्टोरी’ ‘न्वारन’ गर्दिन पुगेको थिएँ। किन? खै किन?! था छैन। सायद भावीले प्रेमजीवनको सुरुवातको अनुभूतिवाला छनकमा पो त्यसो गराईदिन पुगेकी थिन् कि?!
प्रेमजीवनमा हरचिजको ‘न्वारन’ हुने रहेछ कसो!
मान्छे प्रेममा पर्दा फेरि जन्मने रहेछ कसो?!
एक अर्काको नाम देखि हर कुरा रोमाञ्च नयाँ ! पाइलापाइलामा मायालु ‘न्वारन’ ! ‘प्रेमन्वारन’!
‘लङ स्टोरी’…
‘अ फीऊ डेज लेटर…’
केही दिन पछि ‘हाइ’ लेखेर पठाएँ। उनले “को हो र हजुर ?!”, पठाईन् लेखेर।
कस्तो ठाडो लाग्यो पारा बाब्बा !
मैले हेरेँ ती अक्षरहरू ! नियालेर !
स्क्रीनमाथिबाटै हातको खुलेको पन्जाले मानसिक स्पर्शमा छामेर !
प्रतिप्रश्नात्मक जवाफ उनका तिखा झैँ पनि अक्षर कोमल लागे !
तिनका पछाडिका लेख्नेवाली अझ कोमल लागे !
अझ कोमल लागे कल्पनाको चित्रमा अक्षरवाली, तिखा अक्षरवाली !
सायद आगामी भविष्यमा हुनेवाली, मेरी प्रेमकी ढाई आखरवाली !
काँडा झैँ अक्षरका आवरणमा छोपिएकी एक गुलाब ! मेरी गुलाब !
एक रातो गुलाब !
मैले घोच्ने अक्षर देखिनँ, तिनका कोमलता छोएँ !
मैले काँडा भेटिनँ, फूल देखेँ।
काँडा नै फुले झैँ लागे !
काँडा काँडा थिएनन्, अब ती फूल लागे।
काँडा नै फूल लागे !
बडा नाजुक ! नाजुकतालाई केही जबर्जस्ती ठाडोपनको स्वाङ बेरेर प्रेमका ढाई आखर उनले फालेकी झैँ ! म मनैमन मुसुमुसु रमाएँ…र एकछिन पछि लेखेँ ; “कोही हो !”
दुई तीन दिन पछि…
फेरि दुई तीन दिन पछि फेरि लेखेँ “के छ ?” र, कुरेँ …कुर्दा-कुर्दा बल्लतल्ल तीन घण्टा पछि टिङडिङ भाइबरको ‘मेसेज नोटिफिकेसन’ बज्यो !
आयो ! जवाफ आयो। बल्लतल्ल – “को हो र हजुर भन्नुन ?”
के भनौँ भनौँ एकछिन अक्मकिएँ ! अलमलिँदै जवाफ फर्काएँ; “ ‘लङ स्टोरी’ छ पछि भनौँला !”
दीत्या :
“को हो र हजुर भन्नुन भन्ने हरेक पटकको मेरो एउटै प्रश्नको जवाफ घरी ‘कोही हो’ त घरी ‘लङ स्टोरी’ भन्दै किस्ता किस्तामा दिने उनी बल्ल दुई किस्ताबाट तीन किस्तामा जवाफ लिएर भाइबरको ढोकामा खड़ा थिए; आज चैँ बल्ल उनले भने –
“एन्भायोरोन्मेन्ट साइन्स पढ्दै छु।” “र, र गुजाराका लागि एउटा सानुतिनु जागिर पनि गर्छु।”, अरू धेरै भनेनन्। त्यति मात्रै भने। मलाई कौतुहलता भयो। मैले अझै सोधेँ… “हजुर को हो भन्नुन।” “ ‘लङ स्टोरी’ छ पछि भन्छु।”, फेरि उनी आफ्नो पुरानो दोस्रो किस्ता कै कथामा फर्किएका थिए ! त्यति मात्रै जवाफ आएको थियो। “किस्ते पे किस्ता…किस्ते पे किस्ता…”, किस्ता-किस्ता … कत्ति धेरै किस्ता ??? सानुतिनु जागिर गर्छु भन्छन्, जवाफ पनि किस्तामा दिन्छन्, ‘पर्ह्याप्स’ फाइनान्स तिर काम गर्छन् कसो ?! कि यी उनका जवाफ थिए या कुनै इन्स्योरेन्सका प्रीमियर ? यो बारबार हरबारको किस्ताबन्दी पछि मलाई केही झिँझो मिस्रित रिससँगै शंका लाग्यो र मैले उनलाई जवाफमा प्रतिप्रश्न लिएर आफैँ सशङ्क भएँ; “हजुर यस्तो… यस्तो… मामामाइजूहरूले कुरा गर्नुभएको मान्छे हो ?”
जवाफ आएन।
दिन कयौँ बिते…
ती दिन त्यसै बितेका थिएन रहेछन् ! दुवैको मनमा मायाँ, एक अर्का प्रति, कत्ति न कत्तिखेर मायाँ, थाहै नपाई टुसाईसकेछ !
कयौँ दिन यस्तै किस्ता किस्तामा भाइबरमा बोल्न लागे पछि मन उल्लसित अब खुब बोलुम् बोलुम् को मिठो उत्सुकता, मायाँको रोमाञ्चक कौतुहलता !
बिहान बेलुका खुसुक्क फोनमा गफ, घराँ मान्छे भा बेला लुकेर लेखेर च्याट बडा सहज ! लुकेर, दुनियाँसँग छिपेर, अनि चोरेर लाएको मायाँ ! ओह्हो !
मेरो घरबाट उनलाई सजिलै सम्पर्क गर्न नमिल्ने; लुकेर-छुपेर हो बसेको थियो हाम्रो मायाँ चोखो छुपाएर ! उनी अफिस हुँदा दिउँसो नेट कनेक्ट हुँदो हो, भाइबर च्याट गर्न आफूलाई बिहान खाना खाए देखिको दिउँसोका प्रहर कुर्न खुब उफान !
मायाँले कुराई र व्याकुलता पनि साथै लिएर आउँछ कसो ?! आगोले आफूसँगै ताप ल्याए झैँ !
“पढेलेखेको चालचलन निको, कमाई राम्रै, बोलीव्यवहार जाति, माइजूको मनले साह्रै खाएको, उहाँको दिलमा खुब भाएको, आँखामा राख्दा नि नबिझाउने कोमल खुब जँचेको..”, यी र यस्तै यस्तै कुरा माइजूले मलाई अभिव्यक्त धेरै पल्ट गर्नुभएको थियो। “यत्तिको केटा उचित छन्”, अक्सर उहाँको हितैषी सल्लाह हुने गर्थ्यो। जुन कुरा मेरो मनमा उनी प्रति थाहै नभई बसेको मायाँमा ‘साइडमा सपोर्टिभ रोल’ खेलिरहेका थिए कि ?! न उनको घर देखेकी थिएँ, न उनको परिवार !
……………………………….
कोही खास !
केही खास हुँदा कोही खास हुन्छन्…
हो ! यो सही हो।
सुरुमा त उनको नम्बर सेभ गरेकी थिइनँ !
कोही खास नम्बर परैबाट चिनिन्छ !
अलि अलि अङ्कका धमिला आकृति …
बस ! त्यति मै नम्बर प्रस्टै चिनिन्छ !
समय आँकलनको आसपासमा फोनहरू बज्छन् यहाँ,
सम्झनाका तीव्र प्रहरहरूमा फुल्छन् मायाँ, मायाँका सम्वाद तीव्र र मेसेजका घण्टी पनि… अनि मेसेजका घण्टी पनि…
पछि बसीगएछ पिरती यसै अनायासै अनि घरमा था नहोस् भनी उनको नाम उल्ट्याएर फोनमा सेभ गरेँ ! यो चैँ मैले उनको ‘प्रेमन्वारन’ गर्दिएकी ! ‘फोनन्वारन’।
‘रीक्वेस्ट !’
‘फ्रेन्ड रीक्वेस्ट !’
एक दिन एउटा ‘फ्रेन्ड रीक्वेस्ट’ आएछ !
यसो हेरेँ उनकै रहेछ !
फेसबुकमा उनले ‘रीक्वेस्ट’ पठाएका रहेछन्।
‘फ्रेन्ड रीक्वेस्ट’को रातो बलेको सङ्ख्यामा एउटा अर्को थपिएको थियो !
हत्तपत्त एसेप्ट गर्दिनथेँ। बग्रेल्ती थियो !
खै यो किन गरेँ ?!
फेसबुकका ‘फ्रेन्ड रीक्वेस्ट’ फगत ‘रीक्वेस्ट’ होओइनन्। ‘रीक्वेस्ट’हरू अक्सर ‘रीक्वेस्ट’ लिएर आउँछन्, मायाँको, प्रेमको, पिरतीको ! ‘रीक्वेस्ट’ प्रणयको, अनुरोध, एक अनुरोध, मायाँको विन्तिपत्र; ‘फ्रेन्ड रीक्वेस्ट’ मै अटेका हुन्छन् अक्सर अचेल पुरै प्रेमपत्रहरू, लामा-लामा सिङ्गा प्रेमपत्रहरू-‘फ्रेन्ड रीक्वेस्ट’मा अन्तर्निहित हुन्छन्, जीवनका अन्तर्निर्मित मुटुका धड्किरहेका ढुकढुकी ‘रीक्वेस्ट’हरू। ‘रीक्वेस्ट’ त्यसै आएका हुन्न रहेछन्। उनको ‘रीक्वेस्ट’ कालान्तरमा यस्तै हुन पुगेको थियो। उनीसँग पिरती गाँठिए पछि बल्ल झलमल्ल बुझेकी थिएँ !
…………………………………
उनको बोल्ने तरिका, उनको स्वर-आवाज त्यसै त्यसै मिठा थिए, मिठा लाग्न लागेका थिए। गिटार बजाउँदथे, गिटार बजाएर गाउँथे र भाइबरमा पठाउँथे। गिटार बजाएर उनले उता गाउँदा यता ममा पिरतीका बहार पनि सँगै गाउँदथे।
प्रायः सबिन राइका मायाँमा ‘लङ्गिङ्ग र यर्निङ्ग’ भरा ‘हस्की’ धूनहरू;
“गुराँसको फेद मुनी सम्झनाको छायाँ
जहाँ गए पनि किन लाग्छ
मलाई तिम्रै मायाँ…”
कतै उनका प्रेमव्यथाहरू;
“सुरुवात कसरी गरुँ म आफ्नो कथा
जहीँ को त्यहीँ छ मेरो
त्यही पुरानो व्यथा…”
अनि ‘दी एज ब्यान्ड’का ‘मेलान्कोलिया’हरू…
“नचाहेको होइन तिमीलाई
चाहन्थेँ जुनीजुनी भरीलाई…”
गायन र वादन दुवै मोहक उनको, अनि हाम्रो वियोग थिएन तर खुब वियोगी गीत पठाउँथे,
मलाई हल्का हाँसो उठ्थ्यो र म हाँसेर जवाफ पनि पठाइदिन्थेँ ! अनि उनी फेरि उही तालमा बजाउँदै गाएर जवाफिन्थे;
“मेरो आँसु तिमीलाई हाँसो भएछ
मेरो व्यथा तिमीलाई कथा बनेछ
विवशतामा खुसी थिएँ
तिमी बिना छाती मेरो
कति पोखेँ तिमी सामु
समर्पणको मुटु मेरो…”
‘मेलान्कोलिया’ प्रेम भित्र कै एक आयाम हो, त्यै भएर जिन्दगीमा दर्द नभएको अवस्थामा पनि प्रेमदर्दले दुखाई आफूसँगै बगाउँछ ! म पनि बग्थेँ। अनि ‘रोमान्टिक’ धूनमा उनी आफूसँगै मलाई पनि पिरतीका ‘क्लाउड नाइन’ वाला बादलमा उडाई पुर्याउँदथे …
……………………………………..
बोल्दै जाँदा यत्तिकै उनी जे थिए, जस्ता थिए, जस्ताको त्यस्तै उनलाई प्रेम गर्न लागेकी थिएँ। अग्लो कद, घुङ्ग्रालु बाल, सोझो अनुहार, मन्द बोली र सादगी व्यवहार… मेरा प्रेममुरत मायाँको चित्र उनी जिन्दगानीमा यसरी नै चित्रित थिए।
उनी जे थिए त्यही नै, उनी त्यही अभिव्यक्त थिए, उनी जस्ता थिए त्यही नै, त्यस्तै व्यक्त थिए। ‘वाऊ !’ भन्ने लाग्ने कुनै अवस्थामा साँच्चै कहीँ कतै या कोही कतै मनश्चित्रण होला कसैलाई र मायाँ घटित होला, सम्भाव्यता अनेक, स्वाभाविक हुन सक्छ तर प्रेम सामान्य अवस्था मै साँचो पनि घटित हुने रहेछ ! आम जीवन मै पनि ‘वाऊ !’ हुने रहेछ। मलाई यही नै हुँदो थियो …
उनका साथीसङ्गत जस्ता छन् त्यै, परिवार र पारिवारिक अवस्था जस्तो छ त्यै।
…………………………………
मेरा मिलेका बेला उनीसँग गफिन्थेँ – मेरो मिलेका बेला म उनलाई सङ्केत गर्थेँ मिस्डकलले अनि उनी फोन गर्थे, या उनी आफ्ना आँकलनले ‘कन्ट्याक्ट’को प्रयास गर्थे ! प्रेममा ‘इनबील्ट’ घडी ‘अटोमेटिक एक्टिभेट’ हुने रहेछ…
प्रेमित स्पर्शका आवश्यकता अनुभूतिमा समय आफैँ थाहा हुने रहेछ !
एकले अर्कालाई सम्झेको भन्दै नभनी आफैँ पता चल्ने रहेछ !
बोल अब भनी सम्झनाको आफैँ हावा चल्ने रहेछ…
न कसैले कसैलाई ‘प्रपोज’ गर्याे !
न मायाँ शब्दका औपचारिकतामा नियतिले जरुरी माग्यो !
बोलीले धेरै मायाँ थोरै सम्म त भन्न सक्ला,
तर अनन्तता बोकेको मायाँ बोलेरै मात्र कहाँ व्यक्त हुन सक्यो ?!
समीरण :
“आज दीत्यासँग पहिलो भेट ! “मे बी अ कफी डेट ?!”,
हल्का आँट गर्दै एस्सो सोधिदेर मुस्काएको थिएँ,
स्माइलवाला स्माइली पठाएर उनलाई मैले जिस्क्याएको थिएँ,
उनलाई मेसेन्जरमा; “आवर फर्स्ट डेट !”
उनी हाँसेकी थिईन् जवाफी उस्तै स्माइलीमा,
‘कफीडेट’को प्रस्ताव स्विकार जो भएको थियो ! मायाँको स्विकार !
नयाँ बानेश्वरको ‘अरोमा क्याफे’…
म पुगेँ, अनि उनी पनि पुगिन् !
धपक्क बलेकी उजेली चन्द्रमुहार, कमलाक्षी नयनहरूमा शुभाञ्जन,
मुस्कान, चन्द्रमुस्कान – झुकाएर नजरहरू पूर्णिमाकी खुलेर हाँस्दै शर्मिली चाँदनी झैँ ! र, उनका हावभाव ! हाय ! सुवदना-सुलक्षणा !
अग्ली कद, खुला फिँजिएका श्यामलिमा केशमा हल्का लाल रङ्ग गज्जब वाह-यस्तो लागेको थियो जस्तो गोधूलिमा आकाश केही अँधेरो छ र त्यसमा मोहक अरुणिमा रङ्ग छरिएको छ.. ओह्हो ! रम्यश्री सान्ध्य लालिमा …
झुम्का उनका कानमा त्यसरी झुलेका देख्ता पिरतीको हिन्दोलमा यो मन बेस्सरी झुलेको थियो .. भुवादार हल्का गुलाफी स्वेटर, रङ्गीबिरङ्गी मफ्लर, कालो जीन्स अनि कालै थिए बूट … अह्हो ! सुन्दर थिए सुवेष !
पहिलो चोटी देख्ता एक अव्यक्त मिठो खुसी,
मन उल्लोलित,
मुटुका थोरै मायालु अप्ठेराहरू र,
थोरै ‘नरभसनेस’ मिश्रित मिठै थिए दौडिरहेका ढुकढुकी …
मनैमन सोचेँ; “मैले ‘प्रेमन्वारन’ गर्दिएको मेरी ‘लङ स्टोरी’ ! र, मुस्काएँ ! ‘लङ स्टोरी’- भेटै नभईकन लामो कुरा भो। बिना हाम्रो भेट, हाम्रो मायाँको भेट भो ! मायाँको लामो सहयात्राको खातिर जो भेट भयो। प्यारको सिलसिलाको साक्षात्कार जो भयो। मायाँको रूप, मेरो मायाँको स्वरूप तिमी मेरी ‘लङ स्टोरी’ ! …अब म तिमीसँग ‘लङ’ जीवन बिताउनेछु।…”, यस्तै यस्तै आफैँ आफैँ सङ्कल्परत हुन पुगेको थिएँ, आफैँ आफैँमा खै किन हो किन थाहा छैन !
………………………..
“बिजुलीबजारको मेरो डेराबाट ग्वार्को उनको कलेज लिन र पुर्याउन म अक्सर गईरहन्थेँ। उनी बस्थिन् शङ्खमूल। शङ्खमूल त्यसपछि मलाई आफ्नै लाग्न लागेको थियो ! र, आजसम्म पनि। अनि, पछि बुढ्यौलीसम्म पनि। आफ्नै लाग्नेछ !
एकदुई ‘पिरियड’ अगाडि नै छुट्टी हुँदा उनले फोन गर्थिन्। म दौडेर पुग्थेँ। कलेजबाट छुटेर उनलाई पुर्याउन उनको सम्म पुग्दा बाटामा चटपटसटपट, पानीपुरी खुब खाइन्थ्यो। र, र सुन्तला पनि !
अनि चौरको दुबोमा बसी छोडाएर सुन्तला पनि ! अँ ! अनि त्यसपछि कहिले बदाम पनि ! अनि फुटाएर प्वाट्ट बदाम पनि। जिन्दगीमा यसअघि पानीपुरी र त्यो केजाति चटपट कहिले खाइयो होला र खै ?! खाइयो होला नै पनि कि बच्पनमा !
ती स्वादका स्मृति बच्पनसँगै उतै छुटेका थिए। फर्किएर फेरि चटपटमा ध्यान गएको थिएन। पानीपुरी परक्क फुटेर पानी र पुरी फर्किएर फेरि एकै ठाउँमा यी जिन्दगानीहरूमा आएका थिएनन् ! सुख्खा सुख्खा यी जिन्गीहरू हराभरा शीतार्द्र बनाएका थिएनन्।
अनि, अनि त कहिले मिठो लाग्नु र ?! तर, तर उनको आगमनमा अब सबै एकै ठाउँ भएका थिए; पिरतीको बरसात, रोमाञ्चको प्रपात, वसन्ती बहार, ऋतु उत्सव शरद् उल्लास, अनि मन कहिले उदास चिसामा हुँदा न्याना हेमन्तका पारिला घाम !
अब त थपिएर कोसेली, उनका गाउँबाट मिठा मिठा सुन्तलाहरू पनि, आएका थिए र मुम्फली बदाम पनि। अनि मुम्फली बदाम पनि। कलेज ब्यागमा ल्याउँथिन् लुकाएर अक्सर, बडा जोगाएर !
उनको त्यो जोगाईमा मायाँको ‘केयर र शेयर’ दुवै बड़ा जोगिएको जतन थियो ! यस्तो लाग्थ्यो जस्तो सायद नयाँ पलाउँदै गरेको प्रेमपालुवा जो जोगाउँदै छिन् ! अँ ! फर्किएर फेरि जिन्नगीमा यहाँ पानी र पुरी भेटिएका थिए र चटपट पनि।
जिन्दगीमा धेरै चिज फर्किएर फेरि भेटिँदा रहेछन् ! हो ! रहेछन्। प्रणयले जुराएका उनका साथको चटपट र पानीपुरी किनकिन बिछट्टै शीतल अनि अब पानीपुरीका आवाज सङ्गीत भरे मिठा थिए।
फेरि जिन्दगीमा हृत्तन्त्रीका ‘ट्युनिङ’ मिलेका थिए र बजेको थियो मायाँको धुन ! बच्पन झैँ ! बच्पनका स्वाद झैँ ! फर्किएर फेरि बच्पनका स्वाद पनि यी उराठ जिन्दगीमा हराभरा फर्किएका थिए !
मायाँमा बच्पन फर्कन्छ रे !
म पनि मायाँमा बच्पन हुँदै थिएँ ! पुरी प्वाट्ट प्वाट्ट फुट्न लागेका थिए र पुदिनावाल पानी भेटिन थालेका थिए ! जीन्गीमा मिठो सङ्गीत पिरतीको बजेको थियो। हो ! बजेको थियो। फेरि एकपटक ! फर्किएको थियो। चटपटमा अब त त्यसै त्यसै रहर जाग्न लागेका थिए, मिठा लाग्न लागेका थिए।
लत लागेका थिए तिनमा अब। जसरी उनमा मेरो लत लागे झैँ ! आजकाल ! आजकाल सम्म आईपुग्दा त घराँ उनले बनाकी प्रेमित चटपट-पानीपुरीको दीवाना नै जो भएको छु म आजकाल ! अझ त्याँ माथि सँगै बनाएर सँगै खान त मायाँमा दुई मेटिएर एकै भए झैँ लाग्छ … दुई भेटिएर एक भेटिए झैँ लाग्छ ! सायद यही विचित्रता मायाँ हो – दुई भेटिँदा एक हुने !
दीत्या :
“मायाँ प्रेम भन्ने नै नहुने रहेछ ! बाबा मम्मीको कुरा गडबड चलिरहेको थियो। ‘टर्म’ मिलिरहेको थिएन। बा घर छाडी टाढा भैसक्नु भएको थियो। आमाको लाख आक्रन्दन र हामी दुई सन्ततीका चित्कारमयी रोदन बाबजुद उहाँ फर्किने छनक थिएन ! बाले आमालाई छाडी गैजानुभो।
छोराछोरी छाडी गैजानुभो। घर छाडी हिँडिजानुभो। बालाई जानै खुसी लाग्यो त ठिक छ उहाँ कै खुसीको सम्मान नै गरिदिउँ, हाम्रा दु:खलाई बाको त्यही खुसीलाई स्वीकारेर खुसी मानौँ, अब बिस्तारै आमा हुँदै हामीले यस्तै सोच्न अभ्यास थालेका थियौँ !
बाको अभावमा न्यास्रिँदा कहिले आमाले दाइ र मलाई सम्झाएर मातृशक्तिऊर्जाले बलवान् बनाउँदै त कहिले आमा कोमल भई एक्लै कुना पसी भक्कानिँदै आँसुले रुझेको भेटिँदा हामी दुई दाइबहिनीले आमाका आँसु पुछी आडभरोसा दिँदै।
बाकै खुसीका खातिर उहाँले हामी छाडी हिँडेका गुनासाहरूलाई अब समय बित्दै जाँदा गह भरी आँसु र छियाछिया भएको मनले आमा पछि हामी सबैले स्विकार्नै पर्ने, स्विकार भयो, यो पनि उहाँसँगको वियोगी रोदनका अश्कहरूलाई हाँसेर हर्षाश्रु भनी उहाँलाई साना मसिना चिचिला सन्तानले झैँ “बाबा टाटा..” भन्दै भने झैँ ! स्विकार छ ! स्वीकार भयो …
छोराछोरी हुर्कँदै त थिए। भर्खर। क्याम्पस त भर्खर देख्न सुरु गरेका। यौवनावस्थामा टेकेर जीवन र क्यारियर निर्माणको हिरण्यरेखा कोर्न बल्ल सुरु गर्न बाल्यावस्था-किशोरावस्थाबाट उक्लँदै गरेका। बाको हिदायत यही अति खाँचो हुने जीवनको अर्को अवस्था मै बा हिँड्दिनु भो।
उहाँको बहिर्गमन वर्तमानमा स्विकार भए पनि अतीत सम्झँदा अतीतका ती पलका लागि ‘मिस’ हुन्छ ! सन्तान कै मायाँ जब हुँदैन भने प्रेमका अरू आयाम कसरी सिद्ध हुँदो हो यस मर्त्यलोकमा ?! बाको ‘लस’लाई आमाले भुल्याई आज यहाँसम्म ल्याइपुर्याउनुभो।
त्यो अभाव आमाले आफू बार बनेर छेक्नु भएछ, जति रुनु भो उहाँ नै रुनु भएछ ! त्यही व्यक्तिकै फेरि कहिल्यै पुर्ति नहुने चोटवियोगको दर्दनाक अवस्था मानव जन्म, र उसको अनेक पुनर्जन्ममा पनि वियोग नामको दु:ख आईलागिरहने मानव जीवनको एक अर्को कहालीलाग्दो कष्टको आयाम हो जो बडा ज्याद्रो हर जन्मको मृत्युसम्म टाँसिइरहन्छ। यै किसिमको कष्ट फेरि अनेकानेक जन्म पुनर्जन्म-जन्मजन्मान्तर सम्म खेदिरहन्छ !
हाय !
मानवजीवन एक दुःखालय !
यही चोटले गुज्रेर आमाले हामी सन्ततीलाई सँधैँ सही बाटाकै लागि घच्घच्याई नै रहनु भयो। मेरै बाले ठुलाबाका छोरा मुरलीधर दाइ र भाउजूको प्रेम यात्रालाई दुई परिवारको हिच्किचाहट बाबजुद सहजिकरण गर्दै समाधान दिएर वैवाहिक यात्रामा रूपान्तरण गर्न अग्रणी हुनु भएको।
“वारि र पारि टाढा देखिने दुई डाँडा, दुई डाँडा त होलान् तर मानवजीवनमा समस्या समाधान खातिर दुई डाँडालाई सम्मै सोच्न पर्छ, दुई मुटुबिच प्रेमको पुल बनेको छ, यहि पुलले दुई परिवार पनि साथै जोडिन पर्छ !”, बा अक्सर कतै विवाद हुँदा सबैलाई यही भनेर शान्ति र समाधानको प्रेमपूर्ण निर्क्यौल दिनुहुन्थ्यो। उहाँ गएको स्विकार त भै नै सक्यो तर पनि घुमाएर फिराएर कतै न कतै ‘मिस’ हुन्छ !
माइजूसँग आमा अक्सर भेट गर्न कोटेश्वर उहाँको कफीशपमा गइरहनु हुन्थ्यो। एक एकल आमाको विवशता ! भेटघाटमा माईजूका दु:खसुखसँग अक्सर मेरी आमा आफ्नी एकमात्र छोरीको गहिरो चिन्ता साटिरहनु हुन्थ्यो।आफ्ना दाजुभाइहरूबाट आत्मबल स्वरूप आत्मविश्वासको श्रीवृद्धि लिइरहनुहुन्थ्यो।
“उहाँ डिजानुभो, मलाई एक्लो छाडेर … आफूलाई त कष्टको अभाग आईलाग्यो, सन्तानमा कुनै कष्ट नपरोस् !…” आमाले यस्तो दोहोरिएको सोच बारम्बार हामी सन्तती देखि ‘इमीडिएट’ आफन्त समक्ष भनिरहनु स्वाभाविकै थियो।
त्यही भएर मामामाइजूले हामी दुई बिच कुरा अघि बढाईदिएको भए पनि “आफ्नो बराबरी झैँ नभएको परिवारमा छोरीको वैवाहिक जीवन जाँदा आफूलाई झैँ कष्ट कुनै न कुनै रूपमा उसलाई नदोहोरियोस् ! कष्ट जुन रूपस्वरूपमा भए पनि अनुभूतिमा पीडानुभूति नै त हो ! कष्ट बढी हुँदा पीडानुभूति झन् असह्य !”, सोचेर यही चाहेर आमाको निषेध हुन पुगेको थियो मेरो उनीसँग विवाहका लागि।
आमाले मामामाइजूले विवाहका लागि बढाएको कुरा भनेर भविष्यमा समस्याका अलिकति पनि सम्भावनाको छनक मात्र जस्तो लाग्ने छ भने पनि त्यस्तो परिवारमा छोरीको विवाह गर्न हुन्न भनेर सुरु मै नाइँनास्ति मै रोक्ने सुरमा भन्नु भएको थियो तर हामी बिच प्रेम झाङ्गिसकेको थियो सायद ! जो उहाँहरू कसैको जानकारीमा थिएन।
मलाई अब छट्पटी हुन लागेको थियो; आमा लगायतका अभिभावकको नामञ्जुरी बाबजुद यो म के गर्दै छु ???
र, अन्ततोगत्वा मामामाइजूले हाम्रा कुरा हामी एक अर्का बीच अघि बढाए पनि आमा, र दाइहरूलाई हामी दुई परिवारका ‘स्ट्याटस’ प्रति नामन्जुरी पछि उनीसँग गाह्रै मानेर भए पनि, गह भरिएका साश्रु युक्त गह्रौँ मनले भए पनि बोलचाल बन्द गर्ने निस्कर्षमा बलियो हुन खोज्दै थिएँ !
बोले पछि नजिकिऔँला फेरि यसै अनायासै। परिजाला फेरि गाँठो मायाँको ! फुकाउँदा रक्ताम्य हुनेछन् हाम्रा निर्दोष मनहरू। फेरि हुनेछन् पीडा ! यस्तै यस्तै कुरा मनोलोकमा निचोड लिएर मैले उनलाई एकदिन भनेँ – “केवल हाम्रो सामान्य गफै मात्र भैरहेको छ – विवाहको लागि हामी बीचको गफमा पनि कुरा अघि बढेको छैन, मम्मीले मान्नु हुन्न पनि।
घरबाट ‘रीजेक्ट’ नै भएको हो। तपाईँ मेरा लागि विवाहको कुरा आएकै मान्छे हो। मलाई शङ्का लागिसक्यो। घरमा मान्नु हुन्न पनि। होस् हामी अब नबोलुम्।” यति उनलाई भनिसकेर बल लगाई लगाई उनीतिर बग्ने मनको ढोकामा ठुलो ताल्चा ठोकेकी थिएँ। उनीसँग बोल्न बन्द भयो !!!
केही महिनाको अनवरत बलजफती प्रयासबाट अब अक्सर उनका यादमा नबग्न थेगिएकी थिएँ, विस्तारै थेगिन सिकेकी थिएँ, सिकिसकेकी थिएँ ! प्रेमाश्रुहरू आफैँमा अन्तर्निहित गरेकी थिएँ।
उनले पनि चित्त दुखाए होलान्, बोलाउन छाडेका थिए। त्यो वियोगी क्षण सम्झँदा अहिले पनि भक्कानो फुट्छ ! उनी कसरी थेगिए होलान् ?! र, म कसरी थामिएँछु होला ! हामी दुईको योग वियोगमा त्यस क्षणको वियोगी समयले पनि कसरी वियोग सह्यो होला नि ?!
उनीसँग बोल्न बन्द भएको पनि अब त केही महिना भैसकेको रहेछ !!!
केही महिना भित्रका थोरै महिना गुज्रिए…
तर ! तर नियतिको खेल ! पिरतीको रेल ! बाटो आफैँ खोज्दो रहेछ। उनीबाट भाग्न चाहने मनलाई नै थाहा नदिई मन उनकै भैसकेको रहेछ !
अनि !
अनि फेरि एक दिन !
एक दिन…
भूकम्प !
साल :
वि.सं २०७२,
महिना र गते :
वैशाख १२ …
कहालीलाग्दो भूकम्प सर्वत्र क्रुरकहाली बनेर अघिल्तिर ढ्वाङ्र्वाङ्ङ बजारियो ! कालको प्रलय ताण्डव ! आँखै अघिल्तिर प्रत्यक्ष !
नजिककालाई अझ नजिक खिँच्न यो प्राकृतिक प्रकोप ?! त्यो पनि खुसीमा हैन कष्टको कहालीमा नजिक खिँचिनु पर्ने ! अनि, अनि अझ कतै त नजिककालाई नजिक खिँच्न पनि नपाउँदै कहालीलाग्दोको उफ् वियोग !
भूकम्पमा म पनि मेरा नजिकका परिवारलाई नजिक खिँच्न खोज्दा उनलाई पनि खिँच्न पुगेँछु यसै अनायासै थाहै नपाई ! खिँच्न पुगेँछु परिवार झैँ, परिवारको अपरिहार्य प्रमुख, एक मुख्य सदस्य झैँ ! उनलाई विदा गरिसकेकी मैले पहिले नै मनबाट !
उनीतिर फर्किएको मनको दरवाजालाई ‘खुदा हाफिज’को बडेमानको ठुलो भोटेताल्चा लगाएर ! तर ! तर फेरि पनि नियति ! तकदिरको खेल, लेखान्तरको लेख मेरो लेखमा हाँसेको रहेछ !
किनभने उनी लेखान्तको आफ्नै ताल रहेछ, सुर रहेछ, मेरो जिन्दगीको सङ्गीत उनै भावीसँग रहेछ – मेरो जिन्दगीको योजना रहेछ उनी प्रारब्धसँग ! म चाहुँ त चाहुँ, मैले चाहेर के भयो र ?! म नचाहुँ त के चल्यो र ?! चाह जब भावी चाहन्छन् ! मेरा उनी तिर फर्किएको मनको ठुलो झ्याल मैले ठोक्नै बिर्सिएँछु ! त्यही झ्यालबाट भूकम्पको रूपमा मायाँ मेरो मनको घरमा पस्न पुगेछ !
ढोकामा ताल्चा ठोके पनि याद, स्मृति, कल्पना, उनीतिरै बिर्सेँछु। ती फिर्ता ल्याउन मैले यसै अनायासै थाहै नपाई ढोका खोलेँछु, तब त बाहिर कुरिरहेको मायाँको बाढी भित्र छिर्यो; झ्यालबाट बानी लागिसकेको मायाँको बाढी !
मायाँ किन बढ्छ हँ ?! मायाँले बढ्न मात्रै किन जान्यो हँ ?!
मायाँको प्रकृति नै बढ्ने मात्र रहेछ कसो ?! मायाँको बिउ पर्यो कि त सक्कियो। बढ्यो ! बढेको बढेकै ! झाङ्गियो ! मायाँले त झाङ्गिन मात्रै जानेको पो रहेछ! बदमास मायाँ ! यस्तो अबोध, एकोहोरो, सोझो बालक झैँ मायाँको मायाँ लागेर आयो यसै यसै त्यसै त्यसै कयौँ दिन पछि फेरि !
दिन, समय, दुरी पारी आफ्नै लोक र समयमा पो हिँड्ने रहेछ मायाँ त ! आफ्नै पारा, आफ्नै संसार। उसको। मायाँको। त्यै भएर छोट्टो समयमै गहिरिन सक्ने अदम्य ताकत भएको मायाँलाई कालातीत भनिएको होला ! समयभन्दा पर, स्थान भन्दा पर। ‘टाइमलेस, बीयोन्ड स्पेस !’ ‘बीयोन्ड टाइम एन्ड स्पेस।’
दिक्-कालभन्दा पर केहीले नि नछेक्ने – समयको ‘ग्याप’ले नि नमेट्ने।
छिसिक्क ठाउँ पाउनै नहुने, हर्लक्क उर्लेर आइहाल्ने;
झलक्क तसबिर,
चसक्क मुटु,
फेरि उही मायाँ छताछुल्ल… भने झैँ !
“ ‘हाइ’ ! के छ ? कता हो त नि अचेल ?”
र, अन्त्यमा मैले मेसेज पठाएँ।
यो मेसेज केही महिना पछिको थियो !!!
भूकम्प !
त्यसपछि…
भूकम्प !
त्यसपछि अकस्मात् भूकम्प !
भूकम्प आएको थियो ! आफ्ना वरिपरिका परिवार-सदस्यहरू आँखा अगाडि सुरक्षितै हुँदा तत्क्षण उनको याद अब चैँ उर्लेर झसङ्ङ भएको थियो अत्ताल्लिएका ढुकढुकीहरूमा !
आत्तिएँ खुब ! भूकम्पले ! भूकम्पको त्रासदीले ! अझ सिधा भन्नु पर्दा “न उनलाई केही भई पो हाल्यो कि ?!” भन्ने भित्र गढेको प्रेमबाट उत्पन्न व्याकुलताको विस्फोटले। प्रेमको ‘बिग ब्याङ’ले ! उफ् को यो छट्पटिले। मोबाइलमा नेट, फोन सबै चैट् ! रामारुमी झैँ शून्यसान्य !
दाइको ल्यापटपमा नेट कसरी कसरी दाइले चलाएछन् ! यत्तिकै ‘क्याजुअल्ली’ पारामा झैँ “अब म चलाउँछु !” भनेर दाइ सित बहाना बनाउँदै ल्यापटप मागेकी थिएँ। भित्री ध्याउन्न त उनको हालचाल मालुमात नै थियो !
हाल सोधेको मेसेज पठाएपछि उनको चाल कुरेँ निकै बेर घोरिएर एकटक ल्यापटपको स्क्रीनमा। अहँ ! छैन। चाइँचुइँ छैन ! पेज ‘रीफ्रेश’ गरेँ धेरै पटक। ‘च्याटबक्स’ खोलेँ पटकपटक। अहँ ! छैन। जवाफ छैन। मेरो प्रश्नको जवाफ छैन। “हे भगवान् ! कमसेकम हेरि त दिनु नि एकपटक झुलुक्कै भए पनि !
‘सीन’ त भैदिनु नि कमसेकम धेरै केही लेख्न नपाए नि।” ‘मेसेज सीन’ हुँदा सम्म पनि भैदिए ढुक्क सम्म हुन्थ्यो ! केही त ढुक्क हुन्थ्यो, थोरै त राहत हुन्थ्यो मनका यी प्रेमप्रकोपहरूलाई ! उनको हाल मिलिक्कै भए पनि चाल पाउन म खुब तड्पिएकी थिएँ !
पहिल्यै त भूकम्पले आत्तिएकी थिएँ, उनको सङ्केत पाउन थपेर तड्पिएकी थिएँ। बढेका ढुकढुकीले मुटुका भित्ताहरू अनवरत घोचिरहेका थिए ! ‘स्क्रीन’तिर एकोहोरिँदा एकोहोरिँदै मन भक्कानिएको थियो, फुटेर आँखाबाट मन पोख्खिन खोजेको थियो, यसै त्यसै। खै किन ?! थाहा छैन।
प्रेमाश्रुमा म किन बग्न चाहिरहेकी थिएँ ?! कोही कसैको मायाँमा म किन साश्रुमय आँसु आँसु भई बगेर मेटिन चाहिरहेकी थिएँ ?! मेरा आँसु किन उनीतरफ दौडिन चाहिरहेका थिए ?! मेरा आँसु समेत पनि उनको हालको चाल पाउन उत्कट-उद्यत किन थिए ?!
अब त नथामिएर मैले आँसु पठाउन चाहेकी थिएँ खबरी बनाएर, लिएर आउन् उनका खबरहरू, जाओ ! हाल र चालहरू, मालुमातहरू मेरा प्रियतमका ! मेरा बलमजीका ! मेरा आँसुलाई “उनका, मेरा हृदयेशका हालका खबरहरू लिएर आओ !”
भनी पठाउन चाहेकी थिएँ पुराना समयका शान्तिदूत-परेवा झैँ ! आँसुका प्रश्नहरू चिट्ठी बनाई तिनको गोडामा बाँधिदिएर, शान्तिको दूतलाई, एक परेवालाई, मेरो मनको शान्ति लिई आउन पठाउन चाहेकी थिएँ, भुर्र उडाएर प्रेममा विवश म, मेरो नाजुक मनको कोमल प्रेमपरेवालाई !
फेरि सम्झन्छु !
“ला ! भूकम्प गयो ठिकै ठाक त हुनुहुन्छ नि ?!” सोध्न मन लागिहाल्यो।
अर्को प्रश्नवाचक मेसेज लेखेँ र ‘इन्टर’ थिचेँ। त्यसै त्यसै सुर्ताले छट्पटिएर सोधिहालेँ ! किन सोधेँ थाहा छैन ! खै किन सोधेँ ?! सायद मायाँ थाहै नपाई पनि मनमा बसेको हुने रहेछ, न रूपमा, न आकारमा, न मूर्तमा, अमूर्तमा। मनमा मायाँ छ भन्ने नि थाहै नभई मायाँ मनमा घर गरेर बसेको हुने रहेछ ! अदृश्य घर। निराकार घर। अमूर्त घर। देख्दा धमिलो तर बलियो घर !
“म बाइकमा च्याप्पिएर लडिरा’छु ! भूकम्प आई त गो ! ब्यालेन्स बिग्रेर हल्का लडेँ रोक्न खोज्दा खोज्दै। उठ्तैछु। तिमी ठिक छौ ? तिमीतिर सब ठिक छ नि ? फ्यामिलीहरू ?”, बल्ल उनीबाट जवाफ आएको थियो !
“अँ ! यता सब ठिक छ। लडेर चोट त लागेन हजुरलाई ?”, मैले अत्तालिँदै सोध्दै जवाफ फर्काएँ।
“नो ! नो ! मलाई केही भा छैन। ‘आइ एम अलराइट’ ! हल्का ‘इम्ब्यालेन्स’ले पल्टेको मात्र हो। उठीसकेँ। सेफ ठाउँमा छु। तिमी पनि सबै जना सेफ ठाउँमा रहनु ल ! फोनसोन नेट कनेक्सन गाह्रो छ। ‘टेक केयर’। ‘मिस यू’ !”, उनले मनको डर हर्दै जवाफ फर्काए।
“हस् ! हजुर नि आफ्नो ख्याल राख्नु होला है ! ‘मिस यू टू’ !”, सोधि त हालेँ दाइको ल्यापटपबाट !
उनको हालचाल था पाउन उनको अस्तित्वमा हराएको मन, हुस्सु केटी मायाँमा म ‘लग आउट’ गर्न नि भुलेँछु !
ल बरबाद !
बाहिर सुकाएका लुगा उठाउँदा उठाउँदै झल्याँस्स मात्र के भएकी थिएँ दाइ भित्र कोठामा तीन हात माथि बुरुक्क ! बुरुक् ! बुरुक् ! बुर्कुसी मार्न लागिहाल्नु भो ! बुरुक्क उफ्रिँदै, उचालिँदै, रन्थनिँदै, उचालिएकै अवस्थामा जङ्गलाँ चितुवाबाट भागेको एक हरिण झैँ उडेर भान्छामा धमाधम खाजा बनाउनु हुँदै गर्नुभएकी मम्मी भएतिर दौडिनुभो !
मानौँ फेरि डरलाग्दो भूकम्प सहितको ज्वालामुखी विस्फोट अब ल्यापटप भित्रैबाट आएको छ र भर्खर ल्यापटप पड्कियो ! कोठामा आगो फैलियो ! र, पड्किएर भर्खर उछिट्टिएको आगोले दाइलाई भेट्न खोज्यो अनि भान्छा तिर पानी खोज्दै सबैलाई सुरक्षित स्थान तर्फ पठाउन हाम्फालिनु भा छ !
“मम्मी यस्को त लप परेछ !
यसरी बोलिछे, उसरी बोलिछे… यस्तो यस्तो केटासँग बोलिछे .. !” मम्मीको कानमा पर्न मात्र त पर्यो काण्ड त पुगी त गो ! “कोसँग, केसँग, किन, कस्तो, कहिले, के, कस्तो..”, मम्मी दाइको बुर्कुसीसँगसँगै एकाकार हुनुभएकी थियो !
यहाँ डरैडर मनभरी भरिए पनि मम्मीको ‘कस्तो’ भन्ने शब्द खुब दोहोरिएको थियो..सम्झना छ अझै पनि ताजै ! छोरीको मायाँ, छोरीको चिन्ता… आमाको मायाँ स्वाभाविकै थियो !
“हैन मम्मी हैन, केही हैन, मेरो लप परेको नि हैन, केही हैन।”, मेरो जवाफमा डरैडर भरिएको “केही हैन” खुब दोहोरिएको थियो। याद छ। “हैन भन्छेस् ! हुँदैन भन्छेस् ! तँ बोलिस् रे ! के गरिस् रे ! यसरी यसरी बोलिस् रे !…”
मैले जति भन्दा नि मान्नु भएन ! दाइको परिवार हित प्रति वफादारिता, परिवार प्रति लगाव, बा पछिको अभिभावकत्व, पूर्ण समर्पण सहितको आमा सहित हामी सबै प्रतिको जिम्मेवारी बोधको बहनबाट आमा दाइको बुर्कुसीलाई सहर्ष स्विकारोक्तिमा एकाकार हुँदै दाइसँगै बुर्कुसीमय हुनुभएकी थियो।
मायाँ जति लुकाउन खोज्दा पनि सरेआम भैहाल्ने ! मायाँको अजबको प्रकृति गजबको। ए बा ! फैलिहाल्ने, संसारमा अभिव्यक्त भैहाल्ने, जति लुकाउन खोजे पनि बढेर-झाङ्गिएर मायाँ संसारमा देखिईहाल्ने ! उनको र मेरो प्यारकी बात दुनियाँको नजरमा किन आयो हँ यति चाँडै ?!
अलिक पछि विस्तारै आएको भए पनि त हुन्थ्यो नि ! आई त हाल्यो ! भित्रभित्रै सट्याकसुटुकको मायाँ थाहै नपाई बड्याङबुडुङ पड्किने बेला पो भैसकेको रहेछ ! अब के गर्नु ?! पड्कितहाल्यो ! मायाँको यात्रामा आरोह-अवरोहका अक्सर विस्फोटहरू हुन्छन् रे ! सुनेकी थिएँ। भैरहन्छन् रे ! दिनकै। आज देख्दै थिएँ। यो पनि एक विस्फोट थियो ! यो दिनमा पनि एक अर्को विस्फोट भएको थियो। हाम्रो मायाँको विस्फोट …
……………………..
बा हुनुभएको भए उनीसँगको प्रेममा मेरी आमा स्वयम् आपत्ति लिनु हुने थिएन होला पक्कै पनि, किनभने ठुलाबाका छोरा मुरलीधर दाइको प्रेमविवाह देखि गाउँसमाज, आफन्त-नातागोता सबका अनेक समस्याका समाधान रूप हुनुहुन्थ्यो बा !
बाको निष्क्रमणको प्रभाव हेरौँ त कहाँ सम्म पुग्यो … अझै कहाँसम्म खेद्ने हो यो दुर्भाग्यले हामीलाई ??? यस्तो कष्ट कसैलाई नपरोस् हे भगवान् !!!
बाकै वियोगको चोट आमामा हाम्रो प्रेमसम्बन्ध प्रति घोर आपत्ति रूपेण टड्कारो स्वरूप मै खडा थियो !
चिसो पसेको मनैमनमा मैले आँकलनको छनकमा स्पष्ट थिएँ ! सायद यही कष्टले मेरो प्रेमयात्रामा मेरी आमाको आपत्ति बिल्कुल जायज र स्वाभाविकै थियो। यही कष्टको कहालीलाग्दो गर्तबाट आमाको निषेधी क्रन्दन हुन पुगेको थियो समीरण र मेरो प्रेमसम्बन्ध प्रति… यो कुरा आमासँग आदानप्रदान नहुँदा पनि सन्तानको नाताले अभिभावकको हाउभाउ या क्रियाप्रतिक्रियाबाट मात्रै पनि उहाँहरूका आत्मा बुझे झैँ !
समीरण :
“दीत्याकी आमालाई छोरीको विषयले साह्रै पिर परेको थिएछ ! स्वाभाविकै हो। सन्तान हुन्। मामामाइजू कहाँ गुनासो लिएर पुग्नुभएछ एक दिन। मामामाइजूलाई पनि आफूले नै बढाईदिएको कुरा प्रति बहिनीको चित्त बुझाई वास्तवमै नभएको नै निर्क्यौलवाला कुरा बहिनी स्वयम्ले दिएपछि हामी दुवैलाई बोलाई सम्झाई बुझाई गरेर सम्बन्ध अघि बढ्न दिन भन्दा रोकी आ-आफ्नो बाटो लिने निस्कर्ष तय भएछ ! यसै अनुसार आमा-मामामाइजूको सल्लाह भएको केही दिनमा नै हामी दुवैलाई एकैचोटि बोलावट आयो !
म उनलाई लिन शङ्खमूल उनको डेरा नजिक पुगेँ। हामी दुवै मामामाइजूको कफीशपमा पुग्दा दीत्याका ठुलाबाका छोरा मुरलीधर दाइले फोनबाटै बबाल उचाल्नु भो। आफैँ ‘गिल्ट’ स्वरूपमा, मामामाइजूले त केही भनिहाल्नु भएको थिएन।
दीत्याले पनि दुखी मनले मुरलीधर दाइलाई झोँक्किए झैँको लवजमा “ल न त ल दादा ! अब हामी बिहे गर्दैनौँ, छुट्टिने नै भयौँ, उनी आफ्नो बाटो गर्छन् अनि हामी आफ्नो बाटो ! यति भए चित्त खुस हजुरहरूको ? भयो हैन त ?” भनेर मुरलीधर दाइलाई फोनबाटै निर्णय दिन खोजिन्।
दाइले “त्यो केटालाई फोन दे ! स्पीकरमा लगा !” भनेर थर्काउने सुरमा कड्किन लाग्नु भो। उनले फोन स्पिकरमा लाएर मलाई दिइन्। “अस्तिसम्म त मायाँ गर्छु भन्थिस् अहिले चैँ बिहे गर्दिन भन्छस् ?”, भनेर झ्याम्मै झम्टिए झैँ मलाई अब बब्बाल थर्काउन लागे ! मलाई पनि झोँक चलेछ, म पनि “हो ! बब्बाल मायाँ गर्छु”, भनेर दह्रै कड्किएँ।
दाइले झोँक्केर फोन काटे ! मैले उदास आफ्नो चेहडामा उनको फोन उनलाई वापिस दिएँ। उनले फोन सिसाको टेबल खड्याक्क राख्तै हायलकायल आजित भरे उदास उल्झनका सुल्झन माईजूसँग मागिन्; “माइजू ! छोड्छु भन्दा नि मान्दैनन्, छोड्दिन भन्दा नि मान्दैनन्। बिहे गर्दिन भन्दा किन बिहे गर्दिनस् लप पर्या छ तिमरुको, छोड्छु भन्दा नि कसरी सक्छेस् लप परि सकेपछि”, भन्छन् ! के गरौँ अब हजुरहरू नै भन्नोस् ?
बिहे गर्छु भन्दा नि नमिल्नेसँग किन गर्छेस् बिहे रे। होइन नि त त्यसो भए गर्दिन नै नि त भन्दा नि किन गर्दिनस् रे ? यस्तो किचलो भन्दा मुटुमाथि गह्रौँ ढुङ्गा राखी हामी दुई अब ‘फाइनल्ली’ छुट्टिने नै निस्कर्ष लिन पुग्यौँ !”, उनले उदासी वियोगको निर्णय सुनाईन्। विचरा मामामाईजूले चिताउनु भएको त राम्रै थियो तर कुरोमा अभिभावकहरूबाट अस्विकारोक्तिको हुरीबतास-असिनापानी चलेपछि खुद हक्काबक्का निस्शब्द मौन हुन पुग्नु भएको थियो !
दीत्या :
“बुढानीलकण्ठ ! ठुलाबाका छोरा दाइहरूले होटेल व्यवसाय गर्नुहुन्थ्यो। मम्मी दाइहरूसँग भेटघाट, आपसी पारिवारिक सल्लाह, आदिका लागि अक्सर उहाँहरूकहाँ पुगिरहनुहुन्थ्यो। हाम्रामा पनि दाइहरू भेटघाट, पारिवारिक जमघट, धार्मिक कर्म आदिमा सरिक हुन आइरहनु हुने। एक दिन आमा दाइहरूसँग हाम्रा बारे आत्तिएर दौडँदै सल्लाह लिन उहाँहरूको होटल, बुढानीलकण्ठ नै पुग्नु भएछ; “यिनका बा पनि बैगुनी भैजानु भो।
अब छोरी पनि कष्टको बाटो बनाउन लागि !… मैले हुँदैन भनिसकेको केटासँग पिरती गाँस्न लागि। दुई मनको डोरो गाँसिएला, अनि बाटिएला, गाँठिएला, डोरो पिरतीको गाँठो – कसिएला ! बाले त छाडी जानु भो-जानु भो, अब छोरीको पनि कहानी समाजले पहिलैको घाउमा अर्को थपेर नयाँ घाउ, नुन खुर्सानी दल्न गाउँसमाजमा फैलाएर आफूसम्म ल्याई पुर्याउला !…” आमाको पीडामा दाइहरूलाई मन रुवाउने कहालीले नसताउने कुरै भएन। दाइहरूले आमालाई त्यो केटासँग बसेर बिस्तारमा सम्झाई बुझाई छोरीको जिन्दगीबाट विदाईको समाधानका लागि आश्वस्त बनाउँदै आफूहरू नि ढुक्क हुनु भएको रहेछ।
यही बुझाईको निर्णय अनुसार समीरणलाई आमा र दाइहरूले एक दिन दाइहरूकै होटलमा बोलाई सम्झाई बुझाई गरेर पठाउनु नि भएछ ! एक पटकमा चित्त बुझेनछ र दुई-तीन पटक सम्म पनि सम्झाई बुझाई पठाउनु नि भो फेरि-फेरि पनि।
समीरणको अक्सर एउटै कुरा अडानमा दोहोरिने – “म उनलाई मायाँ गर्छु।”, जो केवल शब्दमात्र थिएनन्, शब्दस्वरूपमा भाव अभिव्यक्त थिए उनका… जो बड़ा कोमल ! उनका भाव उनका मात्र निजी थिएनन्, अब त मेरा पनि थिए ! किनकी ती मसँग सम्बन्धित थिए, ती भावहरू अब मेरा सम्बन्धी झैँ थिए !
मलाई सम्बोधित भाव अब उनका मात्र नित्तान्त थिएनन्, मेरा पनि थिए, अझै मेरै थिए। मै थिए। उनका ती भाव मै थिएँ। उनका भाव मेरा, मेरा भाव उनका ! दुई भाव भेटिएर एक भाव ! मेरा लागि ! मेरा मुटुका लागि…ती भाव; “म उनलाई मायाँ गर्छु”, सुन्दै मुटु कोमल नौनी तुल्याई, पग्लिएर, आँखाबाट त्यसै त्यसै भक्कानिने ! ओह्हो ! अझै पनि, सम्झि ल्याउँदा पनि…
समीरण :
“अनि ! अनि फेरि एक दिन। मलाई बोलाहट आयो ! एक दिन उसरी नै मलाई फेरि बोलाइयो। दाइहरूका एक-दुई होटल थिए त्यहीँ बगल-बगल, आसपास।
म हाकिमसँग कामको चापले श्वासप्रश्वास फेर्न नि फुर्सद खोज्न पर्ने अवस्थामा च्यापिएको परिस्थिति फेरि पनि उस बखत। मैले हाकिमलाई भनेँ ; “सर ! मेरो बरु जागिर तपीँ लिदिनुहुन्छ भने मैले त्यो पनि स्वीकार्नै पर्छ तर आज अहिले मेरो पारिवारिक केही आकस्मिकता आई लाग्यो, मलाई आधा घण्टा जतिलाई छोड्दिन पर्यो !” हाकिम हो, मान्छे हो। बुझ्छन् ! नबुझ्ने कुरै भएन।
उनले पनि पारिवारिक केही आकस्मिकताको सम्भावना नकार्न सक्ने कुरै भएन ! मेरो अनुनय विनय सुनेर सहजै हुन्छ भने। मैले हुर्रिँदै अफिसबाट झर्ने क्रममा सुरिन् लाई फोन लगाएँ। सुरेन् र मेरो पेशा एउटै, जिग्री पनि। ऊ मेरो जिग्री, म उसको जिग्री। हामी दुई एक अर्काका जिग्री !
ऊ हस्याङफस्याङ दौडिँदै आइपुग्यो ! म अघि अघि आफ्नो बाइकमा, ऊ पछिपछि उसको बाइकमा, हुर्रिँदै बुढानीलकण्ठ पुगियो। बाइकबाट हतारहतार ओर्लँदै मैले सुरेनेलाई भनेँ; “ओई ! सुन् ! तँ यहीँ बस् ! म माथि जान्छु।
मलाई कथन् कदाचित समस्या पार्ने जस्तो अवस्था गरे भने म मिस्डकलले सङ्केत गर्छु। तँ माथि आईहाल्नु ! बुझिस् ?” सुरेन् ले “हुन्छ”मा टाउको हल्लायो र भन्यो; “सुन् मेरो कुरा ध्यान दे’र ! नआत्ती ! मानेनन् भने केही छैन छोडि पनि दिनु पर्छ, शान्त भई उनिहरू आफ्नो बाटो, हामी आफ्नो बाटो लाग्न पर्छ।
तँबाट तेरी उनीलाई केही नराम्रो भएको छैन, किन आत्तिनु ?! अब उनीहरूको छोरीचेली, उनिहरू तात्तिनु स्वाभाविकै पनि हो। सम्झाएर मिलाएर बुझाएर समाधान निकाल्न पर्छ। मानिहाल्छन् नि शान्तसँग मिलाएर कुरा गरेपछि।” “हो !”, मैले भनेँ। “सुन् ! मैले अरू साथीहरूलाई पनि भनेको छु।
फेरि पनि कथञ्चित् उनिहरूबाट त्यस्तो केही भैहाले समस्या बढाउने हैन शान्तिको बाटोमा थामथुम मिलाएर निस्कन पर्छ। मैले सङ्केत गरेँ भने माथि आउनु, अरू साथीहरूलाई पनि खबर गरिहाल्नु !” “ल !” भन्दै सुरेन् ले ‘थम्ब्स अप’ दियो। म होटल भित्र छिरेँ, मास्तिर हानिएँ …
उनका परिवारका आफन्ती नातागोता शाखी-हाँगोबिँगो ठुलो बडो ! उनका दाइहरूको ‘ग्याङ’ नै ४-५ जना !
होटलको कोठामा ढोका थुनेर ४-५ जनाबाट नै चौतर्फी मौखिक र्याखर्याख्तीको डरलाग्दो उग्र रूप हुन लाग्यो…‘‘हाम्री छोरी-चेलीलाई तँ त्यसो गर्ने ?”, एक दाइ कड्किए ! “मैले के गरेँ र ?! सामान्य भेटघाट हो अनि गहिरो मायाँ हो ! त्यत्ति हो।”, नि:श्वस्तताको मैले मधुर स्वरमा जवाफ दिएँ।
म जति शान्त हुन खोजे पनि परिस्थिति मत्थर नभएर झन् जटिल होला झैँ लाग्न लाग्यो ! मैले सुरेन् लाई मिस्डकल दिएँ ! ऊ कोठा भित्रै आईपुग्यो र परिस्थिति सोध्ने तरिकाले नबोली आँखीभौँ उचाल्दै सोध्यो। मैले छेउको कुर्सीमा बस्ने इसारा गरेँ। ऊ चुपचाप बस्यो।
“अझ बोल्छ ! त्यत्ति नि किन हुनुपर्यो ?!”, उनका दाइ ग्याङका अर्का दाइ कड्किए ! “हाम्री चेलीलाई बिर्सि। तँसँग हाम्रो मिल्दैन ! हैसियत मिल्दैन ! केही नि मिल्दैन !” कुटी हालौँ, झम्टी हालौँ झैँ झ्याल ढोका मात्र हैन भित्तासित्ता, भैँ सैँ, छतसत सबै पड्काएरै उडाइदिउँला स्वरूपको भीषक गर्जन !
“हैसियत नै चाहीँ नभनि हाल्या भए हुन्थ्यो कि ?! हैसियत नै खोज्या भए त्यो नि छ गतिलै ! तर हैसियतले मान्छे सुखी हुने हो र ? उनलाई खुसी राख्न सक्छु, त्यति ल्याकत छ, बाँकी ‘हैसियत’ भन्या के ? ‘हैसियत !’ उफ् यो ‘हैसियत’ ! के हो यार यो ‘हैसियत’ भन्या ?! त्यस्ता जाबा हैसियतहरू ! विचरा हैसियतहरूका त के कुरा गर्ने ? जो आफैँ दयनीय छन् ! अहिले छ भरे छैन ! अस्थायी ! फगत हैसियतहरू ! उफ् ! फगत यी हैसियतहरू !
प्रतीत्यसमुत्पादले गाँजेको विश्व अनि जन्मजन्मान्तरको चक्रीय विवशताले पहिल्यै दुखी मानवजीवनमा अझ दु:ख थप्ने भ्रामक हैसियतहरू ! सामान्य अहम् नै यति कडा जन्नजन्मान्तरबाट जो थिग्रिएको, यही छाड्न खातिर घटित दुर्लभ यो मानवजन्ममा थपेर घमण्ड अन्धा पार्ने यी हैसियतका भ्रमहरू ! उफ् !”, भैँतिर हेर्दै घोरिएको थिएँ, जवाफ दिइनँ, मनैमन सोचेको थिएँ जवाफ दिउँ कि भनेर। तर होस् झन् परिस्थिति बिग्रेला, बोलिनँ।
यस्तो विषम समयको घडीमा पनि तर दीत्याका साक्खे दाइ शाश्वतजीको चाहिँ मिजासिलो-खुसमिजाजी कोमल बोलीचालीले मनको एक मुख्य धागोमा हृत् को एक किसिमको मधुर कोमलता विश्वस्ततामा शान्त स्थित भएको थियो।
बेडको एक कुनामा म टुचुक्क बसे झैँ मात्र थिएँ, सकेसम्म शान्त भाव, अल्पबोलीमा जवाफरत… केवल… ‘म उनलाई मायाँ गर्छु।’ यो अभिव्यक्तिमा म बारबार-हरबार-प्रत्येकबार दोहोरिँदा खुद कोमल हुन्थेँ र फेरि दोहोर्याउँथेँ; ‘म उनलाई मायाँ गर्छु।’ अनि फर्किएर फेरि मौन हुन्थेँ। प्रेमित मौन !
मायाँ स्वयम् मा कोमल हो ! मायाँ अनि त्यहाँ माथि फेरि उनी…अनि उनी प्रतिको मायाँ फेरि ! अनि उनको मायाँ फर्किएर मलाई फेरि ! म झन् झन् थप्पिएर, सबैतिरबाट मायाँमा भूपरिवेष्ठित… झन् कोमल हुन्थेँ…
अनि फेरि दाइका पुरै ग्याङहरूको तिखो-चर्को प्रतिप्रश्न; “किन गरिस् ? छोड्दे।” कति विवाद गरौँ ? कसरी बुझाऔँ ? केही बोलिनँ। मौन नै रहेँ…
फेरि उही होटल …
अनि फेरि उही विवाद ! उसै गरी सुरेनेलाई तल राखेर म होटलको माथ्लो तलाको कोठामा र्याखर्याख हुँदै गर्या ! यो मेरो अब बेतलबी पार्ट टाइम जागिर नै जो भैसकेको थियो ! बानी नै परिसकेको थियो अब त। आज चाहीँ उनलाई पनि साथै लिएर उनकी आमा पनि आउनुभएको रहेछ।
“आज चाहीँ विवाद टुङ्ग्याउने नै योजना रहेछ कसो ?!”, अलिक झस्किएँ ! झस्किएँ यस कारण कि “छुट्ट्याउने नै भए क्या हो ?!”, घ्वाच्चै घोचेको मन, धड्किएर दौडँदै उनीसँग वियोगको ‘एङ्ग्जाइटी’ आँकलनले आत्तियो !
“ठिक छ, ह्यान्डल गरौँला मुटुलाई छुट्ट्याए नै भने पनि !”, मन तयार गराउने प्रयासमा दह्रो हुन खोज्ने कार्यको जग नि हाल्न यै दिन बाटै सुरु गरौँला, ठिक छ, केही छैन। यस्तै सोचेँ। तर, तर आफ्नो सत्य अडान छोडेको थिइनँ; ‘उपांशु’ झैँ मायाँको मेरो एकोहोरो अडान उही- ‘म उनलाई मायाँ गर्छु। खुब ! खुब मायाँ गर्छु।’ न छाती चिरी देखाउँ, न के गरौँ ! न ती सबका अगाडि हावामा मायाँको निराकार पूर्ण अस्तित्वलाई रूपमा मूर्त-साकार तुल्याऔँ ! म भगवान् पनि त हैन ! म के गरौँ ?!
उनले पनि परिस्थितीलाई अब सामान्यीकरण गर्ने प्रयास गर्न लागिन् ; “लभ भनेर त्यस्तो जथाभावी केही छैन, फोनहरूमा एक अर्काका हालखबर सोधपुछ – हाम्रा सामान्य वार्ता मात्र भएका हुन् ! भेट खासै पनि हैन।
कलेजमा कहिले उहाँ मसँगै पुर्याउन आउनु भो होला त कहिले सँगै कलेजबाट घर छोड्दिन आउनु भो होला। त्यत्ति हो ! बस ! यही भेटमा हाम्रो मायाँ गहिरो हो या यसलाई मायाँ कै करार नदिन यहाँहरू चाहनु हुन्छ भने त्यो हजुरहरू नै जान्नोँस्।
छुट्ट भन्ने नै निस्कर्ष हो त मुटुमाथि ढुङ्गै राखेर भए पनि परिवार र अग्रजको आदेश स्विकार्य गर्न तयार हामी हुन्छौँ।” यति भन्दा नभन्दै मलाई पुलुक्क हेरेर भैँतिर नजर पुर्याएर उनी मलिन चन्द्रमुहारमा निन्याउरिएकी थिइन्।
चन्द्रमा मलिन हुँदा पनि खुबसुरती कहाँ हरायो र ! त्यहाँ पनि मैले उनलाई झन् सुन्दर देखेको थिएँ ! अर्को तर्फ उनको त्यो दुःखी खिन्नता देख्ता एक मनले त हात समातेर कुदाउँदै यहीँबाट अहिल्यै दौडाउँ झैँ पनि नभएको होइन ! पुराना नेपाली फिल्ममा झैँ !
छोरीको रोदन झैँ मलिन आवाजमा उनले यति भनिसक्दा उनकी आमाको मन नि अमिलिएछ कसो, एकछिन गम खाएर भन्नुभो; “त्यसो भए छुट्टिन्नौ भने कि त बिहे गर नभए छुट्टी हाल्न परो !” “तपाइँहरूको इच्छा बेगर म बिहे गर्दिनँ, न मेरो उमेर नै भइसकेको छ विवाहको लागि। म भर्खर ‘ब्याच्लर’ त पढ्दैछु, मैले मास्टर्स सक्काउनु छ। ‘इन्डिपेन्डेन्ट’ हुनु छ। बिहे गर्दिनँ म ! तपाइँहरूलाई बोझ भा छ भने बरु भन्नु !”, उनी कड्किईन् !
“बिहे गर्दिन, उसलाई पनि छोड्दिन भन्ने ताल हो भने, अर्को केटा खोजेर बिहे गर्दिन्छु”, भन्दै अगि नरम हुनुभएकी आमा फेरि फर्किएर एक्कासी पड्किन लाग्नु भो। “कोही चिन्दै नचिनेको केटासँग बिहे गर्नु भन्दा त म उसैसँग बिहे गर्छु”, भनेर उनी प्रत्युत्तरमा झोँक्किइन्।
दीत्या :
“मायाँको निहुँमा परिवारबाट अनेक शङ्का उपशङ्काको समाधान खातिर मेरो यो स्वाभाविक आवेग मिस्सिएको स्पष्टोक्ति मात्र थियो। बिहे गरे पछि बिहे नै भो सँधैभरीलाई भनेर त विवाह र त्यसपछिको स्थायी अवस्था त कहाँ सबै स्पष्ट हुँदो होला त त्यो कलिलो उमेरमा !
आवेगलाई एकछिनमा शान्त परिस्थिती झैँ मत्थर हुने सोचेर कुनै समाधान नदेखी परिवारलाई केही शान्त त देख्न पाइएला कि भनेर पनि एक स्वाभाविक सतही रिसबाट आएको प्रतिक्रिया मात्र न थियो त्यो !
केही गरेपनि नहुने भए पछि समाधान खातिरको रिस थियो त्यो ! साँच्चैको रिस थिएन, केवल समाधान खातिर। तर, तर ल बिहे भने पछि ल बिहे भन्दैमा साँच्चै विवाहको गाम्भिर्यता र त्यस पछिको अर्को जीवनको आँकलन के थाहा र त्यो उमेरमा !
सधैँ विवाहकै जीवन आजीवन रहिरहन्छ, एक परिवारबाट बढेर दुई परिवार हुन्छ, अहिले आमासँग निस्फिक्री बसेर पढिरहेकी आफ्नै एक्लो सजिलो विद्यार्थी अवस्थाबाट धेरै नै अघि बढेर घर-व्यवहार थपिन्छ, जिम्मेवारी बढ्छ, बालबच्चाको जिम्मेवारी जोडिन्छन् आदि भनेर त्यो अवस्था सोच्ने उमेरै थिएन।
०७२ साल जेठ २९ गते दिदीको विवाह। ३१ मा मेरो तय भयो। आज २७। यही भिडन्त बिच “अरूसँग भन्दा उसैसँग बिहे गर्छु” भन्ने मेरो केही गर्दा पनि समाधान नआउने परिस्थितिलाई मत्थर पार्न आएको स्वाभाविक प्रतिक्रिया पछि यही २७ कै दिन यस रातबखत तीन दिन पछि ३१ गतेका लागि मेरो बिहेको पक्कापक्की छिनोफानो हुन पुग्यो !
विवाहको निस्कर्षमा अन्ततोगत्वा पुगेपछि चाँडै बिहे हुन लाग्यो भन्ने कम उमेरको मेरो अस्पष्ट अनुभूति नजरअन्दाज गरी हामी दुवैको परिवार बल्ल राजीखुसी भए भन्ने सोचेर आशमा सकारात्मकताको किरण मधुर अनुभूति – साह्रै मिठो प्रतीति भएको थियो त्यसबखत। तर, मेरो परिवार अझै पूर्णरूपेण सामान्यीकरण भै नहालेर खिन्न नै रहेको उहाँहरूको भावभङ्गीमाबाट बुझ्दै थिएँ…खै अब चैँ किन हो फेरि ! फर्किएर फेरि दुखी भएकी थिएँ !
समीरण :
“विवाहको निर्क्यौल र तिथिमिति तय पछि हाम्रो मायाँ समस्या झैँ उभिएको सबैलाई, विवाहमा समाधानको निस्कर्षमा टुङ्गिए पछि पनि पुरानै रिसको ताप नसेलाएरै सबै जर्याकजुरुक उठेर लाखापाखा लागेका थिए !
उनलाई रातको साढे नौ बजेको समयमा घर पुर्याइदिन कोही कसैलाई चासो-सरोकार देखिएन ! बाहेक एक जना ! उनकी भाउजू जो होटेलवाला मुरलीधर दाइकी श्रीमती हुनुहुन्छ। उहाँहरूको पनि प्रेम विवाह ! दीत्या कै बाले सम्पन्न गराइदिनु भएको।
प्रेमले सायद प्रेमलाई बुझ्दो रहेछ कसो ?! उहाँले बरू आडभरोसा दिनुभो जो रेतमा पानीको मुहान भेटिए झैँ परम् आनन्ददायी खुसीको तृप्ति थियो। “तपाईँहरू बुझ्नोस् ! हाम्री चेलीको उमेर खासै नभए पनि उनी बुद्धिमान् छिन्, उनले बुझ्छिन्।
अझ थपेर तपाईँ त उनी भन्दा केही उमेर भएकै मान्छे हुनुहुन्छ, एक अर्कामा मायाँ पक्का हो भने अघि बढ्नुस् केही हुन्न सब राम्रो हुन्छ ! तर जिम्मेवारी अनि थामेका हात एक अर्काले एक अर्काको आजीवनका लागि, व्यवहार मै जीवन पर्यन्त पक्का वहन गर्ने दृढनिश्चितता आफूमा हुनु पर्याे नि !”, उहाँले टिठ लाग्दो त्यस माहौलमा आशालाग्दो कत्ति मासुम खुसीबहारको एक सुवर्णदीपक जगाईदिनुभएको थियो। अरू बाँकी सबैबाट त उनलाई एक्ल्याइएको थियो।
अहिले आएर मलाई स्विकार भए पनि पुरै नरुचाइसकिएको यसै पनि म ! सायद मेरो कारणले पनि उनी विचरी परिवारबाटै एक्ल्याईइन पुग्दा मनमा टिठसँगै म चकित भएको थिएँ !
उनी पनि त्यसपछि जुरुक्क उठिन् र मतिर हेर्दै कस्सिएर भनिन्; “म पनि जान्छु तपाईँसँग ! र, र आएर हात समातिन्, म मनैमन भक्कानिएँ अनि मैले नि उनको पन्जामा मेरो पन्जा कसेँ दरैसँग। यसरी कसेँ, त्यो कसाई सधैँलाई थियो !
त्यसपछि उनको र मेरो कस्सिएकै पन्जा समातेर कोठाबाट बाहिर हान्निएँ, उनी मेरो पछिपछि बेग बढाउँदै। सुरेन् हामी भन्दा पछिपछि ! लिस्नुबाट गुटुङटुङ ओर्लेर बाहिर बाइक पार्किङमा पुगेँ, बाइकमा बसी बाइक स्टार्ट गरेँ, उनलाई बसाएँ र केही नबोली बाइक हुइँक्याएँ।
पछिपछि आएको सुरेन् मेरो ‘मुभ’लाई सुरुदेखि अनवरत आँकलन गर्दै आफ्नो बाइकमा हामी पछिपछि हुइँकिँदै आयो। अनामनगरमा आइपुग्दा एक चियापसल खुल्लै रहेछ। त्यहाँ बसेर हामी तीन चिया पियौँ।
आक्रान्त माहौलबाट निस्किएर यहाँ सम्म आईपुग्दा मन केही शान्त हुने प्रयासमा पुगिसकेकाले मन्दमन्द राहत महसुस केही बढ्दै जाने क्रममै थियो। शीतल बतास चलिरहेको थियो ! अनुहारमा ठोक्कियो ! यो बतासमा अघिको तनाव भुलेर रोमाञ्चक हुन पुगेको थिएँ ! शीतल बतास सायद रोमाञ्चको अवतार हो !
मैले उनलाई उनकामा छाड्दिएँ, गेटबाट भित्र पस्दा एक झलक फर्किएर उनी मुस्कुराइन् र पिरिमको स्वतस्फूर्त जवाफमा – म पनि स्वत: मुस्कुराउन पुगेको थिएँ। स्वत: घटित ! स्वस्फूर्त ! स्वतस्फूर्त ! प्रेम सायद स्वत: घटित स्वच्छन्दता हो !
पछाडि सुरेने ऊ जमानाको आशिकी फिल्मको राहुल रोयको जिग्री साथी साइड हीरो दीपक तिजोरी झैँ लाग्यो ! ऊ हामी दुवैलाई जिस्क्याउने भावभङ्गीमा मस्किँदै रहेछ … मलाई आशिकी फिल्मको गीत याद आयो;
‘मैं दुनिया भुला दूंगा तेरी चाहत में
ओ दुश्मन ज़माना मुझे ना भूलाना
मैं खुद को मिटा दूंगा तेरी चाहत में..’
म गीत गुन्गुनाउँदै बाइकमा अघि बढेँ…
सुरेने मेरो पछिपछि…
सुरिन् :
“केटो हौसेर होटलबाट भाउजूलाई पुरा पुरानो हिन्दी फिल्म पारामा हात समातेर सुर्रिँदै केही नबोली भर्याङबाट गुटुङटुङ झरेर तल ऊ पर सिधै पार्किङमा ! आफू मोटो मान्छे डल्लो, पछिपछि दौडिँदै दुईटालाई भेट्नलाई भ्याईनभ्याई !
फेरि केटो त पुरा रोमान्टिक नि ! बाइकमा भएको टालोले पुरा बाइकको पछाडि सीट मात्र पुछिरा’ ! म हेरिरा’छु… आफ्नो सीट नपुछी अगाडि स्पिडोमिटर र भाइजरको चेपमा टालो ठुस्यो अनि झ्वाम्म धुलैधुलो भाको आफ्नो सीटमा बसेर बाइक निकालेर भाउजूलाई “बस !” रे !
रन्थनिएको सुरमा प्रेमको सुर्तामात्र भएछ केटोलाई ! (हा…हा…हा…) म बाइक निकालेर चढुन्जेल मलाई कुर्छ होला भन्या त, झोँक्केको सुरमा मलाई नि बिर्सेछ केटोले ! हुर्रि त गो ! म हेरेको हेरै…ऊ हाँकेको हाँकै.. कहाँ हात्तीगौँडा चोक पुगे पछि सम्झेछ क्यारे, कुरिरा’रछ ! म पुगे पछि हाँस्छ अनि ! (हा…हा…हा…)
समीरण :
“त्यो पल सम्झिँदै भिडियोकलिङ्ग हुँदा सुरिने हाँस्दै मलाई बेला बेला बिल्ला हानिरहन्छ। सुरेन् लाई म सुरिन् पनि भन्छु र सुरेन् पनि ! ऊ र म ‘डुओ’ ब्यान्ड झैँ थियौँ। उसको र मेरो जिग्रीको विशाल परिधिलाई सङ्गीतको विराटताले झन् विस्तीर्ण तुल्याएको थियो। हाम्रो जिग्री दोस्ती साङ्गीतिक थियो।
दोस्ती नै साङ्गीतिक। बडा साङ्गीतिक ! खुब मिस गर्छु; “ ‘अ फ्रेन्डशीप सो म्युजिकल ! अ म्युजिकल फ्रेन्डशिप’, ‘ही युस्ड टु से द्याट’ !” दुईटै भोकल्स, दुईटै गीटार, कहिलेकाहीँ ऊ काहोनमा पनि साङ्गीतिक धड्कन्थ्यो। बिहे गरेर यतै राम्रो कमाईधमाई हुँदै थियो दुवै बुढाबुढीको, अब त विदेश उडिगो केटो ! भाउजूले त्यहाँ राम्रो अवसर पाएकी थिन्, उसले पनि।
दीत्या :
“चर्काचर्की वादविवाद र प्रतिवाद भई विवाहको निर्क्यौलमा गएको त्यस २७ गतेको रात देखि विवाह भएको ३१ गते सम्म आमादाइहरूसँग बोलचालै भएन ! रिसाएका उहाँहरूका मन ठुस्स – म केन्द्रित, त्यै भएर रिस मत्थर भएकै थिएन झैँ लाग्छ विवाहको दिन सम्म पनि उहाँहरूको मप्रति, फर्केर हेर्दा आज पनि।
नराम्रो लागेको थियो आफ्नै अभिभावकले विवाहलाई यस्तो हतारिएको देखेर ! २७ देखि ३१ न कलेज गएँ, न घरमा खासै कोहीसँग बोलेँ, न मिल्ने कोही साथीलाई सामान्य जानकारी मात्र दिने क्रममा खासै धेरै बोल्न चाहेँ। “तैँले धेरै नभने पनि हामी त आफैँ आउँछौँ !” भनेर उनीहरू विवाहमा खुरुखुरु आएको देख्दा मन खुसीमा बाख्राका मोदित पाठा झैँ नाचेका थिए।
विवाहको केही हप्ता पछि विस्तारै आमाको म प्रतिको गुनासो मत्थर भएर गए पछि उहाँको ठुस्स मन क्रमश: पुरै खुलेको थियो। भीषण पानी परेपछिको आकाश खुले झैँ ! विवाह अघिसम्म आमा र दाइले अनि विशेष आमाले स्विकार्दै नस्वीकारेको हामी दुई बिच लभको नाममा त्यस्तो नराम्रो केही पनि नभएको भन्ने स्पष्टोक्ति विवाह पछिका केही हप्ता पछि बल्ल बुझ्न लाग्नुभएको थियो !
मैले विशेष अनि समीरणले पनि विवाह अघि बिन्तीभाउमा बुझाउन चाहेको यही कुरा म आजसम्म पनि कहिलेकाहीँ दोहोर्याउने गर्छु जो सुनेर आमा र दाइ स्विकारोक्तिमा हाँस्ने गर्नुहुन्छ; “लभ भनेर त्यस्तो बदमासी नि केही पनि थिएन हाम्रो बीच। लभ पर्यो भन्ने वित्तिकै बिहे गर्दिहालेर पठाई हाल्दिन हतारिन पनि जरुरी नहोला नि !
लभ नै हुँदा पनि त्यही सम्बन्धलाई विवाहमा अघि बढाउन हतारिनै पर्ने पनि त नहोला कि ?! अनि हरेक लभमा बदमासी पनि त नहोला ! विस्तारै समय अनुकुल मिलाएर, छोरीलाई यही सम्बन्धैमा मनोवैज्ञानिक रूपमा घर व्यवहार बुझ्नको परिपक्वता विकसित हुन दिएर विस्तारै विवाह गर्दिँदा पनि त हुन्थ्यो होला कि ?!”, यो मेरो विवशता !
तर, तर विचरी आमा ! आमा र दाइ, अझ मुख्य अभिभावक आमालाई आफ्नो कुरा भनिसकेर फेरि आमाको स्थानमा आफूलाई राखेर हेर्न पुग्छु; उहाँको अर्को विवशता पक्कै पनि ! श्रीमान् छाडेर हिँडिजानुभो-यो वियोगी कष्टको कहालीमा हायलकायल आमा पनि सोच्दी हुन्; “छोरीको पनि जीवन बिग्रेला, भविष्य अन्धकार होला, अल्लारे होली अनि आफ्नो भन्दा झन् डरलाग्दो कष्टको गर्तमा पर्ली…” आमाको सन्तान प्रति सुर्ताको यो अर्को विवशता ! अनेक विवशताका आयाम जोडिन आईपुग्ने सायद सिङ्गो जीवन नै एक विवशता ! सिङ्गो जीवन नै टुक्रा टुक्रा विवशता जोडिएर सिङ्गै एक विवशता ! सिङ्गो मानवजीवन नै सायद एक सिङ्गो विवशता !
उपसंहार :
समीरण :
“माइजूको पसल केवल चिया खाने ‘जक्सन’ मात्र थिएन रहेछ,
त्यहाँ त मेरी ‘डेस्टिनी’ले मलाई तानेर त्यहाँ पुर्याएकी रहिछन्,
त्यहाँ त मेरी ‘फेट’ कुरिरहेकी रहिछन्,
मायाँको ‘डेस्टिनी’ मेरी उनी भएर ! मेरी ‘डेस्टिनी’ : मेरी ‘लङ स्टोरी’ भएर।
मेरी ‘लङ डेस्टिनी’, मेरी ‘लङ स्टोरी’ … उनको पहिलो ‘शान्ति दर्शन’ बानेश्वरको ‘अरोमा क्याफे’मा मेरो ‘स्पन्टेनीयस’ सङ्कल्प पलपल सम्झना आइरहन्छ; “मेरी ‘लङ स्टोरी’ अब म तिमीसँग ‘लङ’ जीवन बिताउनेछु…”
दीत्या :
“तपाईँ को हो भन्नु न ?!” भन्दा ‘लङ स्टोरी’ छ भनौँला नि पछि कुनै दिन भन्नु हुन्थ्यो। त्यहाँबाट सधैँलाई म उहाँकी ‘लङ स्टोरी’ नै भएँ, मायाँको एक मात्र म उहाँकी ‘लङ स्टोरी’, उहाँकी अनन्तकी सहयात्री – ‘लङस्टोरी’ !
म उहाँकी ‘लङ स्टोरी’ अनि,
अनि उहाँ मेरा बुडु।
hrisheekeshdhakal@gmail.com
सामाग्री श्रोत :